+
+
Shares

सिरहा कारागारका कैदीको हातमा कसले पुर्‍यायो पेस्तोल र गोली ?

इन्द्रजितको आतंकले प्रहरी नै त्रसित

हतियारको बलमा कारागारमा प्रभुत्व जमाउने, कब्जामा लिने, स्वघोषित नाइके बन्ने र शासन चलाउनेसम्मको अवस्थामा पुग्दा सिरहा कारागार प्रशासन भने निरीह बनेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ माघ २८ गते १८:२०

२८ माघ, काठमाडौं । जिल्ला कारागार सिरहा १० जना कैदीबन्दीको आँखामा पट्टी बाँधियो । पछाडी लगेर हात बाँधियो । अनि घरेलु हात हतियारले कुटपिट भयो ।

यतिमात्रै भएन कारागारको कोठाबाट बाहिर निकालेर गेटमा ताल्चा लगाइयो, ताकि उनीहरू भित्र आउन नपाउन् । २५ माघको साँझ ६ बजेतिर यो सूचना जिल्ला प्रहरी कार्यालयसम्म पुग्यो ।

घटना विवरण सुन्दा नै प्रहरी अधिकारीहरू त्रसित हुने अवस्था आयो । अनि सिरहामा रहेको नेपाली सेनाको नन्दा बक्स गण, सशस्त्र प्रहरीको टोलीलाई घटनाबारे जानकारी गराइयो ।

तीन वटै सुरक्षा निकायको टोली दलबलसहित कारागार पुग्यो । जहाँ पुग्दा १० जना कैदीबन्दी हात बाँधिएको र आँखामा पट्टी लगाइएको अवस्थामा फेला परे । केही कैदीबन्दी नाराबाजी गरिरहेका थिए ।

आँखामा पट्टी लगाएर हात बाँधिएका १० जनाको उद्धार गरेर जिल्ला प्रहरी कार्यालय सिरहा लगियो । राज्यविहीन अवस्थाजमा कुनै विद्रोही समूहले दुश्मनलाई कब्जामा लिएर आँखामा पट्टी लगाएजस्तो अवस्थामा सेनाको सहयोगमा १० कैदीबन्दीको उद्धार भयो ।

प्रारम्भिक सोधपुछकै घरेलु हातहतियारले कुटपिट गर्ने, धाकधम्की दिने गरेको विषय कैदीबन्दीहरूले खुलाए । यसका मुख्य व्यक्ति कारागारका नाइके इन्द्रजित यादव रहेको पीडित कैदीबन्दीहरूले बताए ।

भोलिपल्ट २६ माघमा सेनाकै सहयोगमा कारागारमा सर्च अपरेशन चलाइयो । मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी तालिमप्राप्त कुकुर समेत झिकाएर सर्च अपरेशन गर्‍यो ।

यी सबै घटनाका मुख्य नाइके भनिएका इन्द्रजित कर्तव्य ज्यानको कसुरमा २५ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् ।

कारागारको पूर्वतर्फ रहेको जिम हलभित्रको पूरानो ब्ल्याङ्केटमा लुकाएर राखेको अवस्थामा पेस्ताल बरामद भयो । सँगै ७.६२ लेखेको लाइभ २ राउण्ड गोली र अन्य घरेलु हतियार पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पाल बताउँछन् ।

 

कारागारभित्रै लागूऔषध, मदिरा, जुवातास जस्ता निषेध वस्तुहरू पाइने, खाने–खेल्ने जस्ता विषयहरू सार्वजनिक हुँदै आएका थिए ।

तर सिरहा कारागारमा भने पेस्तोल र गोली नै कारागारको कैदीमा हातमा पुगेको देखियो । कारागारको चौघेरामा सीमित हुने कैदीबन्दी कारागारभित्रै पेस्तोल र गोलीगठ्ठा राखेर बस्ने गरेको तथ्य यो घटनाले पुष्टि गर्‍यो । अनि यसैको बलमा कारागारमा प्रभुत्व जमाउने, कारागार प्रशासन आफ्नो कब्जामा लिने, नाइके बन्ने र आफ्नो शासन चलाउनेसम्मको अवस्था सिरहा कारागारमा देखिएको छ ।

यी सबै घटनाका मुख्य नाइके भनिएका इन्द्रजित कर्तव्य ज्यानको कसुरमा २५ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् । उनी कारागारका नाइके नभए पनि उनकै नियन्त्रणमा कारागार प्रशासन चल्ने गरेको सुरक्षा स्रोत बताउँछन् ।

‘हुनलाई कारागारका नाइके अर्कै व्यक्ति हुन् । तर इन्द्रजितले हतियारको आडमा सबै शक्ति आफूसँग लिएर प्रशासन आफू अनकुल चलाउने, आफूले भनेको नमाने कैदीबन्दीलाई यातना दिने गरेको देखिन्छ,’ घटनाबारे जानकार एक जुनियर प्रहरी कर्मचारीले अनलाइनखबरसँग भने ।

कसरी छिर्‍यो कारागारमा पेस्तोल ?

