+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares
विचार :

झापा-५ मा लुकेको रहस्य

समग्र युद्ध जित्न हरेक इकाइमा हुने असंख्य लडाइँहरू जित्नुपर्ने हुन्छ । झापाको क्षेत्र नं. ५ भित्र चारवटा पालिका र २९ वडा समेटिएका छन् । भित्री गाउँसम्म विस्तारित ६१ वटा मतदान स्थल छन् । यी हरेक इकाइमा जसले जित्दै आउनेछ, उसैले फागुन २१ को चुनावमा बाजी मार्नेछ ।

अरुण बराल अरुण बराल
२०८२ माघ १२ गते १३:५०

झापा क्षेत्र नम्बर–५ को ‘राजनीतिक–युद्ध’बारे विश्लेषण गर्नुअघि ‘द आर्ट अफ वार’का लेखक ‘सन त्जु’का तीनवटा उद्धरण पढौं–

पहिलो– ‘विजयी योद्धाहरू पहिले जित्छन् र त्यसपछि युद्धमा जान्छन्, जबकि पराजित योद्धाहरू पहिले युद्धमा जान्छन् र त्यसपछि जित्न खोज्छन् ।’

दोस्रो– ‘शुरुमा हतार गर्नु, तर पछि शत्रुको संख्या देखेर डराउनु, बुद्धिको चरम अभाव हो ।’

र, तेस्रो– ‘यदि तपाईंले न त शत्रुलाई चिन्नुहुन्छ न आफैंलाई, तपाईं हरेक युद्धमा हार खानुहुनेछ ।’

झापा क्षेत्र नम्बर–५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता एवं ‘भावी प्रधानमन्त्री’ बालेन्द्र शाह बीच घमासान ‘राजनीतिक युद्ध’ हुँदैछ । यतिबेला चिनियाँ नेता माओको भनाइ सान्दर्भिक हुन पुगेको छ– राजनीति भनेको रक्तपातविहीन युद्ध हो… ।

आगामी फागुन २१ मा हुने चुनाव बालेन्द्र शाहले जित्लान् कि केपी शर्मा ओलीले ? यस आलेखमा चुनावको सम्भावित नतिजाबारे भविष्यवाणाी गर्ने जोखिम मोलिएको छैन । यस्तो भविष्यवाणी गर्ने जिम्मा ज्योतिषहरूको हो । वा, सर्वेक्षकहरूले अनुमान लगाउने विषय हो । अथवा, झापाको परिस्थितिबारे अनुमान लगाउन अझै केही समय पर्खनुपर्ने हुन्छ । अहिलेकै स्थिति हेरेर अनुमान लगाउनु हतारो हुनेछ ।

यस आलेखमा चाहिं झापा–५ का केही तथ्यहरू प्रस्तुत गर्ने प्रयास गरिएको छ । साथमा यस क्षेत्रका केही राजनीतिक–सामाजिक विशेषता र अलिकति ‘स्थानीय भाष्य’को चर्चा गर्ने प्रयास गरिएको छ । सँगसँगै केही अतीतमुखी डाटा पनि जोड्ने प्रयास गरिएको छ । यी तथ्यहरूका आधारमा बाँकी विश्लेषण वा अनुमान गर्ने जिम्मा पाठक वा त्यहींका मतदाताहरूको हो ।

विषयवस्तुमा प्रवेश गर्नुअघि दुईवटा प्रारम्भिक प्रश्नमाथि चर्चा गरौं ।

एक– बालेन्द्र शाह एकाएक काठमाडौं छाडेर झापामा केपी ओलीसँग चुनाव लड्न किन गए ? यो ओली विरुद्धको आवेश वा आक्रोश मात्रै हो या पूर्व सम्भाव्यता अध्ययन गरेर जित्न सकिने अनुमानका साथ बालेन झापा झरेका हुन् ? काठमाडौंमा २०७९ सालमा जस्तै झापामा पनि आश्चर्यजनक नतिजा निकाल्न सकिन्छ भन्ने निचोडका साथ बालेन्द्रले यो जोखिम मोलेका हुन् ? यो एउटा रहस्यमय प्रश्नका रूपमा रहेको छ । म किन झापा आएँ र यस निर्वाचन क्षेत्रबाट के–के काम गर्नेछु भनेर बालेन्द्रले मतदातालाई भनिसकेका छैनन् । शायद उनले यसबारे पक्कै स्पष्ट पार्लान् । आफ्ना चुनावी एजेण्डाहरू पनि पक्कै सार्वजनिक गर्लान् ।

