२८ माघ तनहुँ (दमौली) । राजनीति पनि तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको कथाजस्तै भयो । चुनावमा जसरी यो घुमाउनेको पुल, बन्छ–बन्छ जस्तो लाग्छ, देशमा आशा पनि उसैगरी जाग्छ तर चुनावपछि निराशामा बदलिन्छ ।
पृथ्वीराजमार्गको विकल्पमा बुद्धसिंह मार्ग र चितवन जोड्ने घुमाउनेको पुल बन्छ भनेकै दुई दशक भइसक्यो । अघिल्लो चुनावमा तनहुँ–१ का उम्मेदवारहरुले आशा जगाएपछि बन्छ भनेको घुमाउनेको पुल बनेन,चुनाव चाहिँ आइसक्यो । चुनावसँगै घुमाउनेको पुल बनाउने कथा पनि फेरि सतहमा आएको छ ।
‘घुमाउनेको पुल त बनेन तर घुमिफिरी चुनाव आइसक्यो । जितेर पठाएकाले पनि यसलाई सम्वोधन गर्न सकेनन्,’ घुमाउनेको पुलका निम्ति आवाज उठाउँदै आएका सिद्धान्त थापा भन्छन्, ‘मत दिने कुरामा पनि अहिले कसलाई दिने नागरिक ढुक्क भइसकेका छैनन् । घुमाउनेको पुलजस्तै जनताको विश्वास नगुमोस् भन्ने छ ।’ त्रिशुलीमाथि २०७१ सालमा बनाउन थालिएको पुल जस्ताको तस्तै छ तर त्यसयता तनहुँ–१ मा चुनाव चौथो पटक आइसक्यो ।
तनहुँलाई बीचबाट चिरेर गएको धुलाम्मे र हिलाम्मे पृथ्वीराजमार्ग अहिले चिटिक्क र सफा देखिएको छ । तर, यहाँका मतदाताको निर्णय भने स्पष्ट भइसकेको छैन ।
डुम्रे बजारमा भेटिएका राजेश श्रेष्ठ भन्छन्, ‘यो क्षेत्र कस्तो बन्ने हो त थाहा छैन तर भोट चाहिँ मन्त्रीलाई हाल्ने हो ।’ श्रेष्ठको भनाइअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले भावी मन्त्रीका रुपमा मत मागिरहेका छन् भने जेनजी आन्दोलनमार्फत् विस्थापित सरकारमै मन्त्री रहेकी भगवती न्यौपाने एमाले उम्मेदवार छिन् ।
२०८० वैशाखमा भएको उपनिर्वाचनमा विजयी रास्वपा उपसभापति स्वर्णिम वाग्ले फेरि भावी मन्त्रीका रुपमा गाउँबस्तीमा भोट मागिरहेका छन् । उनलाई रास्वपा सभापति रवि लामिछानेले पुस २१ गतेको पार्टी समायोजन कार्यक्रममा आगामी अर्थमन्त्रीको रुपमा घोषणा गर्दै बजेटको तयारी गर्न भनेका थिए । अघिल्लो पटक पनि स्वर्णिमलाई रास्वपाबाट अर्थमन्त्रीकै रुपमा चर्चा गरिएको थियो ।

उपनिर्वाचनअघि दमौली कांग्रेस पार्टी कार्यालय अगाडि भएको आमसभामा उभिएर तत्कालीन महामन्त्री गगन थापाले भनेका थिए, ‘गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउने जिम्मा हाम्रो भयो ।’
थापाले कांग्रेसमै हुँदा आफूनिकट अर्थशास्त्री स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ का उम्मेदवार हुँदा गोविन्दलाई मन्त्री बनाउने घोषणा त गरे तर चुनाव भने लोकप्रिय मतका साथ स्वर्णिमले जिते ।
जेनजी आन्दोलनपछिको परिस्थितिमा कांग्रेसको विशेष महाधिवेशनमार्फत गगन आफैं सभापति बनेका छन् र फागुन २१ गते हुने उपनिर्वाचनमा उनै गोविन्दलाई नै उम्मेदवार बनाएका छन् ।
बदलिएको कांग्रेसबाट तनहुँ–१ मा नबदलिएका उम्मेदवार गोविन्दलाई जिताए उनी यसपाली चाहिँ पक्का मन्त्री हुने चर्चा छ । यसअघिकै चुनावमा ‘पानीमान्छे’ का रुपमा प्रचार गरिएका गोविन्द कांग्रेस सरकार बन्दा खानेपानी मन्त्री बन्ने भन्दै नेता कार्यकर्ताले भोट मागिरहेका छन् ।
एमालेकी उम्मेदवार भगवती न्यौपाने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सामान्य प्रशासन मन्त्री थिइन् । अहिलेको चुनाव जितेर फेरि मन्त्री बन्ने भन्दै उनका नेता कार्यकर्ताले मतादातासँग भोट मागिरहेका छन् । तर, यसपटक सबैभन्दा बढी प्रश्न र चुनौतिको सामना एमालेले नै गरिरहेको छ ।