कारागारमा पेस्तोल छिरेकोबारे अनुसन्धान भइरहेको बाहेक थप विषय प्रहरी अधिकारीदेखि सीडीओ कार्यालयले बताउँदैन । सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल यो अनुसन्धानकै विषय रहेको बताउँछन् ।

यता डीएसपी पाल पनि पेस्तोलबारे अनुसन्धान भइरहेको बताउँछन् । ‘अहिले स्थिति नियन्त्रणमा आएको छ, पेस्तोलबारे अनुसन्धान जारी छ,’ डीएसपी पालले भने ।

तर कारागार स्रोतका अनुसार भने यो पेस्तोल सिरहा कारागारमा भने विगत दुई वर्षदेखि थियो । पछिल्लो समय पनि पेस्तोलको सूचना जिल्ला प्रहरी कार्यालयमा एक महिना अघि नै पुगेको थियो । सूचना पाए पनि प्रहरीले अपरेशन गर्न भन सकिरहेको थिएन ।

चौकीदारलाई कारागार बाहिर गएर राशन किनमेल गर्ने, किप्याडवाला मोबाइल चलाउने समेत छुट हुन्छ । त्यसैको दुरुपयोगमा उक्त पेस्तोल कारागारभित्र छिराइएको हुनसक्ने ती प्रहरीको विश्लेषण छ ।

इन्द्रजितले कारागारलाई आफ्नो कब्जामा लिएर पेस्तोलको आडमा शासन चलाएपछि एक भारतीय कैदीबन्दीले यसको सूचना एक महिना अघि नै प्रहरीलाई दिएको स्रोत बताउँछ । डाँका मुद्दामा कारागारमा रहेका ती कैदीले सूचना दिए पनि कारागारमा इन्द्रजितको दबदबाका कारण अपरेशन चलाएर पेस्तोल बरामद गर्न नसकेको ती प्रहरी अधिकारी स्वीकार्छन् ।

२५ माघमा यो घटना भएपछि २६ गते बल्ल सेना समेतको सहयोगमा अपरेशन गरेर उक्त हतियार बरामद भएको थियो । घटनालाई मसिनो गरी अध्ययन गरेका ती प्रहरी अधिकृतका अनुसार, यो पेस्तोल करिब २ वर्ष पहिले नै कारागार हो ।

पेस्तोल छिरेका बखतका चौकीदार भने अहिले सरुवा भएर अन्यत्र गइसकेका छन् । चौकीदारलाई कारागार बाहिर गएर राशन किनमेल गर्ने, किप्याडवाला मोबाइल चलाउने समेत छुट हुन्छ । त्यसैको दुरुपयोगमा उक्त पेस्तोल कारागारभित्र छिराइएको हुनसक्ने ती प्रहरीको विश्लेषण छ ।

कारागारभित्रै पेस्तोल, गोली छिर्नुले कारागार सुरक्षामा त्यहाँको प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ । प्रशासन र सुरक्षामा खटिएका व्यक्तिमाथि छानबिन गर्नुपर्नेमा यसबारे सीडीओ कार्यालय भने मौन देखिन्छ ।

इन्द्रजित सुन्धारा कारागारमा

आँखामा पट्टी बाँधेर यातना दिएको पाइएपछि अवैध नाइके इन्द्रजितसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू सबैलाई अहिले त्यहाँबाट अन्यत्र सारिएको छ । इन्द्रजितलाई सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलमा ल्याइएको छ ।

डीएसपी पालका अनुसार, इन्द्रजितसहित ३ जनालाई जग्गनाथदेवल कारागारमा राखिएको छ । ७ जनालाई नुवाकोट कारागारमा लगिएको छ भने ३ जनालाई भने रौतहट कारागार लगिएको छ ।

त्यस्तै आँखामा पट्टी लगाएर यातना दिइएका १० जना कैदीलाई पनि अन्य कारागारमा सारिएको छ । उनीहरूलाई झापा, मोरङ र सुनसरी कारागारमा सरुवा गरिएको हो ।

इन्द्रजितको आतंक

अहिले मात्रै होइन यसअघि पनि इन्द्रजितको समूहले कारागारमा आतंक सिर्जना गर्दै आएको थियो । गत ४ साउनमा मात्रै १३ जनामाथि कारागारभित्रै कुटपिट भएको थियो ।

२४ कात्तिक २०८१ मा कारागारभित्र महँगोमा सामान किनबेच गर्ने गरेको विषयमा तनाव सिर्जना भएको थियो । त्यतिबेला छानबिन समिति समेत गठन गरेर अध्ययन गरिएको थियो ।

यसअघि १२ चैत २०७९ मा पनि सिरहा कारागारमा झडप भएको थियो । त्यतिबेला चौकीदार यादव गिरी थिए । उनीमाथि कैदीबन्दीहरू आक्रमणको प्रयास गरेपछि त्यहाँबाट सिन्धुली कारागार सारिएको थियो । २०७८ माघमा पनि कारागारमा झडप हुँदा चार कैदी घाइते भएका थिए ।

पछिल्लो ६ वर्षयता कारागारभित्र भएका हरेक तनावका घटनामा इन्द्रजित जोडिँदै आएको प्रहरी अधिकारीहरू बताउँछन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?