News Summary
Generated by OK AI. Editorially reviewed.- षटकोण आर्ट्सको ब्यानरमा निर्मित ‘लालीबजार’को टिजर सार्वजनिक भएको छ जसले रहस्यमय र तनावपूर्ण वातावरण प्रस्तुत गर्छ।
षटकोण आर्ट्सको ब्यानरमा निर्मित ‘लालीबजार’को टिजर सार्वजनिक भएको छ । १ मिनेट २० सेकेन्ड चानचुनको टिजरले दर्शकलाई झट्ट तान्छ ।
एक चुट्कीमै धेरै कुरा यसभित्र अटाएको छ ।
टिजरको सुरुवातदेखि नै वातावरण रहस्यमय र तनावपूर्ण छ । पृष्ठभूमिमा बज्ने ब्याकग्राउन्ड म्युजिकले तुरुन्तै दर्शकको ध्यान खिच्छ ।
यो संगीतले एकातिर परम्परागत नेपाली धुनको झल्को दिन्छ भने अर्कोतिर आधुनिक सस्पेन्स र एक्सनको फिल दिन्छ । ड्रमको बिट र तीव्र तालले टिजरलाई डाइनामिक बनाएको छ । भिजुअलमा प्रयोग भएका डार्क टोन, सडकका दृश्यहरू, पुराना महल जस्ता संरचना र आधुनिक शहरी जीवनको मिश्रणले दृश्यलाई जीवन्त र रहस्यपूर्ण बनाउँछ।
टिजरले यसको कथा स्थानीय परम्परा र समाजसँग गाँसिएको संकेत गर्छ ।
कथा र संवादहरूको झलक हेर्दा यो चलचित्रमा थोरै रोमान्स र धेरै रहस्य छ । टिजरमा आएका केही प्रमुख संवादहरूले कथाको गहिराइ बुझाउँछन् । ‘बन्दुक लिएर आएपछि तिमीले सुत्न पाउने छौं’ जस्ता वाक्यले हिंसा, धम्की र शक्तिको खेललाई देखाउँछ।
‘राजा साहेबलाई तिम्री छोरी मन पर्यो, तिम्री छोरीको गहनाको मूल्य कति राख्यौ ?’ यी वाक्यहरूले समाजिक शोषण र विवशताको कथालाई उजागर गर्छ । यो टिजरले नेपाली समाजमा विद्यमान असमानता, परम्परा र द्वन्द्व जस्ता विषयहरूलाई पनि छुने प्रयास गरेजस्तो लाग्छ । टिजरले यी गम्भीर विषयलाई सतही नबनाई गहिराइ दिने कोसिस गरेको छ।
स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियालगायतको अभिनय निकै जोडदार छ । स्वस्तिमाको आँखामा रहेको क्रोध, दृढता र पीडाको मिश्रणले दर्शकलाई भावनात्मक रूपमा जोड्छ। रविन्द्रसिंह बानियाले पनि आफ्नो क्यारेक्टरमा गहिरो प्रभाव छोडेका छन्– उनको उपस्थिति रहस्यमय र डरलाग्दो छ ।
फिल्मको कथा र निर्देशक याम थापाको रहेको छ ।
टिजरमा राम्रो लाइटिङ र क्लोजअपहरू प्रयोग गरेर दृश्यहरूलाई जीवन्त बनाइएको छन् । रङ संयोजनले पनि टिजरलाई प्रोफेसनल लुक दिएको छ।
तर, यो कहाँको र कसको कथा हो ? के नेपाली समाजसँग जोडिएको कथा हो ?
यसले भने केही अलमल पार्न सक्छ ।
फिल्म निर्माण पक्षले भने यो कुनै सत्य घटनाबाट प्रभावित कथा हो भनेका छन् । साथै यो नेपालकै परिवेश र माओवादी दन्द्व आसपासको समयरेखा भएको बताइएको छ ।
जे होस्, टिजरले दर्शकमा उत्सुता जगाएको छ र एउटा प्रतिक्षा गराएको छ, फिल्म हेर्नलाई ।
प्रतिक्रिया 4