चुनाव नजित्दै मन्त्रीको चर्चा भइरहेको तनहुँ–१ मा नेपाली कम्युनिस्ट पार्टीबाट विद्यानाथ ढकाल उम्मेदवार छन् । चर्चाका मन्त्री–मन्त्रीबीचको टक्करमा मत बाडिँदा आफूहरुले चुनाव जित्ने नेकपाको दावी छ । माओवादीको जनमतसमेत बलियो नै मानिएको यो क्षेत्रमा ढकाल उम्मेदवार हुँदा एकीकृत समाजवादीको मत पनि नेकपामा छ ।
कांग्रेसबाट कारबाहीमा परेपछि शक्ति संघर्ष गरिरहेका गोविन्दराज जोशी समूह पनि चुनावी मैदानमा छ । २०७९ को स्थानीय तह निर्वाचनमा एमालेसँग मिलेर व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार बनेका दिपकराज जोशी यसपटक प्रतिनिधिसभाका लागि प्रतिष्पर्धामा छन् । उनी गोविन्दराज जोशीका छोरा हुन् ।
यस्तै उज्यालो नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले पनि आफ्नो पक्षमा मत पार्न कसरत गरिरहेका छन् ।
दमौलीदेखि बैरेनी, कलेस्ती, रिस्ती, डुम्रे, भानु, आँबुखैरेनीसम्म भेटिएका प्रतिनिधि मतदाताहरुको प्रतिक्रियाले तनहुँ–१ को चुनाव निकै पेचिलो देखाउँछ । अघिल्लो पटक स्पष्ट रुपमा खुलेका मतदाता पनि अहिले पर्ख र हेरको अवस्थामा छन् ।
‘अघिल्लो पटक त निकै आशावादी भएर भोट हालेकै हो तर यसपाली पर्ख र हेरको अवस्थामै छौं,’ बैरेनीकी विष्णु गुरुङले भनिन्, ‘जसलाई हाले पनि यस्तै त रहेछ ।’

तनहुँ क्षेत्र नम्बर १ बाट २०७९ मंसिरमा भएको चुनावमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि २०८० वैशाख १० गते उपनिर्वाचन भएको थियो । नागरिकता प्रकरणमा रवि लामिछाने पदमुक्त भएपछि फेरि चितवन–२ को उपचुनावमा उठेका थिए । त्यहीबेला चितवन, तनहुँ र बारामा उपचुनाव भएको थियो ।
उपनिर्वाचनअघि रास्वपा प्रवेश गरेर चुनावमा होमिएका स्वर्णिमप्रति धेरै नागरिकले आशाको नजरले हेरेका थिए । नेपाली कांग्रेसकै कोटाबाट राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत बनेका स्वर्णिम प्रवेश गरेर चुनावमा होमिँदा रविसहित रास्वपाकै पक्षमा जनलहर नै चलेको थियो ।
तनहुँ-१ मा २०४८ यताका अधिकांश चुनाव कांग्रेसले जितेको थियो भने २०६४ सालमा नेकपा माओवादीका सुरेश आलेमगर र २०७४ मा नेकपा एमालेका कृष्णकुमार श्रेष्ठले जितेका थिए । उपनिर्वाचनमा पनि ५ दलीय गठबन्धनले कांग्रेस नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको थियो । स्वर्णिमले १४ हजार ७९७ मतान्तरले भट्टराई पछि पार्दै विजय प्राप्त गरेका थिए ।

