४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २२औँ कलेजो प्रत्यारोपण सफल भएको छ । दुई साताअघि भक्तपुरका ५४ वर्षीय एक पुरुषमा उनकै २२ वर्षीय छोराबाट कलेजो प्रत्यारोपण गरिएको थियो ।
प्रत्यारोपणपछि स्वास्थ्यमा सुधार आएपछि ती बिरामी शनिबार डिस्चार्ज भएका छन् ।
अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो ।
बाबुलाई छोराले कलेजो दान दिएका हुन् । कलेजो दिएका छोरालाई एक साताअघि नै डिस्चार्ज गरिएको छ ।
‘त्रिवि शिक्षण अस्पतालमा २२औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेका छौँ। दुई हप्तापछि बिरामीलाई डिस्चार्ज गर्न सफल भएका छौँ,’ भण्डारीले भने ।
उनका अनुसार टिचिङ हस्पिटलमा हाल विदेशी चिकित्सकको सहयोगबिनै कलेजो प्रत्यारोपण हुँदै आएको छ । सुरुका ९ प्रत्यारोपणमा विदेशी चिकित्सकको सहयोग लिइए पनि दशौँ प्रत्यारोपणदेखि अस्पतालकै टोलीले पूर्ण रूपमा आत्मनिर्भर भएर प्रत्यारोपण गर्दै आएको हो ।
सन् २०२४ जनवरी १२ मा नेपालमै पहिलो पटक पूर्ण आत्मनिर्भर रूपमा कलेजो प्रत्यारोपण गरिएको थियो ।
त्यसयता टिचिङ हस्पिटलको टोलीले १३ वटा कलेजो प्रत्यारोपण पूर्ण रूपमा आफ्नै क्षमतामा सफलतापूर्वक गरिसकेको छ ।
‘बीच–बीचमा प्रत्यारोपण भइरहेकै थियो, तर हामीले धेरै प्रचार गरेनौँ । अब जानकारी नदिँदा सेवा नै बन्द भयो कि भन्ने भ्रम पर्न सक्ने भएकाले जानकारी गराएका हौँ,’ प्रा.डा. भण्डारीले भने ।
नेपालमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको १० वर्ष पूरा भइसकेको छ ।
हाल त्रिवि शिक्षण अस्पतालको टोली देशमै स्वतन्त्र रूपमा जीवित दाताबाट कलेजो प्रत्यारोपण कार्यक्रम सञ्चालन गरिरहेको एक मात्र टोली भएको अस्पतालको दाबी छ । प्रा.डा. भण्डारीले दिगो कलेजो प्रत्यारोपण कार्यक्रमको लक्ष्यतर्फ टोली निरन्तर अगाडि बढिरहेको बताए ।
प्रतिक्रिया 4