+
+
Shares

… अनि भत्कियो कारागारभित्र इन्द्रजितको शासन !

एम्बुलेन्स, दमकल तयारी अवस्थामा राखियो । कारागारलाई चारैतिरबाट नेपाली सेना, सशस्त्र प्रहरीले ‘कर्डन’ गर्‍यो । ड्रोन उडाएर सबै दृश्य कैद गरियो । कुकुर समेतको सहयोगमा कारागारभित्र प्रहरीले सर्च अपरेशन चलायो । अनि ३ वर्षदेखि ‘जंगी’ शासन चलाएका इन्द्रजितको हातमा हत्कडी लाग्यो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ फागुन ३ गते २०:१०

३ फागुन, काठमाडौं । कारागारभित्र प्रभुत्व जमाउँदै आएका उनको अगाडि प्रशासन निरीह थियो। चाल पाएर पनि नपाएझैँ गर्नुपर्ने बाध्यता थियो। उनको अनुमतिबेगर कारागारको गेट पनि खुल्थेन। कारागार अनुगमन र कैदीसँगको भेट उनले चाहेमा मात्रै सम्भव थियो। नत्र बाहिरबाटै टुलुटुलु हेरेर फर्कनुपर्ने बाध्यता प्रशासनसँग हुन्थ्यो।

अवैध रूपमा यसरी कारागारलाई आफ्नो ‘कब्जा’ गर्ने व्यक्ति हुन्– इन्द्रजित यादव। जिल्ला कारागार सिरहाभित्र उनको दबदबा र शासन त्यहाँका कैदीलाई मात्रै होइन प्रशासनलाई पनि राम्रैसँग थाहा थियो। तर, चाहेर पनि प्रशासन इन्द्रजितको शासनअघि लुलो बन्न पुगेको थियो।

इन्द्रजितको यो अवैध र यातनादायी शासन ढाल्न ‘प्रशासन र कैदी’ उचित समयको पर्खाइमा थिए। तर ३ वर्षदेखि त्यो समय मिलिरहेको थिएन।

इन्द्रजितको तीन वर्षदेखिको जङ्गी शासन २५ माघमा पनि दोहोरियो। पहिलेजस्तै १० जना कैदीलाई आँखामा पट्टी लगाएर इन्द्रजितले बाँधे। हात पछाडि लगेर कसियो। अनि चरम यातना दिने, पिट्ने काम मात्रै भएन, बाहिर निकालेर ढोकामा भोटे ताल्चा ठोकियो।

‘शक्ति सधैँ दाहिना हुँदैनन्’ भनेझैँ उक्त दिन इन्द्रजितको समय उल्टो चल्यो।

कारागार प्रशासन हुँदै खबर फैलिएर जिल्ला प्रहरी कार्यालय सिरहासम्म पुग्यो। सिरहाको कमान्ड करिब तीन साताअघि मात्रै एसपी बासुदेव पाठकले सम्हालेका थिए। उनले इन्द्रजितको कारागार शासनबारे धेरथोर जानकारी लिइसकेका थिए।

पीडितको उद्धार गर्नु जति आवश्यकता थियो, त्यति नै मात्रामा उद्धारमा सजगता अपनाउनुपर्ने बाध्यता पनि प्रहरीसँग थियो। यस्तै घटना यसअघि पटक–पटक हुँदा त्यहाँ प्रहरी नै छिर्न सकेको थिएन। प्रहरीलाई अवरोध गर्ने र आक्रमण गर्नेसम्मका घटना भएको त्यहाँ खटिएका सुरक्षा अधिकारीहरू बताउँछन्।

प्रहरीले आँखामा पट्टी लगाएर हात बाँध्दै यातना दिँदै गरेको अवस्थामा १० जनालाई कारागारबाट उद्धार गर्‍यो। ‘हामीले घटना थाहा पाउनासाथ १० जनालाई उद्धार गर्‍यौँ। त्यहाँ राख्दा उनीहरूको ज्यान नै जोखिम हुनसक्ने बुझेपछि जिप्रका ल्याएर हिरासतमा राख्यौँ,’ एसपी पाठक भन्छन्।

