+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

धादिङ- २ : विगतको मतका आधारमा कुन दलको अवस्था कस्तो ?

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यो निर्वाचन क्षेत्रमा १ लाख ३३ हजार ६ सय ४२ मतदाता थिए । जसमध्ये समानुपातिकतर्फ ७० हजार ८९ मत खस्दा ६६ हजार ५ सय ३१ मत सदर भएको थियो । यस वर्षको निर्वाचनमा यो निर्वाचन क्षेत्रमा ४ हजार ९ सय ५२ मतदाता थपिएर १ लाख ३८ हजार ५ सय ९४ पुगेको छ ।

मनिष दुवाडी मनिष दुवाडी
२०८२ फागुन ३ गते १४:३६

३ फागुन, धादिङ । प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ । धादिङमा   राजनीतिक सरगर्मी बढ्दैछ । राजनितिक दल र तिनका उम्मेद्वार निर्वाचन केन्द्रित कार्यक्रम र अभियान लिएर घरदैलो अभियानमा व्यस्त देखिएका छन् ।

दुइ वटा निर्वाचन क्षेत्र रहेको धादिङका चोक-चोक र चिया पसलमा जितहारको चर्चा दिनहुँ चुलिँदो छ । यस पटकको निर्वाचनमा पञ्चायत कालदेखि नै जनप्रनिधि बनेका देखि १ महिनाअघि पार्टी प्रवेश गरेर टिकट लिएकाहरू उम्मेदवार बनेका छन् ।

यहाँका १३ वटा पालिका रहेको धादिङमा जिल्ला सदरमुकामसहित एउटा नगरपालिका र ६ वटा गाउँपालिका क्षेत्र नं. २ मा पर्दछ ।

विगतका निर्वाचनहरुमा काँग्रेस एमाले र तत्कालीन नेकपा माओवादीबीच प्रतिस्पर्धा हुँदै आएको यहाँ यसपटक रास्वपा पनि प्रतिस्पर्धी बन्ने अनुमान गरिएको छ । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा र ०७९ मै भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दलका नेता र समानुपातिक तर्फ पार्टीले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा को कति बलियो भनेर हामीले लेखाजोखा गरेका छौँ ।

सुरुमा २०७९ को स्थानीय तहको मतपरिणाम हेरौँ । धादिङका कुल १ सय ४ वटा वडामध्ये क्षेत्र नं २ मा ५१ वटा वडा छन् । ४३ वटा वडामा आफ्नो उम्मेद्वार उठाएको काँग्रेसले २२ वटा वडामा जित हाँसिल गरेको थियो । जितेका र हारेको काँग्रेसको वडा अध्यक्षहरूले पाएको मत जोड्दा २९ हजार ९ सय ६५ हुन्छ । यस क्षेत्रका ३ वटा वडामा स्वतन्त्र उम्मेद्वारहरु विजयी भएका थिए । ३ वटै वडामा नेपाली काँग्रेसनिकट रहेका व्यक्तिहरू पार्टीमा विद्रोह गर्दै उम्मेद्वारी दिएका र काँग्रेसकै भोटको सहायतामा विजयी भएका थिए । उनीहरुले पाएको भोट ४ हजार ४ सय ४९ थियो ।

त्यस्तै ५१ वटै वडामा उम्मेद्वार उठाएको नेकपा एमाले ८ वटा वडामा विजयी भएको थियो । जितेका र हारेका सबै वडाध्यक्षहरुले पाएको मत जोड्दा २५ हजार ९ सय ३८ मत हुन्छ ।

त्यस्तै ३४ वटा वडामा आफ्नो उम्मेद्वार उठाएको तत्कालीन नेकपा माओवादी केन्द्रले १० वटा वडामा विजयी हुँदा तत्कालीन नेकपा एकीकृत समाजवादीले २४ वडामा उम्मेद्वारी दिँदा ३ वटामात्रै विजयी भएको थियो । यी दुई गाभिएर अहिले नेपाली कम्युनिस्ट पार्टी भएकाले यीनीहरुका जितेका र हारेका वडाध्यक्षहरुले पाएको मत जोड्दा १७ हजार ८ सय ३६ देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा राप्रपाले पनि सम्मानजनक मत नै पाएको थियो । ४६ वडामा उम्मेद्वार रहेको राप्रपाले ४ वडामा विजयी हुँदै ५ हजार २ सय ८७ मत पाएको थियो ।

वडा अध्यक्षहरुले पाएको मतको आधार हेर्दा नेपाली कांग्रेसको मत धेरै देखिन्छ । तर राजनीतिका जानकारहरु वडाअध्यक्षले पाएको मतलाई संसदीय राजनीतिमा कुनै पनि प्रभाव नपर्ने बताउँछन् । वडा अध्यक्षको चुनावमा भौगोलिक निकटता, आफन्तवाद र उम्मेद्वारको व्यक्तित्वले पनि प्रभाव पार्ने हुँदा वडा अध्यक्षले पाउने मत पार्टीको आफ्नो मत भनेर विश्लेषण गर्नु संसदीय उम्मेद्वारहरुलाई जोखिम हुने अध्येता तथा प्राध्यापक डा. नवीनबन्धु पहाडी बताउँछन् ।

पहाडीले भने, ‘भाद्र २३ र २४ गतेको आन्दोलनपछि विशेषगरी युवापुस्ताको भोट पुराना दलहरुलाई नजान सक्छ, गत चुनावभन्दा पछि थपिएका ५ हजार मतदाता नै निणार्यक बन्न सक्ने देखिन्छ ।’