दुई– जेनजी आन्दोलनपछि सत्ताबाट बलपूर्वक बाहिरिएका पूर्वप्रधानमन्त्री ओलीमाथि भदौ २३ मा युवा–विद्यार्थीमाथि दमन गरेको आरोप लागेको छ । यससँगै देशैभरि ओलीको लोकप्रियता खस्किएको विश्लेषण हुँदै आएको छ । यससँगै २०७९ मा लोकप्रिय मत पाएर चुनाव जितेका ओलीको लोकप्रियता झापा–५ मा पनि अन्यत्र जस्तै खस्किएको छ कि कायमै छ ? के ओलीले यसपालि पनि आफूलाई जनताको बीचमा प्रमाणित गरेर देखाउन सक्छन् ? यो रोचक प्रश्नको जवाफ फागुन २१ को चुनावले नै दिनेछ ।

निश्चय नै झापा क्षेत्र नम्बर ५ को भूगोल बालेन्द्र शाहका लागि नौलो हुन सक्छ । ओलीका लागि भने यो चिरपरिचित भूगोल हो । तर, गत मंसिरदेखि झापा–५ बारे अध्ययन शुरु गरेका बालेन्द्रले यहाँका सबै मतदाताको डाटा संकलन गरिसकेको र सामाजिक सञ्जाल मार्फत ‘इन्फ्लुएन्स’ गर्ने योजना बनाएको बुझिएको छ । विदेशमा भएका युवालाई घर–घरमा फोन गराएर घण्टीमा भोट हाल्न लगाउने रास्वपाको योजना रहेको पनि बुझिएको छ । रास्वपाको यो अभियान झापाको भूगोल बुझेका एमाले नेताहरूका लागि चुनौती बन्न पनि सक्छ ।

अब, झापा ५ को अवस्थाबारे केही तथ्यको चर्चा गरौं ।

गणनायोग्य मत करिब १ लाख हुनसक्ने

निर्वाचन आयोगमा २०८२ पुस १२ सम्म अपडेट भएको तथ्यांक अनुसार झापा क्षेत्र नम्बर ५ मा १ लाख ६३ हजार ३७७ मतदाता छन् । गत चुनावमा भन्दा अहिले यस क्षेत्रमा ९ हजार नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २० गतेसम्म १८ वर्ष पुगेकाहरूले भोलिपल्ट मतदान गर्न पाउने भएकाले यो संख्यामा एकाध सय मतदाता थपिने सम्भावना पनि जीवितै छ ।

कुल १ लाख ६३ हजार मतदाता रहेको यस क्षेत्रमा गत चुनावमा ६४ प्रतिशत मत खसेको आधारलाई हेर्दा यसपालि ६५ प्रतिशत मत खस्न सक्ने अनुमान गरौं । त्यसो भयो भने यस निर्वाचन क्षेत्रमा करिब १ लाख १४ हजार मत खस्न सक्छ ।

गत चुनावमा खसेको ६४ प्रतिशत मत मध्येबाट ५ हजार ११७ अर्थात् ५.१७ प्रतिशत मत बदर भएको थियो । त्यही आधारमा यसपालि पनि ५ प्रतिशत मत बदर भयो भने खसेको सवा लाख मतमध्ये करिब १ लाख ६ हजार मत गणनायोग्य हुनेछ । तर, मत ६५ प्रतिशतभन्दा कम वा बढी खस्यो भने यो तथ्यांकमा केही फेरबदल आउन सक्छ ।

पालिकाका आधारमा मत विश्लेषण

यस निर्वाचन क्षेत्रमा चारवटा पालिका समेटिएका छन् । ती हुन्– दमक र गौरादह नगरपालिका अनि कमल र गौरीगञ्ज गाउँपालिका ।

