१५ माघ, पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै समग्र प्रदेशको भविष्य निर्भर रहेको बताएका छन् ।
मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाद्वारा आयोजित प्रदेशस्तरीय शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम उनले यस्तो बताएका हुन् ।
मन्त्री थापाले शिक्षा नै समृद्ध समाज निर्माणको मूल आधार भएको उल्लेख गरे । उनले गण्डकी प्रदेश सरकारले शिक्षालाई दीर्घकालीन सामाजिक रूपान्तरणको मुख्य आधारका रूपमा लिँदै गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामा निरन्तर प्राथमिकता दिँदै आएको बताएका छन् ।
मन्त्री थापाले शिक्षक र विद्यार्थीको प्रतिभा पहिचान, क्षमता विकास र प्रोत्साहन नगरी शिक्षा क्षेत्रमा अपेक्षित परिवर्तन सम्भव नहुने बताउँदै भने, ‘प्रतिभा पहिचान कार्यक्रमले शिक्षक र विद्यार्थीभित्र रहेको सिर्जनशीलता, नवप्रवर्तन र नेतृत्व क्षमतालाई उजागर गर्छ । यसले शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धी र जिम्मेवार नागरिक उत्पादनमा सहयोग पुर्याउँछ ।’
उनले शिक्षाको उज्यालो बाटोबाटै प्रदेश र राष्ट्रको भविष्य उज्यालो बनाउने प्रदेश सरकारको संकल्प अझ दृढ हुँदै गएको उल्लेख गरे । शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रमा क्रियाशील सबै सरोकारवालाको सक्रिय सहभागिताबिना शैक्षिक सुधार सम्भव नहुने बताउँदै मन्त्री थापाले सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।
मन्त्री थापाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेट व्यवस्थापनमार्फत गुणस्तर सुधारमा निरन्तर काम गरिरहेको जानकारी गराए ।
आगामी दिनमा प्रविधिमैत्री शिक्षा, सीपमूलक तथा व्यवहारिक शिक्षालाई जोड दिँदै स्थानीय आवश्यकता अनुसारका शैक्षिक कार्यक्रम सञ्चालन गरिने भनाइ उनको छ ।
प्रतिक्रिया 4