फागुन २१ गते हुने चुनावमा होमिएको तनहुँ–१ मा यसपटक भने अलि भिन्न चित्र देखिएको छ । यसपटक रास्वपाप्रति देशभर जनलहर आउँदा पनि तनहुँमा भने स्वर्णिमलाई पहिलेजस्तो सहज परिस्थिति देखिँदैन । स्वर्णिममाथि केही प्रश्नहरु मतदातास्तरबाटै उठिरहेका छन् भने अन्य दलहरुको उम्मेदवारी र रणनीति पनि भिन्न छ ।
‘स्वर्णिम जितेर गएपछि आफ्नो क्षेत्रमा फर्किएर नागरिकको कुरा नै सुनेनन् । यहाँका समस्या समाधान गर्नेतर्फ उनको ध्यान नै गएन । उनी त कसरी सहकारी प्रकरणमा जोडिएका रविलाई उन्मुक्ति दिलाउने भन्नेभिरमात्रै लागे,’ आँबुखैरेनीका श्रीराम भट्टराई भन्छन्, ‘यो ठाउँको अपनत्व कम देखिँदा धेरै नागरिकलाई मान्छे त यही ठाउँको चाहिँदो रहेछ भन्ने परेको छ ।’
श्रीरामकोजस्तै अनुभव रिस्तीका कृष्णचन्द्र पौडेलको पनि छ । अघिल्लो पटक घुमाउनेको पुल बनाउँछु भनेर मतदातासामु कसम खाएका स्वर्णिमले बाचा पूरा गर्न नसकेको उनको भनाइ छ । आफ्नो क्षेत्रमा आएर यहाँको विकास निर्माणदेखि सम्भावनाहरु उजागर गर्नेतिर ध्यान नदिएको आरोप एकातिर छ भने सबै विपक्षीहरुले अहिले स्वर्णिममाथि निशाना बनाइरहेका देखिन्छन् ।

यसअघिको चुनावमा ५ दलीय गठबन्धन हुँदा कांग्रेसका गोविन्दलाई नहाली धेरै मत स्वर्णिमको पक्षमा गएको साझेदार दलका नेताहरु बताउँछन् । अहिले माओवादी र एकीकृत समावावादीसहित मिलेर बनेको नेकपाका आफ्नै उम्मेदवार विद्यानाथ मैदानमा छन् । गोविन्दराजसहित कांग्रेसको विद्रोही समूहबाट पनि स्वर्णिमलाई सहयोग भएको थियो । यसपटक गोविन्दराजका छोरा दीपकराज आफैं उम्मेदवार छन् ।
विषेश महाधिवेशनबाट सुध्रिएर आएको भनेको नेपाली कांग्रेस अहिले आफ्नो क्षेत्र जोगाउन एकमत भएर लागेको नेताहरु बताउँछन् । राप्रपा, उज्यालो पार्टीले पनि स्वर्णिममाथि नै दबाब सिर्जना गरेका छन् ।
पुराना पार्टीको विगत र पुरानै उम्मेदवारका कारण स्वर्णिमप्रति आकर्षण कायमै पनि छन् । भानु, आँबुखैरेनीका सहरी वडा, ब्यास नगरका सहरी वडा, डुम्रे बजार, देवघाटका सहरी क्षेत्रमा रास्वपाप्रति अलि झुकाव देखिएका छन् भने देवघाट आसपास र ग्रामिण बस्तीहरुमा रास्वपाभन्दा नेपाली कांग्रेस बलियो मानिएको छ । नेपाली कांग्रेसले अहिले गगन नेतृत्वमा आएपछि मत बढाउन तल्लो तहसम्म कार्यकर्तालाई उत्साह गर्ने काम गरिरहेको छ । २०७४ मा प्रदेश सभा र २०८० को उपनिर्वाचनमा टिकट पाएर पनि हार बेहोरेका गोविन्दप्रति सहानुभूति पनि देखिएको छ ।
आँबुखैरेनी, बन्दीपुरलगायतका पालिकासहित यो क्षेत्रमा नेकपाको प्रभाव पनि बलियो नै मानिएको छ । पहिलेभन्दा विभिन्न चुनावी चित्र भिन्न हुँदा स्वर्णिममाथि चुनौति देखिएको छ भने सामाजिक सञ्जालबाट उनलाई विवादित बनाउने प्रयास पनि भइरहेका देखिएका छन् ।
‘एक त यसपटक सबै पार्टीका आफ्नै उम्मेदवार छन् । विपक्षी उम्मेदवारलाई नागरिकले पनि चिनिसके । कांग्रेस एक भएर आएको छ । एमलेबाट पनि आफ्नै बलियो उम्मेदबार हुँदा मेरो जित सहज देखिन्छ यसपटक,’ गोविन्दले भने, ‘कांग्रेसभित्र अहिले गुट छैन ।’ तर, स्वर्णिमले भने सिंगो देशकै अवस्था त्यस्तै रहेकाले सधैं आफ्नो क्षेत्रमा बस्न नपाएको र बजेट, योजनामा भने समेटेको दाबी गर्छन् ।
देशकै अवस्था पनि हेर्नुपर्ने र अब पार्टीको काम पनि गर्नुपर्ने भएकाले ध्यान बढी दिन नसकेको जस्तो देखिए पनि यो क्षेत्र र देशकै लागि को आवश्यक छ भनेर नागरिकले बुझेको उनी बताउँछन् । सोतीवेशीमा नेपाली कांग्रेसका पूर्वगाविस उपाध्यक्ष बासुदेव सोतीकै घरमा रास्वपाको झण्डा देखियो । २०५१ सालमा रुख चिह्नबाट गाविस उपाध्यक्ष भएका सोती भन्छन्, ‘पार्टी सभापति नै जेल पर्नुभयो । उहाँ सरकारमा जानुभएको होइन । काम नै कति गर्न पाउनुभयो र ?’

