News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं–४ छाडेर सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्।
- सर्लाही–४ मा कांग्रेस सभापति थापा र स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह आमने–सामने हुने भएका छन्।
- डा. सिंहले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए र गत निर्वाचनमा निर्वाचित भएका थिए।
६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा लामो समयदेखि निर्वाचन लड्दै आएको क्षेत्र काठमाडौं–४ छाडेर मधेश झरेका छन् । उनी आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको प्रतिष्पर्धाका लागि काठमाडौं–४ छाडेर मधेश प्रदेशमा पर्ने सर्लाही–४ झरेका हुन् ।
यहाँ कांग्रेस सभापति थापा कांग्रेसकै पुराना अनुभवी नेता डा. अमरेशकुमार सिंहसँग आमने–सामने हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेता सिंहले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनी सोमबारमात्रै गत निर्वाचनमा उदाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका थिए । सर्लाही–४ बाट नेकपा एमालेले रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीले डा. रगनिस राय यादवलाई उम्मेदवार बनाएको छ ।
गत निर्वाचनमा पनि कांग्रेसका तत्कालीन महामन्त्री थापा सर्लाही–४ जाने चर्चा व्यापक चलेको थियो । कांग्रेसबाट टिकट नपाएपछि नेता सिंहले आफूलाई थापाले नै टिकट नदिएको आरोप लगाएका थिए ।
कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका सिंह २० हजार १७ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए । उनलाई तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सघाएका थियो ।
निर्वाचनमा सर्लाही–४ का अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव १४ हजार ६२२ मत पाएर तेस्रो भएकी थिइन् । चौथो भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका राजेशकुमार मिश्र ५ हजार ८१३ पाएका थिए ।
नेता सिंह प्रवेश गरेको पार्टी रास्वपाका उम्मेदवार धिरज ठाकुर ३१८ पाएर नवौं स्थानमा आएका थिए ।
प्रतिक्रिया 4