+
+
Shares

जन्ती बस दुर्घटना : शोकमा डुबे लघुणाछा र भौनी गाउँ

जन्ती बोकेको बस सडकबाट २०० मिटर तल खस्दा सहोदर दाजुभाइ, भतिजा र छोरी–ज्वाइँसहित १३ जनाको मृत्युु भएको छ ।

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८२ माघ २३ गते १७:२०

२३ माघ, बैतडी । बझाङको वित्थडचिर गाउँपालिका–७ लघुणाछा र बैतडीको पुर्चाैडी नगरपालिका–७ को भौनी गाउँ यतिबेला शोकमा डुबेका छन् । जन्ती बोकेको बस दुर्घटना भई १३ जनाको ज्यान गएपछि यी दुई गाउँका बासिन्दा विक्षिप्त भएका छन् ।

दुर्घटनामा परी ३४ जना घाइते भएका थिए । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरू बेहुला र बेहुलीपट्टिका आफन्त र इस्टमित्र रहेका छन् ।

जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दीपकराज जोशी र ४५ वर्षीय किसनदत्त जोशी छन् ।

यसैगरी बझाङ केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट र केशवराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र १४ वर्षीय किशोर सुशील जोशीले दुर्घटनामा ज्यान गुमाएका छन् ।

घटनास्थलमै ६ जनाको, कोटिला स्वास्थ्य चौकीमा दुई जना र डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा थप ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक रायले जानकारी दिए ।

घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । ५ जनालाई धनगढी रेफर गरिएको छ । ४ जनाको भने बझाङको देउलेख स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा दाजुभाइ, छोरी–ज्वाइँसहित १३ जना

बस दुर्घटनामा सहोदर दाजुभाइ, भतिजा र छोरी ज्वाइसहित १३ जनाको मृत्युु भएको छ ।

दुर्घटनामा ज्यान गुमाउने नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन् । उनीहरू बेहुलाका सहोदर काका हुन् । नरेन्द्रराज बित्थडचिर गाउँपालिकाका प्राविधिक सहायक हुन् भने विष्णुदत्त बित्थ्यडचिरकै महादेव माध्यमिक विद्यालयका शिक्षक हुन् ।

यसैगरी, घटनामा ज्यान गुमाउने वसन्तराज जोशी मृतक नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठा छोरा हुन् । वसन्तराज गाउँपालिकामा कृषि प्राविधिक पदमा कार्यरत थिए ।

नरेन्द्रराज र विष्णुदत्त

घटनामा ज्यान गुमाउने बझाङको जयपृथ्वी नगरपालिका–७ का वसन्तराज रताला मृतक वसन्तराज जोशीका सहोदर भिनाजु हुन् भने मोहनदेव भट्ट र केशवराज भट्ट बुवा–छोरा हुन् ।

अन्य मृतक तथा घाइतेहरू पनि बेहुला र बेहुलीका आफन्त र इष्टमित्र नै परेका छन् । यस्तै, सोही दुर्घटनामा ज्यान गुमाउने १४ वर्षीय किशोर सुशील जोशी बेहुलीका भाइ हुन् ।

बेहुलीका भाइ, सुशील जोशी ।

घटनामा बेहुलाका एक काकाको खुट्टा भाँचिएको छ भने ठूलो बुवा पनि घाइते भएका छन् । ज्यान गुमाउने बित्थडचिर ठेगाना भएका व्यक्ति एउटै गाउँका आफन्त र बाँकी इष्टमित्र रहेको बुझिएको छ ।

घटनामा ज्यान गुमाउनेमा बैतडीको पुर्चौडी–७ र बझाङको बित्थडचिरका बेहुला परिवारका आफन्त र इष्टमित्र हुन् ।

गाउँ नै रोयो, भोज खान गएकाहरू कुरुवा बने

खुसी साट्न बिहेमा गएकाहरू कहिल्यै नफर्किने गरी अस्ताएपछि यतिबेला गाउँ शोकमा डुबेको बित्थडचिर गाउँपालिका–७ का वडाध्यक्ष दिनेश अधिकारीले बताए ।

‘हाम्रो वडाको लघुणाछा गाउँमा करिब १० वटा घर छन् । बस दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेहरू सोही गाउँका बढी छन् । धेरै आफन्त र इष्टमित्र छन्, गाउँ रोइरहेको छ,’ वडाध्यक्ष अधिकारीले भने ।

हिजो दिनभर बिहेमा भोज खान आउने जन्तीहरूको सत्कारमा लागेका गाउँले आफन्तहरू यतिबेला शव कुर्ने र घाइतेको औषधि उपचारमा सहयोगीको भूमिकामा छन् ।

‘हिजो दिनैभर सबै रमाइरहेका थियौँ । बिहे घरमा आउने–जाने क्रम थियो । राति ८ बजे घटनाको जानकारी पाएपछि गाउँका सबै तितरबितर भयौँ । अहिले अस्पतालमा कुरुवा बसेकी छु,’ बित्थडचिर गाउँपालिका–७ की वडा सदस्यसमेत रहेकी परिमलीदेवी जोशीले भनिन् । जोशी अहिले घाइते श्रीमान्को कुरुवा बसेकी छिन् ।

खुसियाली साट्न नपाउदै गाउँमा बज्रपात परेपछि आफूहरू कुरुवाको लागि अस्पताल दौडेको स्थानीय उमेशराज जोशीले बताए । ‘गाउँका मानिसहरू समालिनसक्नु अवस्थामा छन् । हामी अस्पताल आइहाल्यौं । गाउँको अवस्था भनिनसक्नु छ,’ जोशीले भने ।

विक्षिप्त शिक्षक उत्तमराज जोशी

लघुणाछा गाउँका ६ जनाको मृत्यु र अरू धेरै घाइते भएपछि विक्षिप्त बनेका छन् शिक्षक उत्तमराज जोशी । परिवारमा घाइते नभएका एक्ला व्यक्ति हुन् जोशी ।

‘म बाइकमा थिएँ । गाउँका अरू सबै बसमा थिए । मेरै गाउँका ६ जनाको मृत्यु भइसक्यो । दर्जन बढी अस्पतालको बेडमा छन् । म विक्षिप्त अवस्थामा छु । छिमेकी आएर अस्पतालमा सहयोग गरिरहेका छन्,’ उत्तमराज जोशीले रुँदै भने ।

गाउँका आदा दर्जन सदस्य गुमाएपछि भक्कानिरहेका जोशी आफू रित्तिएको बताउँछन् ।

‘हाम्रो परिवारमा चोट नलागेको म मात्रै छु । जेठा बुवा, दुई जना काका, एक जना दाइ, एक भाइ, भतिजा, बहिनीज्वाइँ, फुपाजु र फुपाजुका छोरा लगायतको मृत्यु भइसक्यो,’ जोशीले भने, ‘कसरी समालिउँ, कोही कहिले नफर्किने गरी गए, कोही अंगभंग भइसके, किरिया गर्ने मान्छे पनि रहेनन्,’ स्थानीय महादेव माविका शिक्षक जोशीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?