News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गरेको छ।
- च्याम्पियनसिपमा गण्डकीले दोस्रो जित दर्ता गराएको छ भने आर्मीले लगातार दोस्रो हार बेहोरेको छ।
- माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् र शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।
१२ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो ।
निकै प्रतिस्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो । चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पार्यो ।
च्याम्पियनसिपमा गण्डकीले दोस्रो जित दर्ता गराएको छ । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एसोसियसनलाई पराजित गरेको थियो । आर्मीले भने लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई हराएको आर्मी दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
यसअघि आजै भएका खेलमा महिला र पुरुष दुवैतर्फ एपीएफले जित निकाल्यो । पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । महिलातर्फ एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।
च्याम्पियनसिपअन्तर्गत भोलि मंगलबार ४ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ आर्मी र थाइल्याण्ड क्वीन्सबिच बिहान साढे ८ बजेबाट सुरु हुनेछ । दोस्रो खेल महिलातर्फ नै न्यू डायमण्ड स्पोर्ट्स क्लब र पुलिसबिच हुनेछ ।
त्यसपछि पुरुषतर्फका २ खेल हुनेछ । पुरुषतर्फको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स भिड्नेछन् । पुरुषतर्फको दोस्रो खेल गण्डकी र पुलिसबिच हुने तालिका छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।
सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
प्रतिक्रिया 4