दमक नगरपालिकाका १० वटै वडाहरू यसै क्षेत्रमा पर्छन् । त्यस्तै, कमल गाउँपालिकाका सातवटै वडाहरू यस क्षेत्रमा समेटिएका छन् । गौरीगञ्जका चारवटा वडा (वडा नं. १, २, ३ र ४) मात्रै यस क्षेत्रमा पर्दछन् । त्यस्तै, गौरादह नगरपालिकाको वडा नम्बर ९ बाहेक बाँकी ८ वटा वडाहरू झापा क्षेत्र नम्बर ५ मा समेटिएका छन् ।

पुस १२ सम्म अपडेट भएको तथ्यांक अनुसार दमक नगरपालिकामा ६५ हजार ९९७ मतदाता छन् । यसमध्ये ६५ प्रतिशत मत खस्यो भने दमकबाट ४२ हजार मत झर्न सक्छ । यसमा बदर मत (५ प्रतिशत) कटाउँदा ४० हजार मत गणनायोग्य हुन सक्छ ।

गौरादह नगरपालिकाका ८ वटा वडाको मतसंख्या ४१ हजार ४७५ रहेको छ । यहाँ पनि ६५ प्रतिशत मत खस्यो भने बाक्सामा २६ हजार ९५८ मतदान हुन सक्छ । यसबाट बदर मत (५ प्रतिशत) घटाउँदा लगभग २५ हजार मत गौरादहबाट गणनायोग्य हुनसक्ने देखिन्छ ।

त्यस्तै, ४० हजार ७८६ मतदाता रहेको कमल गाउँपालिकाबाट पनि करिब २५ हजार सदरमत गणनायोग्य हुनसक्ने देखिन्छ ।

दक्षिणी भेगमा रहेको गौरीगञ्ज गाउँपालिकाका चारवटा वडाको मतदाता संख्या १५ हजार ११९ छ । यसमध्ये ६५ प्रतिशत मत खस्दा करिब ९ हजार ८०० मत बाक्सामा पर्न सक्छ । त्यसबाट बदर मत घटाउने हो भने करिब ९ हजार मत गौरीगञ्जबाट गणनायोग्य हुनसक्ने देखिन्छ ।

यसरी चारवटा पालिकाबाट खस्न सक्ने सदर मतको संख्या (दमक– ४० हजार, गौरादह २५ हजार, कमल २५ हजार र गौरीगञ्ज ९ हजार) ९९ हजार हाराहारी हुनसक्ने देखिन्छ । यसमा अलिकति तल–माथि हुँदा यसो भन्न सकिन्छ– झापा क्षेत्र नम्बर ५ मा कुल सदर मत १ लाख हुन सक्छ । र, यही १ लाखबाट जसले बढी मत पाउँछ, उसैले चुनाव जित्छ ।

हेर्नुहोस् ४ स्थानीय तहको मतदाता संख्या

सम्भावित एक लाख सदर मतमध्ये कसैले एक्लै ५० हजार कटायो भने सबै उम्मेदवार एकैतिर उभिंदा पनि कसैको केही लाग्ने छैन ।

यदि कुनै पनि एक जना उम्मेदवारको मत ५० हजार कटेन भने जसको बढी मत हुन्छ, उही विजयी हुनेछ । त्यो अवस्थामा कांग्रेस, एमाले, रास्वपा, माओवादी, राप्रपा वा श्रमशक्ति पार्टी वा अरू कसैको उम्मेदवारले ३०/४० हजार मत ल्याएर पनि विजयी बन्ने सम्भावना रहन्छ, यदि धेरै जना उम्मेदवारमा मत बाँडियो भने ।

हुनत हरेक निर्वाचनमा पहिलेको चुनावको डाटाको खासै अर्थ रहँदैन । जस्तै– २०७९ को स्थानीय चुनावमा काठमाडौं महानगरको डाटामा कांग्रेस र एमालेको पोजिसन निकै राम्रो थियो । प्रतिस्पर्धा उनीहरूकै बीचमा हुनेछ भन्ने धेरैको अनुमान थियो । तर, बालेन्द्र शाहले डाटा र पूर्वानुमानलाई फेल खुवाइदिएका थिए । त्यसैले पुरानो चुनावी डाटाका आधारमा दलहरूको वर्तमान शक्ति अनुमान गर्दा वस्तुसम्मत निचोड नआउन सक्छ ।