सोतीले जस्तै स्वर्णिम र रास्वपाप्रति सहानुभूति राख्नेहरु पनि धेरै छन् । तनहुँको भानु नगरपालिकाको गन्धर्व गाउँ नयाँ बस्ती र आसपासमा भेटिएका अधिकांश मतदाताको धारणा पनि यस्तै थियो ।
चार पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिए पनि तनहुँ–१ मा स्वर्णिम र गोविन्दबीच कडा टक्कर हुने देखिएको छ । गत उपनिर्वाचनमा यस क्षेत्र अन्तर्गतका देवघाट–१ मा एमाले तथा व्यास–८ र व्यास–१४ मा कांग्रेसले अग्रता लिएका थिए । व्यास, बन्दिपुर, आँबुखैरेनी, भानु र देवघाटका सबै ठाउँमा रास्वपाले नै अग्रता कायम गरेको थियो ।
अहिले धेरै उम्मेदवार र गठबन्धन पनि नभएकाले, नेपाली कांग्रेसको विशेष महाधिवेशन पछिको परिस्थितिका कारण पनि यसपटक पहिलेभन्दा सानो मतान्तरले हारजित हुने संकेत मतादाताको मनस्थितिले देखाएको छ ।
गत उपनिर्वाचनमा रास्वपाका वाग्लेले ३४ हजार ९१९ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका थिए । भट्टराईले २० हजार १२२ मत ल्याएका थिए । एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत पाएका थिए ।

०७९ मंसिरमा भएको निर्वाचनमा चाहिँ रामचन्द्र पौडेलले २५ हजार ३६१ म्त ल्याएर विजयी भएका थिए भने एमालेका एकबहादुरले १९ हजार ९८१ म्तमात्र प्राप्त गरेका थिए ।
अहिले एमालेबाट ओलीले मन्त्री बनाएका भगवतीलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ । तर, एमाले नै अहिले बढी घेराबन्दीमा परेको देखिन्छ तर उनले आफूहरुको मत सुरक्षित राख्दै अरु विभाजित हुँदा जित्ने दाबी गरिरहेकी छन् ।
रामचन्द्रसँग प्रतिस्पर्धा गरेका गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याएका थिए भने २०७९ मंसिरको चुनावमा रास्वपाले जम्मा ६ हजार ४४ प्राप्त गरेका थिए । उपनिर्वाएचनमा स्वर्णिम तनहुँ–१ मा उम्मेदवार हुँदा कांग्रेसभित्र पनि असन्तुष्ट पक्ष, एमालेबाट ग्राउण्डमा नभिजेका उम्मेदवार, माओवादी, एकीकृत समाजवादीको आफ्नो उम्मेदवार नहुनुका कारण पनि त्यो मत स्वर्णिमका पक्षमा गएको तथ्यांकले बुझाउँछ ।
०७९ को समानुपातिक मत हेर्दा कांग्रेसले २० हजार १५८, एमालेले १६ हजार ६८३, राष्ट्रिय स्वतन्त्र पार्टीको १२ हजार ७७३, माओवादी केन्द्रको सात हजार ३२६, राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन हजार ५७७, एकीकृत समाजवादीको ९५० मत प्राप्त गरेको थियो ।
प्रतिक्रिया 4