+
+
Shares

उद्योग वाणिज्य महासंघद्वारा ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन योजना’ प्रस्ताव

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन योजना’ अन्तर्गत उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई विशेष सुरक्षा क्षेत्र घोषणा गर्ने, औद्योगिक सुरक्षाका लागि छुट्टै संयन्त्र स्थापना गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा एकद्वार द्रुत सेवा दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १७ गते १६:४७

१७ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन योजना’ प्रस्ताव गरेको छ । जेनजी आन्दोलनपछि निजी उद्यम, व्यवसाय र आवासको सुरक्षाको मुद्दा गम्भीर बनेको बताउँदै महासंघले सो योजना प्रस्ताव गरेको हो ।

शनिबार पत्रकार सम्मेलन गर्दै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले योजना अन्तर्गत उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई विशेष सुरक्षा क्षेत्र घोषणा गर्ने, औद्योगिक सुरक्षाका लागि छुट्टै संयन्त्र स्थापना गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा एकद्वार द्रुत सेवा दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए। आर्थिक तथा व्यवसायिक कसुरहरूको अनुसन्धान एकै निकायबाट हुने कानूनी व्यवस्था पनि आवश्यक रहेकोमा उनले जोड दिए ।

निजी क्षेत्र बिना मुलुकको आर्थिक स्थायित्व, सुशासन र दीर्घकालीन समृद्धि सम्भव नहुने भन्दै अध्यक्ष ढकालले आगामी निर्वाचनमा राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्रमा निजी क्षेत्रका मुद्दालाई प्राथमिकता दिन आग्रह गरे ।

नेपालको अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान दिइरहेको र ८६ प्रतिशत रोजगारी सिर्जना गरिरहेको निजी क्षेत्रलाई उपेक्षा गर्दा समग्र आर्थिक पुनरुत्थान चुनौतीपूर्ण बन्दै गएको बताउँदै उनले निजी क्षेत्रलाई रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व योगदानकर्ता र सम्पती निर्माणकर्ताको रूपमा सम्मान गरी मनोबल उच्च राख्नुपर्नेमा जोड दिए ।

पुँजी पलायनको जोखिम

पछिल्ला आन्दोलनहरूले निजी क्षेत्रलाई गम्भीर प्रभावित पारेको उल्लेख गर्दै अध्यक्ष ढकालले विशेष गरी भदौ २३ र २४ गतेको आन्दोलनबाट करिब ३६ अर्ब रुपैयाँको प्रत्यक्ष भौतिक क्षति भएको र कुल नोक्सानी झन्डै ८० अर्ब रुपैयाँ पुगेको जानकारी दिए ।

यस्ता घटनाले निजी क्षेत्रको मनोबल ऐतिहासिक रूपमा सबैभन्दा न्यून स्तरमा पुर्याएको उनको भनाइ छ । पुँजी पलायनको जोखिम बढेको र बैंकहरूमा पर्याप्त रकम भए पनि उद्यमीहरू ऋण लिएर लगानी गर्न तयार नभएकाे ढकालल‍े बताए । ‘यदि यो अवस्था निरन्तर रह्यो भने रोजगारी र राजस्व संकुचित हुँदै मुलुक असफलतातर्फ उन्मुख हुनेछ,’ उनले भने ।

नीतिगत स्थायित्व कायम गर्ने प्रतिबद्धता माग

महासंघले राजनीतिक दलहरूलाई संविधान प्रदत्त सम्पतीको हकको सम्मान, निर्वाध पेशा–व्यवसाय सञ्चालनको सुनिश्चितता र नीतिगत स्थायित्व कायम गर्ने प्रतिबद्धता घोषणापत्रमा समेट्न आग्रह समेत गरेको छ ।

समाजवाद उन्मुख अर्थतन्त्र र तीन खम्बे नीतिले पनि निजी क्षेत्रलाई पूर्ण उत्साहित बनाउन नसकेको बताउँदै अध्यक्ष ढकालले यसका लागि निजी–सार्वजनिक साझेदारीमा आधारित नवप्रवर्तनमुखी, उद्यमशील र समावेशी आर्थिक नीति आवश्यक रहेको बताए ।

‘प्रांगारिक पहाड’ र ‘खेतदेखि खाडीसम्म’ कार्यक्रम सञ्चालन गर्न माग

कृषि र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिँदै ‘प्रांगारिक पहाड’ कार्यक्रम घोषणा गरी प्रांगारिक नगदे बाली प्रवर्द्धन, किसान परिचयपत्र चाँडो जारी गर्न माग गरे । अनुदान डिजिटल प्रविधिमार्फत वास्तविक किसानसम्म पुर्याउने र ‘खेतदेखि खाडीसम्म’ कार्यक्रम सञ्चालन गरी नेपाली उत्पादन खाडी मुलुकमा निकासी सहज बनाउने सुझाव दिए ।

पर्यटनलाई उद्योग सरह मान्यता दिए पनि नीति कार्यान्वयन नभएको गुनासो गर्दै हिलस्टेसनमा होटल, रिसोर्ट, थिमपार्क, केबलकार आदिलाई पूर्वाधार र आयकर छुट दिने,पर्यटन प्रवर्द्धन गर्ने र स्थलमार्ग पर्यटकलाई सहज बनाउने व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।

शक्तिशाली लगानी प्रवर्द्धन एवं संरक्षण बोर्ड स्थापना गर्न प्रस्ताव

लगानीमैत्री वातावरण सिर्जना गर्न ‘लगानी प्रवर्द्धन दशक’ घोषणा गरी नीतिगत स्थायित्वको प्रत्याभूति दिने, एकीकृत लगानी संहिता तयार पार्ने र लगानी बोर्ड तथा उद्योग विभागलाई एकीकृत गरी निजी क्षेत्रको सहभागितामा शक्तिशाली लगानी प्रवर्द्धन एवं संरक्षण बोर्ड स्थापना गर्ने प्रस्ताव पनि छ ।

साथै जलविद्युत आयोजनालाई आयकर छुटको समयसीमा २०९२ सम्म विस्तार गर्ने, जलाशययुक्त आयोजनामा थप सुविधा दिने र ह्वीलिङ चार्ज कार्यान्वयन गर्ने माग अघि सारिएको छ ।

भैरहवा र पोखरा विमानस्थल सहज सञ्चालनको मोडालिटी तय गर्न सुझाव

निजगढ काठमाडौं फास्ट ट्रयाकपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई उच्च प्राथमिकता दिने, भैरहवाको गौतमबुद्ध र पोखरा विमानस्थलको सहज सञ्चालनका लागि उपयुक्त मोडालिटी तय गर्न पनि सुझाव दिइएको छ।

सूचना प्रविधि क्षेत्रमा राष्ट्रिय स्टार्टअप उद्यम नीति कार्यान्वयन, १० वर्ष पूर्ण कर छुट र थप ५ वर्ष ५० प्रतिशत छुट, ‘सय स्टार्टअप, सय लगानीकर्ता’ कार्यक्रम र आईटी मल स्थापना जस्ता कदम चाल्नुपर्ने सुझाव महासंघले दिएको छ ।

यसैगरी कर प्रणालीलाई सरल, स्थिर र प्रतिस्पर्धी बनाउन बहुदर मूअक प्रणाली कार्यान्वयन, उत्पादनमूलक उद्योगमा क्रमशः कर घटाउने, पुर्नलगानीमा ७५ प्रतिशतसम्म छुट दिने र एकीकृत गैरकर छाता ऐन ल्याउने प्रस्ताव पनि महासंघले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?