५ फागुन, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–८ का ५२ वर्षीय विनोद मण्डल घरबाटो सिफारिस नपाएको भन्दै दुई महिनादेखि सरकारी कार्यालय धाइरहेका छन् ।
वडाध्यक्ष रामकिशोर यादवले व्यक्तिगत तथा राजनीतिक पूर्वाग्रह राखेर सिफारिसमा हस्ताक्षर नगरेको मण्डलको आरोप छ ।
मण्डल दम्पतीले पुस ९ गते वडा कार्यालयमा घरबाटो सिफारिसका लागि निवेदन दिएका थिए । वडा कार्यालयका कर्मचारीले सोही दिन स्थलगत निरीक्षणपछि सिफारिस पत्र तयार पारेका थिए । जसमा जग्गा कृषियोग्य रहेको र हाल घर तथा बाटो नभएको उल्लेख थियो । तर, उक्त पत्रमा वडाध्यक्ष यादवले हस्ताक्षर गर्न अस्वीकार गरेको मण्डलको भनाइ छ ।
बारम्बार आग्रह गर्दा पनि हस्ताक्षर नभएपछि मण्डलले पुस १९ मा जिल्ला प्रशासन कार्यालय, सिरहामा उजुरी दिएका थिए । प्रशासनले कारण स्पष्ट पार्न वडा कार्यालयलाई पत्राचार गरे पनि समस्या समाधान नभएको उनले बताए ।
पुस २३ मा वडासदस्य मोहम्मद अल्लुदीनसहित स्थानीयको उपस्थितिमा जग्गाको मुचुल्का तयार गरी पुनः वडाध्यक्षसमक्ष पुग्दासमेत आफूलाई गालीगलौजसहित फर्काइएको मण्डलको दाबी छ । ‘दुई महिनादेखि यही झमेलामा फसेको छु, गरिब मान्छेको कुरा सुन्ने कोही छैन ‘, उनले भने ।
मण्डलका अनुसार, विगतको स्थानीय तह निर्वाचनमा सहयोग नगरेको भन्दै आफूलाई सिफारिस नदिइएको हो । आर्थिक रूपमा विपन्न उनले छोरीको विवाहका लागि लिएको ऋण तिर्न जग्गा बेच्न खोजेका छन् । तर, मालपोत प्रक्रियाका लागि आवश्यक सिफारिस नपाउँदा खेत बिक्री रोकिएको र ऋणदाताको दबाब बढेको उनले बताए ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले वडाध्यक्षलाई उपस्थित हुन पटक–पटक पत्राचार गरिएको तर अटेरी गरेको जानकारी दिए । उनले भने, ‘अन्तिमपटक चेतावनी दिएका छौं ।’
यता वडाध्यक्ष यादवले भने मण्डल आफूलाई भेट्नै नआएको दाबी गर्दै आरोप अस्वीकार गरेका छन् । ‘ उनी म कहाँ आएका छैनन्, कहाँ-कहाँ पुग्छन्, म पनि हेर्छु ‘, वडाध्यक्ष यादवले भने ।
घरबाटो सिफारिसजस्तो आधारभूत प्रशासनिक प्रक्रियामा देखिएको विवादले स्थानीय तहमा सेवा प्रवाह र पारदर्शितामाथि प्रश्न उठाएको छ ।
प्रतिक्रिया 4