पीडित कैदीको कुरा सुन्दा त्यहाँ इन्द्रजितको राज्यबाहेक अरू केही थिएन। राज्यविहीन अवस्थामा कुनै विद्रोही समूहले दुश्मनलाई कब्जामा लिएर आँखामा पट्टी लगाएजस्तो अवस्थामा सेनाको सहयोगमा साँझ ६ बजेतिर उद्धार गरेको एक प्रहरी अधिकृत बताउँछन्।

रातभर योजना बनाएर अपरेसन

घरेलु हतियारले कुटपिट गर्दै यातना दिएकाको उद्धार भए पनि इन्द्रजितको अवैध शासन नढालेसम्म यस्ता घटना निरन्तर दोहोरिने जोखिम थियो। किनकि यसभन्दा अघि दुई पटकसम्म यस्तै यातना दिँदै २५ जनालाई सिरहा कारागारबाट इन्द्रजितले लखेटिसकेका थिए।

आफूले भनेको नमान्ने, आफ्नो अन्डरमा नबस्ने, आफ्नो विरोध गर्नेलाई यस्तै शैलीमा इन्द्रजितले यातना दिने गर्थे।

उद्धार गरेकाहरूलाई पुनः त्यहाँ लगेर राख्न नसक्ने अवस्था भएपछि २५ कैदीबन्दीलाई त्यहाँबाट अन्यत्रको कारागार सरुवा गर्नुपरेको थियो। अहिले तेस्रो पटक उद्धार गरिएका १० जनालाई पनि झापा, मोरङ, सुनसरी कारागार सरुवा गरिएको छ।

कारागारमा आफ्नो हुकुमी शासन चलाएका इन्द्रजितसँग पेस्तोल र गोली भएको सूचना ३ वर्षदेखि नै प्रहरीले अलिअलि मात्रामा सुन्दै आएको थियो। अझ, पछिल्लो एक वर्षदेखि त त्यही पेस्तोल ताक्दै आफ्ना विरोधीहरूलाई उनले तह लगाउने गरेकोसम्म पीडित कैदीहरूले बताउँदै आएका थिए।

तर पनि प्रहरी प्रशासनले केही गर्न सकेको थिएन। जिल्लाको कमान्ड सम्हालेलगत्तै इन्द्रजितबारे जानकारी पाएका एसपी पाठकले यो सूचनाको भेरिफाई गर्ने प्रयास गरे। महोत्तरीको बैंक लुटपाटमा कारागार बसेका एक भारतीयलाई बोलाएर सोधपुछ गरियो। सो क्रममा यो सूचना पुष्टि भयो।

तर पनि तत्कालै ‘अपरेसन’ गर्न प्रहरी हच्कियो।

बल प्रयोग गर्नुपर्ने, प्रहरीमाथि नै आक्रमण हुनसक्ने, गोली चलाउनुपर्ने अवस्था आएको खण्डमा हात हालाहाल हुनसक्ने लगायतका कारण प्रशासनबाट प्रहरी हच्किएको थियो।

२५ माघको घटनापछि अब कारबाही अगाडि नबढाए अर्को दुर्घटना इन्द्रजितबाट हुनसक्ने निष्कर्ष निकालेर सुरक्षा निकायले अपरेसनको प्लान बनाए। त्यसका लागि सिरहास्थित नेपाली सेनाको ‘नन्दा बक्स गण’ देखि सशस्त्र प्रहरीको टोलीसम्मको सहयोग मागियो।

मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर मगाइयो। एम्बुलेन्स, दमकल तयारी अवस्थामा राखियो। ताकि बल प्रयोग गर्नुपरेको अवस्थामा घाइते भए एम्बुलेन्समार्फत तत्कालै अस्पताल पुर्‍याउन सकियोस्। कैदीले कारागारमै आगजनी गर्न थाले दमकलले निभाउन सकियोस्। कारागारलाई चारैतिरबाट नेपाली सेना, सशस्त्र प्रहरीले कर्डन (घेराबन्दी) गर्‍यो। ड्रोन उडाएर सबै दृश्य कैद गरियो।

अनि कारागारभित्र प्रहरीले चलायो सर्च अपरेसन। ३ वर्षदेखि जङ्गी शासन चलाएका इन्द्रजितको हातमा हतकडी लाग्यो। ‘यो अपरेसन चानचुन छँदै थिएन। त्यहाँ छिर्न सम्भव नै थिएन। केही भइहाल्छ कि भन्ने डर हामीमा पनि थियो। तर सोचेभन्दा पनि सहज तरिकाले आधा घण्टाभित्र अपरेसन सफल भयो,’ अपरेसनमा सहभागी एक अधिकृत भन्छन्।

११ बजे थालेको अपरेसन साढे ११ बजेमै सकियो। इन्द्रजित र उसका आसेपासे नजिकका कैदीबन्दीको पहिल्यै पहिचान गरिएको थियो। इन्द्रजितसँगै १३ जनालाई प्रहरीले हतकडी लगाएर हिरासतमा लियो।

अनि पूर्वसूचना अनुसार कारागारको पूर्वतर्फ रहेको जिम हलभित्रको पुरानो ब्ल्याङ्केटमा लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भयो। सँगै ७.६२ लेखेको लाइभ २ राउण्ड गोली र अन्य घरेलु हतियार पनि बरामद भए।

इन्द्रजितलाई लगेको भन्दै उनका समर्थकले कारागारमा नाराबाजी गरे। एक/दुई दिनसम्म ‘इन्द्रजित दाइ’ चाहियो भन्दै कारागारभित्र नाराबाजी भयो। ‘बरु सूर्य पश्चिमबाट उदाउला अब इन्द्रजित फर्किँदैनन्। तिमीहरू यही मिलेर बस्ने भए बस नत्र तिमीहरूको पनि सरुवा हुन्छ,’ कारागार प्रशासनले चेतावनीसहित भनेपछि कैदीबन्दी साम्य हुन बाध्य भए।

यो अपरेसन सकिएपछि सुरक्षाकर्मीले सेलिब्रेसन नै गरे। गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मले टेलिफोन गरेर सिरहा प्रशासनलाई धन्यवाद दिए। सिरहा कारागारमा इन्द्रजितको शासन कतिसम्म थियो र त्यो अपरेसन कसरी सफल भयो भन्ने यसबाट पनि प्रष्ट हुन्छ ।

व्यक्ति हत्या गरेको घटनामा २५ वर्ष कैद सजाय तोकिएका इन्द्रजितलाई अहिले सरुवा गरेर सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवल ल्याइएको छ। अवैध रूपमा सिरहा कारागार प्रशासनको नाइके बनेका इन्द्रजितको ठाउँमा अहिले कैदीको सिफारिसमा नयाँ नाइके तोकिएको छ। सिरहा कारागार अहिले शान्त बनेको छ।

तर अझै एउटा अनुत्तरित प्रश्न छ– कारागारभित्र कसरी छिर्‍यो पेस्तोल र गोली? कारागारमा पेस्तोल छिराइएको बारे अनुसन्धान भइरहेको भन्नेबाहेक प्रशासनले औपचारिक रूपमा केही बोलेको छैन।

नाइके तथा चौकीदारमार्फत नै पेस्तोल गोली छिरेको आशङ्का गरिएको छ। इन्द्रजितले राखेको पेस्तोल होम मेड अर्थात् कटुवा हो। चौकीदारहरू कारागार बाहिर पनि रासन किनमेल गर्न जाने भएकाले चौकीदारमार्फत नै पेस्तोल छिरेको आशङ्का प्रहरी प्रशासनको छ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?