तथापि २०७९ को चुनावमा झापा क्षेत्र नम्बर ५ अन्तर्गतका स्थानीय तहमा कसको मत कस्तो थियो भन्ने चाहिं जानकारीका लागि मात्रै भए पनि यहाँ चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

दमक नगरपालिकामा २०७९ को स्थानीय निर्वाचनमा कांग्रेस–राप्रपा बीच भएको घोषित सहकार्य अनि माओवादीले गरेको अघोषित सहकार्यबाट मेयरमा विजयी राप्रपाका राम थापाले १७ हजार ५२५ मत पाएका थिए । कसैसँग सहकार्य नगरेकी एमालेकी गीता पौडेलले १६ हजार ९६६ मत पाएकी थिइन् । अर्थात्, गत स्थानीय चुनावमा दमकमा एमाले एक्लैको मत र अन्य दलको संयुक्त मत लगभग बराबर थियो ।

यहाँनेर, दमकको हकमा दुईवटा रोचक प्रश्न उब्जिएका छन् :

पहिलो– नेकपा एमाले एक्लैसँग विगतमा १६ हजार मत देखिएको दमकमा यसपटक केपी शर्मा ओलीले गीता पौडेलको भन्दा बढी मत पाउलान् या कम ?

दोस्रो– गत स्थानीय चुनावमा सबै दल एकातिर अनि एमाले एक्लै अर्कोतिर उभिंदा ५५९ मतले पछि परेको एमालेले यसपटक रास्वपा, कांग्रेस, माओवादी, राप्रपा र हर्क साम्पाङले समेत बेग्लाबेग्लै उम्मेदवार खडा गरेको स्थितिमा दमक नगरपालिकामा आफूलाई पहिलो स्थानमा राख्छ या दोस्रो ?

बालेन्द्र शाहले यदि झापा ५ बाट चुनाव जित्ने हो भने ४० हजार मत खस्ने अनुमान गरिएको दमकमा एमालेलाई दोस्रो स्थानमा सीमित गराउन सक्नुपर्ने देखिन्छ ।

गौरादह नगरपालिकाको कुरा गर्ने हो भने गत चुनावमा यहाँ एमालेले १२ हजार बढी मतका साथ नगरप्रमुख जितेको थियो । त्यहाँ कांग्रेसको भोट ११ हजार र राप्रपाको १५०० देखिन्छ । फागुन २१ को चुनावमा सांसद जित्न चाहने उम्मेदवारले यसपालि गौरादहबाट १२/१३ हजार मत ल्याएर अरूलाई उछिन्न जरूरी छ ।

कमल गाउँपालिकाको अवस्था पनि यही हो । ७ वटा वडाहरू रहेको यस पालिकामा गत चुनावमा जुन उम्मेदवारले १२/१३ हजार मत पाएर सबैलाई जित्न सक्छ, प्रतिनिधिसभामा उसैको जित सुनिश्चित हुनेछ ।

यस पालिकामा गत स्थानीय चुनावमा कांग्रेसका हुकुम सिंह राई १२ हजार ८६८ मतका साथ विजयी बनेका थिए । यहाँ एमालेको मत ९ हजार ६०५ थियो भने राप्रपाको ७८२ र अन्यको ८६ थियो । झापा क्षेत्र नम्बर ५ बाट सांसद जित्न चाहनेले कमल गाउँपालिकाबाट अन्य उम्मेदवारलाई उछिन्दै कम्तीमा १०/१२ हजार मत बटुल्नुपर्ने देखिन्छ । यहाँबाट त्यति मत आएन भने अन्य पालिकाबाट त्यसको भरण गर्नुपर्ने हुन्छ ।

गौरीगञ्जमा ५ हजार ६०० मतका साथ कांग्रेसले पालिका प्रमुख जितेको ठाउँ हो भने एमालेको ४ हजार ७०० र माओवादी–राप्रपाको ३३/३३ सय मत खसेको ठाउँ हो यो पालिका । अब बालेन्द्रले वा केपी ओलीले यो ठाउँबाट लिड गर्ने हो भने सबैलाई उछिनेर करिब ५/६ हजार बढी मत ल्याउनुपर्ने हुन्छ ।

