२ फागुन, काठमाडौं । अमेरिकी सेनाले राजधानी काठमाडौंको टुँडिखेलमा परेड खेलेको भनी सामाजिक सञ्जालमा तस्वीर भाइरल भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको मुखमा परेको सेना दिवस तथा महाशिवरात्रिका बेला सार्वजनिक यो तस्वीरबारे सर्वत्र चासोबीच जंगी अड्डाले यो नियमित तथा पारस्परिक सम्बन्ध बुझाउने अभ्यासमात्रै भएको भनी भ्रममा नपर्न आग्रह गरेको छ ।
‘नेपालमा सेना दिवसका बेला नियमित रूपमा आयोजना गरिने समारोहमा अरु देशका सेनाको ब्यान्ड टिमले मैत्री सहभागिता जनाउने गरेको छ, हामी पनि अरु देशमा सैनिक टुकडी लिएर जाने गर्छौँ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले अनलाइनखबरको जिज्ञासामा जवाफ दिए, ‘अस्ति भर्खरै भारतको सेना दिवसमा नेपाली ब्यान्ड पनि यसैगरी गएको थियो । त्यसको उद्घोष नेपाली भाषामै भएको थियो । आर्मी टु आर्मी अपरेसनअन्तर्गत विभिन्न कार्यक्रममा भाग लिने, संयुक्त अभ्यास गर्नेलगायतका काम नियमित प्रक्रिया मानिँदै आएको छ ।’
यसबारे जंगी अड्डाले विज्ञप्तिमा पनि खुलाएर लेखेको उनले बताए । ‘यसबाहेक युवा आदानप्रदान कार्यक्रममा पनि हामी सहभागी हुन्छौँ,’ उनले भने ।
नेपाल र अमेरिकाबीच सन् १९४७ यता सैन्य सम्बन्ध रहँदैआएको छ । यसअघि गणतन्त्रकालमै पनि विभिन्न सरकारका पालामा यस्ता सैन्य ब्यान्डका नियमित प्रस्तुति हुँदै आएका छन् । नेपाली सेनाका धेरै अधिकृतहरूले अमेरिकास्थित स्टाफ कलेजहरू गएर अध्ययन गर्ने, सिक्ने गर्दैआएका छन् । अमेरिकीहरू पनि कार्यक्रम विशेषमा नेपाल आउने गरेका छन् ।
नेपालले भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तानलगायत विभिन्न देशका सेनासँग मिलेर नेपाल तथा अन्य देशमा संयुक्त सैन्य अभ्याससमेत गर्ने गरेको छ । सेनाले यी सबै कार्यक्रम विगतमाझैँ नियमित सञ्चालन हुने जानकारी दिएको छ ।
नेपालमा आम चुनाव आउन दुई साताभन्दा केही दिनमात्रै बढी समय बाँकी रहँदा अमेरिकी सेनाको प्रस्तुति दलीय वादविवादको विषय बन्नपुगेको छ । एउटा पक्षले जेनजी आन्दोलनमा पश्चिमी शक्तिराष्ट्रको हात भएको दाबी गर्दै यो सैन्य प्रस्तुति पनि त्यसैको निरन्तरता भएको दाबी गरेको छ । सरकार र सेना निकटहरूले भने यो विगतकै अभ्यासको निरन्तरतामात्रै भएकाले भ्रामक खबर नफैलाउन आग्रह गरेका छन् ।
विगतमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेलासमेत यी सबै कार्य नियमित रहेको भन्दै उनीहरूले चुनावी मसलाको विषय नबनाउन आग्रह गरेका हुन् ।
प्रतिक्रिया 4