अब २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलहरुले पाएको समानुपातिक मतलाई हेरौँ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यो निर्वाचन क्षेत्रमा १ लाख ३३ हजार ६ सय ४२ मतदाता थिए । जसमध्ये समानुपातिकतर्फ ७० हजार ८९ मत खस्दा ६६ हजार ५ सय ३१ मत सदर भएको थियो । यस वर्षको निर्वाचनमा यो निर्वाचन क्षेत्रमा ४ हजार ९ सय ५२ मतदाता थपिएर १ लाख ३८ हजार ५ सय ९४ पुगेको छ ।

२०७९ मा पार्टीले पाएको मतका आधारमा यो क्षेत्रबाट नेपाली कांग्रेसले सबैभन्दा धेरै २० हजार ९ सय ५७ मत ल्याएको थियो । नेकपा एमाले १६ हजार दुइ सय ७५ ल्याएर दोस्रो स्थानमा थियो भने तत्कालीन माओवादीले ११ हजार ४ सय ९४ मत पाएको थियो । तत्कालीन अवस्थामा नेकपा एमाले फुटेर बनेको एकीकृत समाजवादीले २ हजार ३ सय ९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार ६ सय २८ मत पाएको थियो ।

अहिलेको माओवादी र एकीकृत समाजवादी बनेपछि ती दलले पाएको समानुपातिक मत जोड्दा उनीहरूको १३ हजार ८ सय ८८ मत हुन्छ ।

यस निर्वाचन क्षेत्रमा २०७९ मा ५३ प्रतिशत मत खसेकाले यस वर्ष पनि सोही अनुपातमा यस पटक मत खसेमा प्रमुख ४ दलको प्रतिस्पर्धा हुँदा २० हजारको हाराहारीमा मत ल्याउने उम्मेद्वार विजयी हुने देखिन्छ ।

समानुपातिक मतको तुलना गर्दा काँग्रेसले आफूले पाएको मत मात्रै जोगाउन सक्दा विजयी हुने अवस्था छ भने एमालेले करि ५ देखि ६ हजार भोट तान्नुपर्ने अवस्था देखिन्छ । विगतको निर्वाचनमा देशभरमा कताकति मात्रै उम्मेद्वारी दिएको रास्वपाले २०७९ पाएको समानुपातिक मतलाई ४ गुणा बढाउनुपर्ने चुनौती छ भने नेकपालाई दोब्बर मत संकलन गर्नुपर्ने दबाब छ ।

अहिले नयाँ नयाँ भनेर धेरै हल्ला भइरहेकाले नेपाली काँग्रेस नयाँ पार्टी बनेर आएको र यो क्षेत्रमा पनि आफू नयाँ भएकाले मतदाताको रोजाइमा पर्ने काँग्रेसका उम्मेद्वार रमेश धमला बताउँछन् । उनले भने, ‘देशको निकास र विकासको लागि अवको केही वर्ष गगन थापाले देश चलाउनै पर्नेछ,  त्यसको लागि पनि यहाँका मतदाताले मलाई जिताएर पठाउनु अपरिहार्य छ ।’

२०७० को संविधानसभा निर्वाचनमा विजयी भएर आफूले गरेको कामको मुल्याङ्कन गरेर नै जनताले आफूलाई जिताउने नेकपा एमालेका उम्मेद्वार धनबहादुर घलेको दाबी छ । उनी भन्छन्, ‘देशभरी नेकपा एमालेमाथि प्रहार भएको छ, देश जलाउने को हो र बनाउने को हो जनताले राम्ररी बुझेका छन्, त्यही बुझाइ नै मेरो जितको आधार हो ।’

त्यस्तै रास्वपाका उम्मेद्वार बोधनाराण श्रेष्ठ पनि आफू नै विजयी हुनेमा ढुक्क छन् । पुराना राजनीतिक दलहरुप्रति जनताको निराशा बढेको र त्यो निराशा चिर्न आफू सक्षम रहेकाले यस पटकको निर्वाचनले धादिङ २ को मतपरिणाम पनि नयाँ नै बनाउने बताउँछन् । उनले भने, ‘मैले २० वर्षजति विकासको क्षेत्रमा काम गरेँ त्यही अनुभव अहिले जनतालाई बुझाउँदै छु, फोहोरी हुँदै गएको राजनीतिलाई सँगाल्ने अवसर नै मेरो विजयको आधार हो । त्यसैले म ढुक्क छु ।’

उता राप्रपाका उम्मेद्वार सुरेश रिजालको पनि छुट्टै तर्क छ । देशमा अहिले नागरिकहरु गणतन्त्रवादी राजनीतिक दलहरुको बानिव्यवहारबाट वाक्क दिक्क भएकाले सबैले आफूलाई मत हाल्ने विश्वास व्यक्त गर्छन । उनले भने, ‘असली राष्ट्रवादी हामी हौँ, जनताले यसपटक राष्ट्रवादी शक्तिलाई चुन्नेछन्, हाम्रो जित निश्चित नै छ ।’

त्यस्तै नेकपाबाट उम्मेद्वार रहेका रामबहादुर भण्डारी आफूले सहानुभूतीको भोटले पनि जित्ने बताउँछन् । भण्डारीले भने, ‘सांगठनिक रुपमा हाम्रो उपस्थिति यसै बलियो छ, त्यसमाथी मेलै मेरो राजनितिक यात्रामा जनतालाई र देशलाई दिन बाँकी केही छैन, यो क्षेत्रका मतदाताले मैले लगाएको गुन बिर्सेका छैनन्, मतदाताले गुन तिर्नेमा म एकदमै आशावादी छु ।’

लेखक
मनिष दुवाडी

दुवाडी धादिङमा कार्यरत पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?