वडागत आधारमा मत विश्लेषण

झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत कुल २९ वटा वडा छन् । फागुन २१ को चुनाव जित्नका लागि कुनै पनि उम्मेदवारले यी २९ वटै वडाबाट जित्दै आएमा समग्र जितलाई सजिलो हुनेछ । कुनै वडामा कम मत आयो भने त्यसलाई अर्को वडाबाट बढी मत ल्याएर ‘कभर’ गर्नुपर्ने हुन्छ ।

जस्तो– दमकका १० वटै वडामा मात्र राम्रो मत ल्याएर पुग्दैन, गौरादह र कमल गाउँपालिकाका १५ वटा वडाहरू पनि उत्तिकै महत्वपूर्ण छन् । गौरीगञ्जका चारवटा वडाबाट भने करिब ९ हजार मात्रै मत आउने भएकाले त्यो कम महत्वपूर्ण हुन सक्ला । तथापि, चुनावमा जितका लागि हरेक अंकले महत्व राख्छ ।

हेर्नुहोस् २९ वडाको मतदाता संख्या

स्थानीय निर्वाचन २०७९ को चर्चा गर्ने हो भने २९ वटा वडाहरूमध्ये नेकपा एमालेले एक्लै १८ वडाध्यक्ष जितेको थियो । यहाँ कांग्रेसले जितेका वडाहरूको संख्या ६ र माओवादीका २ वटा थिए । राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र (बागी) ले एक–एक स्थान जितेका थिए । पुरानो यो मत परिणाम हेर्दा २९ वडाहरूमध्ये एमाले र अन्य दलको जित १८/११ देखिन्छ ।

तर, यहाँनेर विचार गर्नुपर्ने कुरा के छ भने अहिलेको चुनावी प्रतिस्पर्धा विगतको जस्तो ‘एमाले भर्सेस गठबन्धन’ होइन । अहिले एमाले मात्रै एक्लै लडिरहेको छैन; कांग्रेस, रास्वपा, राप्रपा र माओवादी लगायत दलहरू पनि एक्लाएक्लै मैदानमा उत्रिएका छन् । पुराना दलको असन्तुष्ट मतलाई रास्वपामा जानबाट रोक्ने गरी हर्क सम्पाङको श्रम संस्कृति पार्टीले पनि उम्मेदवारी दिएको छ र उसले पनि केही मत बालेन्द्र शाहतिर जानबाट रोक्ने सम्भावना देखिन्छ ।

नेकपा एमालेको संगठन ६१ वटै मतदानस्थलका भित्री गाउँसम्म फैलिएको छ । रास्वपाको संगठनको जरो त्यसरी भित्रैसम्म फैलिन सकेको छैन । तर, सामाजिक सञ्जालमा भने रास्वपाको प्रचार एमालेको भन्दा केही आक्रामक देखिन्छ ।

समानुपातिकमा कसको मत कति ?

गत २०७९ को आम निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट समानुपातिकतर्फ कुन दलले कति मत पाएका थिए ? अब त्यो डाटा हेरौं ।

गत चुनावमा यस क्षेत्रमा नेकपा एमालेले समानुपातिकतर्फ ३५ हजार ८७२ मत पाएको थियो । प्रत्यक्षतर्फ ओलीले ५२ हजार ३१९ मत पाउँदा समानुपातिकमा ३५ हजार मत परेको हो । यसको अर्थ, यो क्षेत्रमा एमालेको संगठित मत जति थियो, केपी ओलीले थपेको व्यक्तिगत प्रभावको मत त्योभन्दा १६/१७ हजार बढी थियो । अहिले एमाले पार्टीले पाउने मत भन्दा केपी ओलीले पाउने व्यक्तिगत मत बढी होला या कम ? फागुन २१ पछि नै यो पनि स्पष्ट हुनेछ ।

