News Summary
Generated by OK AI. Editorially reviewed.- मधुबाला बलिउडकी प्रतिभाशाली अभिनेत्री थिइन् जसलाई 'बलिउडकी सौन्दर्यकी देवी' समेत भनिन्थ्यो।
- उनको जीवनमा मुटुमा प्वालको रोग थियो र 'मुगल-ए-आजम' को छायांकनमा स्वास्थ्य बिग्रियो।
- दिलीप कुमारसँगको प्रेम सम्बन्ध बुबाको नियन्त्रणका कारण बिग्रियो र उनले किशोर कुमारसँग विवाह गरिन्।
मधुबाला उत्कृष्ट अभिनेत्री त थिइन् नै, त्यससँगै बलिउडमा उनले आफ्नो सुन्दरताले सधैं चर्चा पाइरहिन्। बलिउडमा उनको सुन्दरतालाई लिएर बनाइएका अनेक किस्साहरू छन्, जसमध्ये धेरैजसो सत्यको नजिक छन्।
‘फिल्म इन्डिया’का सम्पादक बाबुराव पटेल मधुबालालाई बलिउडकी सबैभन्दा प्रतिभाशाली र सुन्दर अभिनेत्री मान्थे। उद्योगमा पनि धेरैले उनलाई हलिउडकी अन्य अभिनेत्रीहरूसँग तुलना गर्दै ‘बलिउडकी सौन्दर्यकी देवी’ समेत भन्ने गर्थे।
मधुबालाका समकालीन अभिनेत्रीहरू बेगम पारा र निरूपा रोयका अनुसार उनको शरीर शिरदेखि पैतालासम्म ‘परफेक्ट’ थियो। उनको छाला यति पारदर्शी र गोरो थियो कि पान खाँदा घाँटीबाट रातो रङ तल झरेको देखिन्थ्यो भन्ने कुरा प्रचलित थियो।
त्यस्तै, ‘रेल का डिब्बा’को छायांकनका क्रममा उनलाई देख्नासाथ शम्मी कपूरले आफ्नो संवाद नै बिर्सने गरेको कुरा चर्चित छ।
हँसिलो व्यक्तित्व अभिनेता देव आनन्द मधुबालाको खुलेर हाँस्ने बानीका ठूला प्रशंसक थिए। उनले आफ्नो आत्मकथामा यसबारे लेखेका छन्, जहाँ मधुबालाको अनुहार बिहानीको शीत जस्तै ताजा रहने र निकैबेरसम्म हाँसिरहने उल्लेख छ।
कुनैकुनै समयमा छायांकनका बीचमा उनी यसरी हाँस्थिन् कि निर्देशकले लाइट निभाएर उनी शान्त नभएसम्म चियाको अर्डर गर्नुपर्थ्यो।
यद्यपि, मधुबालाको जीवन बाहिरबाट जति सुन्दर देखिन्थ्यो, त्यति सजिलो थिएन। जीवनी लेखक खतिजा अकबरका अनुसार बुबाप्रतिको अत्यधिक निष्ठा, समयमा सही निर्णय लिन नसक्ने कमजोरी र भावुक स्वभावले उनलाई जीवनभर दुःख दिइरह्यो।
नामको न्वारान मधुबालाको वास्तविक नाम मुमताज जहाँ बेगम देहलवी थियो। उनी १४ फेब्रुअरी १९३३ मा दिल्लीमा जन्मिएकी थिइन्। ९ वर्षको उमेरमा ‘बसन्त’ फिल्मबाट करियर सुरु गरेकी उनलाई देविका रानीले ‘ज्वार-भाटा’का लागि मुम्बई बोलाएकी थिइन्।
पछि निर्देशक केदार शर्माले उनको नाम ‘मधुबाला’ राखिदिए। सन् १९४९ को फिल्म ‘महल’को सफलताले उनलाई देशभरका युवाहरूको ढुकढुकी बनायो।
