+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

अल-असद सैन्य आधार क्षेत्रबाट अमेरिकी सेना बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १२:५५

८ माघ, काठमाडौं । इराकको पश्चिमी मरुभूमिमा अवस्थित रणनीतिक रूपमा सबैभन्दा महत्त्वपूर्ण मानिने अल-असद एयरबेसबाट अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन सेना पूर्ण रूपमा फिर्ता भएको छ।

सन् २०१४ मा इस्लामिक स्टेट (आईएसआईएस) विरुद्धको युद्ध सुरु भएयता पहिलो पटक यो विशाल सैन्य आधार क्षेत्रको सम्पूर्ण प्रशासनिक र सुरक्षा कमान्ड इराकी सुरक्षा बललाई हस्तान्तरण गरिएको हो। यो कदमलाई इराकको सार्वभौमिकता र मध्यपूर्वको बदलिँदो सुरक्षा वातावरणमा एउटा ठूलो राजनीतिक र सैन्य परिवर्तनका रूपमा हेरिएको छ।

शनिबार आयोजित एक विशेष समारोहका बीच इराकका सैन्य अधिकारीहरूले बेसको साँचो बुझ्दै त्यहाँ औपचारिक रूपमा इराकी झन्डा फहराएका छन्। इराकको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरूले यस ऐतिहासिक क्षणको निरीक्षण गर्दै अब इराकी सेना आफ्नै बलमा देशको रक्षा गर्न सक्षम रहेको सन्देश दिएका छन्।

वासिङ्टन र बग्दादबीच सन् २०२४ मा भएको उच्चस्तरीय सुरक्षा सम्झौताअनुसार नै यो फिर्ती प्रक्रिया सम्पन्न भएको हो। उक्त सम्झौताले सन् २०२५ को अन्त्यसम्ममा इराकका प्रमुख सहर र आधार क्षेत्रहरूबाट विदेशी सेना फिर्ता हुने समयसीमा तय गरेको थियो।

यसअघि छिमेकी देश सिरियामा बढ्दो तनावका कारण सुरक्षा सन्तुलन मिलाउन केही सय अमेरिकी सैन्य सल्लाहकारहरू यस बेसमा रोकिएका थिए। तर, पछिल्लो साता ती बाँकी रहेका अन्तिम टोलीहरू पनि आफ्ना उपकरणसहित छिमेकी देश जोर्डन र कुवेततर्फ प्रस्थान गरिसकेका छन्।

इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले यसअघि नै पटक-पटक विदेशी सेनाको प्रत्यक्ष उपस्थिति अब आवश्यक नरहेको र गठबन्धन सेनाको भूमिकालाई केवल सल्लाहकार र प्रशिक्षणमा मात्र सीमित गरिनुपर्ने अडान राख्दै आएका थिए ।

अल-असद बेसबाट सेना फिर्ता भए पनि इराकको उत्तरी कुर्दिस स्वायत्त क्षेत्रमा रहेको हरिर एयरबेसमा भने अमेरिकी सेनाको सानो उपस्थिति अझै कायमै छ। सम्झौताको दोस्रो चरणअन्तर्गत त्यहाँबाट पनि सन् २०२६ को अन्त्यसम्ममा सेना फिर्ता हुने तालिका रहेको छ।

यो फिर्तीसँगै इराकले अब आफ्ना छिमेकी मुलुकहरूसँगको सुरक्षा सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउने अपेक्षा गरिएको छ भने क्षेत्रीय राजनीतिमा इरान र अमेरिकाबीचको शक्ति सन्तुलनमा पनि यसले प्रभाव पार्ने देखिएको छ।

(अलअरेबियाबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?