गत चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रबाट १८ हजार २०५ मत पाएको थियो । यो मतमा बालेन्द्र शाहले लोकप्रिय मत थप्न सक्लान् या नसक्लान् ? यो पनि चुनाव पछि नै थाहा हुनेछ । बालेनले यो मतलाई दोब्बर बनाए भने उनी ३६ हजारको हाराहारीमा पुग्न सक्छन्, जुन मत ओलीसँग प्रतिस्पर्धी मत बन्न सक्छ ।

यस निर्वाचन क्षेत्रमा गत चुनावको समानुपातिक मतको आकलन गर्दा कांग्रेसको १६ हजार, माओवादीको ८ हजार र राप्रपाको ७ हजार देखिन्छ । जनमत पार्टीले १८०० र पहिचानवादी दलका रूपमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १४०० मत पाएको देखिन्छ । बाँकीले एक हजार मत कटाएको देखिंदैन ।

हेर्नुहोस् २०७९ मा झापा ५ मा दलहरूले पाएको समानुपातिक मतको सूची :

झापा ५ को चुनावी भाष्य

अब झापा क्षेत्र नम्बर ५ को केही चुनावी भाष्यबारे चर्चा गरौं ।

हामीले बुझ्नुपर्ने तथ्य के छ भने हरेक निर्वाचन क्षेत्रका आ–आफ्नै स्थानीय विशेषता र भाष्यहरू हुन्छन् । जस्तो– माओवादी युद्धको सौन्दर्यगाथा गाएर काठमाडौंमा निर्वाचन जित्न सकिंदैन तर, रुकुम– रोल्पामा यही नारा मजाले बिक्छ । पूर्वी नेपालमा पहिचानको विपक्षमा बोलेर चुनाव जितिंदैन । मधेशमा पहाडको बखान गरेर चुनाव जितिंदैन । काठमाडौंको नारा मधेशमा बिक्दैन र मधेशको नारा पनि काठमाडौंमा बिक्दैन । यही नियम झापा क्षेत्र नम्बर ५ को हकमा पनि लागू हुन्छ । झापा क्षेत्र नम्बर ५ को आफ्नै मौलिक विशेषता छ । यो मौलिकता काठमाडौंको भन्दा फरक छ ।

बालेन्द्र शाहले झापा–५ मा काठमाडौंकै तरिकाले चुनाव लड्न खोजेको जस्तो देखिन्छ । कालो चश्मा लगाएर हिंड्ने । पत्रकारहरूलाई बाल नदिने । मौनता साध्ने । सबै मतदाताको फोन नम्बर र सामाजिक सञ्जाल ट्रयाक गरेर त्यस मार्फत प्रभाव पार्ने, विदेशमा भएका युवाको डाटा लिएर हरेक घरमा फोन गर्न लगाउँदै घण्टीमा मतदान गर्न आग्रह गर्ने, सामाजिक सञ्जालमा भाइरल बन्ने र फेक आईडीहरूको समेत प्रयोग गरेर प्रोपोगान्डा फैलाउने । यिनै विधिहरू प्रयोग गरेर बालेन्द्रले चुनाव जित्ने रणनीति बनाएको देखिन्छ ।

केपी ओली बूढो भइसकेको, झापामा धेरै पटक चुनाव लडेको, भदौ २३ मा जेनजी आन्दोलनमा उत्रेका बच्चाहरूको हत्या गर्ने हत्यारा रहेको र सरकारमा बसेर जनताको पक्षमा कुनै काम गर्न नसकेको जस्ता आरोपहरू बालेन्द्र पक्षबाट केपी ओली विरुद्ध लगाएको पाइन्छ । स्थानीय मानिसहरूसँग संवाद बढाउने भन्दा पनि मौन बसेरै झापामा चुनाव जितिन्छ भन्ने बालेन्द्रलाई लागेको हो कि जस्तो देखिन्छ ।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्रलाई शुरुमा चुनौतीका रूपमा नलिएर पनि विस्तारै चुनौती महसुस गर्न थालेको, बाहिरबाट झापामा आएको पाहुना जस्तै भएको, झापाबारे केही नबुझेको, सिंहदरबार जलाउने ध्वंसात्मक व्यक्ति भएको, विदेशी शक्तिबाट परिचालित रहेको र देशकै लागि घातक व्यक्ति भएको भन्ने जस्ता आरोपहरू लगाएको पाइन्छ । भित्रभित्रै चुनौती महसुस गरे पनि बाहिर चाहिं बालेनले आफूलाई चुनौती दिनै नसक्ने भाष्य बनाउने प्रयासमा ओली देखिन्छन् ।