हलिउडको अवसर न्युयोर्कको ‘थिएटर आर्ट्स’ नामक पत्रिकाले उनलाई ‘विश्वको सबैभन्दा ठूलो तारा’ भनेर लेख छापेको थियो। प्रसिद्ध ओस्कार विजेता निर्देशक फ्र्याङ्क काप्राले उनलाई हलिउडमा रोल दिन चाहन्थे। उनले मधुबालालाई मुम्बईको ताज होटलमा भेट्न समेत खोजेका थिए।
तर, उनका बुबा अताउल्लाह खानले ‘छोरीलाई काँटा-चम्चाले खान आउँदैन’ जस्तो सामान्य बहाना बनाएर सो भेटघाट रद्द गरिदिए। यदि त्यो भेट भएको भए मधुबालाले विश्वव्यापी पहिचान पाउने सम्भावना थियो।
दिलीप कुमारसँगको असफल प्रेम दिलीप कुमार र मधुबाला एकअर्कालाई निकै माया गर्थे। तर, मधुबालाका बुबाको स्वभाव र नियन्त्रणका कारण उनीहरूको सम्बन्ध बिग्रियो।
‘नया दौर’ फिल्मको सुटिङका क्रममा बुबाले मधुबालालाई मुम्बई बाहिर जान रोक लगाएपछि निर्माता बी.आर. चोपडाले उनलाई फिल्मबाट हटाइदिए। पछि यो कुरा मुद्दा बनेर अदालतसम्म पुग्यो। त्यहाँ दिलीप कुमारले चोपडाको पक्षमा बयान दिए, जसले दुई प्रेमीबीचको सम्बन्धमा दरार ल्यायो।
दिलीप कुमारले आफ्नो आत्मकथामा मधुबालासँगको सम्बन्धबारे लेखेका छन्। मधुबालाका बुबाले उनीहरूलाई व्यापारिक रूपमा मात्र प्रयोग गर्न खोजेको र मधुबालाले सधैं बुबाको पक्ष लिएका कारण सम्बन्ध बिग्रिएको उनको भनाइ छ।
‘मुगल-ए-आजम’ मधुबालालाई जन्मजात मुटुमा प्वाल (ventricular septal defect) थियो। डाक्टरहरूले कडा परिश्रम नगर्न र नाचगानका दृश्य नगर्न चेतावनी दिएका थिए। तर, ‘मुगल-ए-आजम’को छायांकनका क्रममा उनले त्यो चेतावनी बिर्सिन्।
उनले आफ्नै तौलभन्दा भारी फलामका साङ्लाहरू शरीरमा बेरेर सुटिङ गरिन्। गर्मीमा घण्टौंसम्म भारी पोसाकमा उभिरहिन्। कतिपय अवस्थामा सुटिङका क्रममा बेहोस भए पनि काम रोकिनन्। यसले फिल्ममा उनको काम त उत्कृष्ट भयो, तर स्वास्थ्य भने बिग्रन थाल्यो।
अन्तिम दिनहरू दिलीप कुमारसँग सम्बन्ध टुटेपछि मधुबालाले हतारमा किशोर कुमारसँग विवाह गरिन् (सन् १९६० मा)। किशोर कुमारले उनलाई उपचारका लागि लन्डन लगे, तर डाक्टरहरूले बचाउन सक्ने कुनै आशा देखाएनन्।
लन्डनबाट फर्केपछि किशोर कुमारले मधुबालासँग समय बिताउन नसक्ने भन्दै उनलाई माइतीमै छाडिदिए। त्यो समयमा मधुबाला एक्लो भइन्। किशोर कुमार महिनामा एक-दुई पटक मात्र भेट्न जाने गर्थे।
अनि ३६ औं जन्मदिनको नौ दिनपछि, २३ फेब्रुअरी १९६९ मा मधुबालाले संसार छोडिन्। उनी बितेको समयमा दिलीप कुमार मुम्बईमा थिएनन्।
प्रतिक्रिया 4