१८ माघ, प्यूठान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्यूठानमा एक महिलासहित १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये झिमरुक गाउँपालिका र प्यूठान नगरपालिकाबाट मात्रै ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, खलंगाका अनुसार उम्मेदवारी दर्ता गराउने १४ जनामध्ये झिमरुक गाउँपालिकाका ४ जना र प्यूठान नगरपालिकाका ५ जना स्थायी बासिन्दा छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा यी दुई पालिकाबाट सबैभन्दा बढी उम्मेदवारी परेको हो ।
झिमरुक गाउँपालिकाबाट उम्मेदवारी दिनेमा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्य सूर्य थापा (बाङ्गेमरोठ), राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी (बाङ्गेमरोठ), श्रम संस्कृति पार्टीका गोविन्द गिरी (टिमुरचौर) र नेपाली जनता दलका विमल पोख्रेल (बाँदिकोट) रहेका छन् ।
प्यूठान नगरपालिकाबाट उम्मेदवार बनेकामा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य कृष्णध्वज खड्का (पुण्यखोला), राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा अर्थशास्त्री सुसान्त वैद्यिक (खैरा), राष्ट्रिय प्रजातन्त्र पार्टीका धनेश्वर पण्डित (धर्मावती), प्रगतिशील लोकतन्त्र पार्टीका श्याम गहतराज (विजुवार) र मंगोल नेशनल अर्गनाइजेशनका हर्कबहादुर पुन (माझकोट–६) छन् ।
त्यस्तै, नेपाली कांग्रेसबाट निवर्तमान केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल (ऐरावती–रस्पुरकोट), विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट सीता बि.क. ‘सम्झना’ (गोठिवाङ) र आम जनता पार्टीबाट रामबहादुर थापा (गौमुखी–अर्खा) उम्मेदवार बनेका छन् ।
प्यूठानमा कुल एक लाख ६५ हजार ४०६ मतदाता छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा निर्वाचनका लागि १५७ मतदानस्थल र २३० मतदान केन्द्र तोकिएको छ ।
प्रतिक्रिया 4