झापा ५ मा दुई विपरीत भाष्यको द्वन्द्व छ । एकातिर ओलीलाई ‘हत्यारा’ देखाउने प्रयासमा रास्वपा छ भने अर्कोतिर बालेन्द्रलाई ‘सिंहदरबार जलाउने लुसिफर’का रूपमा चित्रित गर्ने एमाले नेता–कार्यकर्ताको प्रयास देखिन्छ । यी दुईमध्ये कुन भाष्यले जित्छ, झापामा त्यसैले बाजी मार्न सक्छ ।

झापामा ‘मधेशवाद’ खासै बिक्दैन । ‘पहिचान’को नारा बिक्न त बिक्छ तर भोटमा खासै रूपान्तरण हुँदैन । अधिकांश आदिवासी जनजातिहरू कांग्रेस, एमाले र माओवादीलाई नै भोट हाल्ने खालका छन् । पहिचानको विरोध कसैले गर्न सक्दैन तर पहिचानको पक्षमा वकालत गर्दा भोट बढ्दैन, बरु घट्छ भन्ने ठानिन्छ ।

काठमाडौंमा कम्युनिष्टलाई ‘हत्यारा’ भन्दै गाली गरेजस्तो झापामा कम्युनिस्टको विरोध गरेर पनि भोट बढ्दैन । ‘धर्मनाथ ढकाल’ चर्चा हुँदाहुँदै पनि ओलीले जित्दै आएको ठाउँ हो । अनि ओलीले देश विकास गरेनन्, झापामा टावर बनाए भन्ने जस्ता नाराहरू पनि झापालीलाई खासै बिझाउँदैनन्, किनभने विगतमा ओलीले बजेटजति झापामा खन्याए भन्ने आरोप छ ।

कांग्रेस, एमाले र माओवादीप्रति जनताको असन्तुष्टि यथावतै छ । तर, उनीहरू सकिएका भने छैनन् । यो द्वन्द्वात्मक स्थितिमा पूर्वी नेपालबाट पुरानै दलहरूले टाउको उठाउँछन् या रास्वपाले जित निकाल्छ ? यो पनि अहिले नै ठोकुवा गरिहाल्न नसकिने विषय हो ।

झापामा क्षेत्री–बाहुनको बाहुल्य, राजावादीहरूको प्रभाव र धर्मभीरु समाजदेखि लिएर ‘कुमाई फ्याक्टर’ले समेत चुनावमा काम गर्ने गरेको चर्चा हुने गर्छ । बाहिरको कुरा गर्दा सहकारी ठगी र सिंहदरबार जलेको प्रति–भाष्य समेत झापालीहरूको दिमागमा यसअघि नै घुसिसकेको छ । रास्वपा आफैं पनि टुटफुट र विवादमा फसेको स्थिति छ । समानुपातिक उम्मेदवार छनोट प्रकरण, सन्तोष परियार र सुमनाको विद्रोह, कुलमान प्रकरण आदि यसका दृष्टान्त हुन् ।

झापाली जनता भारतीय र अमेरिकी हस्तक्षेप विरुद्ध कम्युनिष्टहरूले स्थापित गरेको राष्ट्रवादको भाष्यबाट पनि काठमाडौंवासी भन्दा बढी नै प्रभावित हुने गरेका छन् । शिक्षा र चेतनाको हिसाबले पनि यहाँका मतदाता निकै सचेत देखिन्छन् । तर, ओलीलाई पाउनुमा उनीहरूसँग क्षेत्रीय स्वार्थ गाँसिएको छ । विदेशीसँग टेक गर्न सक्ने राष्ट्रिय नेता हो भन्ने धेरै झापालीको दिमागमा छ ।

