१६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेशको संस्थापक सभापति ममता शर्माले उम्मेदवार चयन गर्ने क्रममा नेतृत्वले आफूमाथि अन्याय गरेको बताएकी छन् ।
समानुपातिक तर्फको उम्मेदवार छनोट गर्ने क्रममा उनले तेस्रो स्थानको मत प्राप्त गरेकी थिइन् । काठमाडौंका पूर्व मेयर बालेन शाह पक्षको एकतापछि उनलाई मधेसी महिलातर्फ सातौ स्थानमा राखिएको थियो ।
प्रारम्भिक मतदानबाट आएको मतअनुसार सूचीमा नराखिएपछि समानुपातिक तर्फबाट नाम फिर्ता गर्ने निवेदन दिएको शर्माले जानकारी गराइन् ।
बारा–२ को स्थानीय रहेको हुँदा त्यसै क्षेत्रमा प्रत्यक्ष उठ्न चाहेको पार्टी नेतृत्वलाई जानकारी गराएको उनले बताइन् ।
‘समानुपातिक छोडेर प्रत्यक्षमा उठ्छु भन्दा सबै नेताहरु खुसी हुनुभयो । जनकपुरमा बालेन आएको बेला मधेसका सबै उम्मेदवारलाई टिकट दिएर पठाउने भन्नुभयो,’ शर्माले अनलाइनखबरसँग भनिन्,‘सभापतिले मनिषजीलाई जिम्मेवारी दिएको भन्नुभयो । मैले कुरिराखे । अर्को व्यक्तिलाई टिकट पहिले नै दिइएको रहेछ ।’
बारा–२ मा चन्दनकुमार सिंहलाई रास्वपाले उम्मेदवार बनाएको छ । उनी जसपा नेपालबाट रास्वपा आएका हुन् ।
बारा–२ बाट टिकट नपाउने भए मधेसका जुनसुकै क्षेत्रबाट पनि उम्मेदवार हुन तयार रहेपनि पार्टीले टिकट नदिएको गुनासो शर्माले गरिन् । अन्य दल भन्दा रास्वपा फरक भएको देखाउन उम्मेदवार चयनबाट पुष्टी गर्नुपर्नेमा मधेसमा केही नेताले मनलाग्दी गरेको शर्माले आरोप लगाइन् ।
उनी भन्छिन्,‘रास्वपाको उद्देश्यमा प्रश्न उठेको छ । ९० प्रतिशत भन्दा पुराना व्यक्तिलाई टिकट दिइएको छ । पुरानो व्यक्तिलाई नयाँ कपडा लगाइदिएर नयाँ हुने त होइन नि ।’
शर्मा हाल महिला विभागको केन्द्रीय सदस्य छिन् । केन्द्रीय राजनीतिमा आउनुपर्ने भन्दै नेताहरुले वचन दिँदै आए पनि व्यवहारमा लागू नभएको गुनासो उनले गरिन् । २०७९ सालमा आफ्नै प्रयासमा ३२ मध्ये २५ क्षेत्रमा उम्मेदवार उठाउन सफल भएको शर्माले अनलाइनखबरसँग बताइन् ।
‘म उम्मदेवार हुन उमेरले पुगेन । सबै क्षेत्रमा पुगेर रास्वपाको प्रचार गरें । उम्मेदवार उठायौं,’ शर्माले भनिन्,‘मधेसमा बाराबाट समानुपातिकमा रास्वपालाई सबैभन्दा बढी मत आयो । मनिष झा र लक्ष्मी तिवारी समानुपातिक सांसद बन्न पाउनुभयो ।’
प्रतिक्रिया 4