उता बालेन्द्र शाह बाहिरी जिल्लाको भएको र मतदातासँग संवाद नरुचाउने स्वभावको व्यक्ति भएको भन्ने बुझाइ झापालीहरूमा देखिएकै छ । र, यहाँनेर स्मरणीय के छ भने गत चुनावमा युवा लेखक युग पाठक ‘भाष्य बदल्ने’ उद्देश्य लिएर झापा ५ मा ओली विरुद्ध चुनाव लड्न गएका थिए तर पुतली चिह्न लिएका उनले ३५६ मतमा चित्त बुझाउनुपर्‍यो, ओलीले ५२ हजार ३१९ मत पाए ।

तर, सिक्काको अर्को पाटो पनि छ ।

अहिले केपी शर्मा ओली अलोकप्रिय एवं एक प्रकारले भन्ने हो भने बदनाम नै भएको अवस्था छ । सरकार चलाउन नसकेर भागेको आरोप छ । भदौ २३ मा कलिला बच्चाबच्चीमाथि गोली चलाएको आरोप छ । पार्टीभित्र पनि विद्या भण्डारी पक्षबाट असहयोग छ । उमेर पनि ढल्कँदो छ, जसले उनलाई विगतको भन्दा निकै कमजोर बनाएको छ । ओली हार्नै नसकिने पात्र पनि त होइनन्, २०६४ सालमा उनले माओवादीसँग हारेका थिए । २०७९ को स्थानीय चुनावमा उनकै गृहनगर दमकमा एमालेले मेयरमा राप्रपा–कांग्रेस गठबन्धनसँग पराजित हुनुपरेको थियो । उनकै चुनाव क्षेत्रभित्र पर्ने कमल गाउँपालिका र गौरीगञ्जका पालिका प्रमुखहरूमा एमाले हारेको थियो । यो स्थितिमा यसपटक ओलीले बालेन्द्र शाहसँग हार व्यहोर्नुपर्‍यो भने अचम्म नमाने हुन्छ भन्ने झापालीहरू पनि धेरै पाइएका छन् ।

पछिल्लो समय झापा, मोरङ लगायत पूर्वी नेपालका जिल्लाहरूमा रास्वपाले गतिविधि बढाएकै देखिन्छ । २०७९ को चुनावमा पनि रास्वपाले यी जिल्लाबाट समानुपातिकमा माओवादीको भन्दा बढी नै मत ल्याएको थियो । कोशीबाट कुनै सिट नजिते पनि सुनसरी–१ मा रास्वपा दोस्रो बनेको थियो । तर, अहिले रास्वपाको बढोत्तरी जितमा रूपान्तरित हुन्छ या त्यो तहसम्म पुग्दैन ? यसको जवाफ अहिले नै दिन सकिंदैन । किनभने, उसको बढ्दो प्रभावसँगै हर्क साम्पाङ, स्वागत नेपाल लगायतको विरोध र आलोचनाको सामना पनि रास्वपाले गर्नु परिरहेको छ । अर्कातिर, सहकारी ठगी र सिंहदरबार जलाएको जस्ता विषयमा रास्वपाले बारम्बार जवाफ दिनु परिरहेको छ ।

कांग्रेस, एमाले र माओवादीप्रति जनताको असन्तुष्टि यथावतै छ । तर, उनीहरू सकिएका भने छैनन् । यो द्वन्द्वात्मक स्थितिमा पूर्वी नेपालबाट पुरानै दलहरूले टाउको उठाउँछन् या रास्वपाले जित निकाल्छ ? यो पनि अहिले नै ठोकुवा गरिहाल्न नसकिने विषय हो ।

आज बल्ल माघ १२ गते हुँदैछ । फागुन २१ सम्म रतुवा खोलामा धेरै पानी बगिसकेको हुनेछ । फागुनको दोस्रो सातापछि बल्ल अनुमान लगाउन सकिने छ कि झापा क्षेत्र नम्बर ५ मा कसको पल्ला भारी हुँदैछ, बालेन्द्र शाहको या केपी शर्मा ओलीको ?

लेखक
अरुण बराल

वरिष्ठ पत्रकार बराल अनलाइनखबरका स्तम्भकार एवं पूर्व सम्पादक हुन् । उनी सन् २०१३ देखि २०२१ सम्म अनलाइनखबरको सम्पादक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?