६ फागुन, काठमाडौं । नेपालमा केहीबेर अवरुद्ध भएको युट्युब अहिले चलिरहेको छ । कतिपय ठाउँमा भने अझै राम्रोसँग युट्युब चलेको छैन ।
आज बिहानको पछिल्लो अपडेट अनुसार अमेरिका, बेलायत र युरोपेली देशहरूमा अझै पनि हजारौं प्रयोगकर्ताहरूले समस्या झेलिरहेका ‘डाउन डिटेक्टर’ले जनाएको छ । केही घण्टामा अमेरिकामा मात्र ३ लाख २० हजारभन्दा बढी नयाँ गुनासा दर्ता भएका छन् र ती युट्युब अवरुद्धसँग सम्बन्धित छन् ।
रोचक कुरा के छ भने, युट्युबको होमपेज र सिफारिस गरिएका भिडियोहरू नचले पनि सीधा लिंक वा ‘सब्स्क्रिप्सन’ ट्याबबाट कतिपय भिडियोहरू हेर्न सकिएको छ । तर, युट्युबको मुख्य अल्गोरिदम र ‘होम स्क्रिन’ धेरै देशमा अझै ठप्प छ ।
नेपालमा किन चलिरहेको छ ?
नेपाल र केही दक्षिण एसियाली देशहरूमा यो समस्या अन्य देशको तुलनामा कम देखिएको छ । युट्युबको सर्भरहरू विभिन्न क्षेत्रमा बाँडिएका हुन्छन् । हालको समस्या मुख्यगरी पश्चिमी देशका सर्भरहरू वा गुगलको केन्द्रीय अल्गोरिदम प्रणालीमा आएको प्राविधिक त्रुटि हुन सक्ने अनुमान गरिएको छ, जसले गर्दा नेपाल जस्ता केही क्षेत्रमा यसको प्रभाव कम परेको हुन सक्ने अनुमान छ ।
नेपालमा जस्तै भारतमा पनि युट्युब आंशिक रूपमा चलिरहेको छ । तर, दिल्ली, मुम्बई र बेंगलुरु जस्ता सहरका केही प्रयोगकर्ताले भिडियो लोड हुन समय लागेको वा ‘कमेन्ट सेक्सन’ नदेखिएको गुनासो गरेका छन् । नेपाल र भारत एउटै क्षेत्रीय सर्भर अन्तर्गत पर्ने भएकाले यहाँको अवस्था पश्चिमा देशको तुलनामा निकै राम्रो देखिएको छ ।
अष्ट्रेलिया र जापानमा पनि सेवा बिस्तारै सामान्य हुँदै गएको रिपोर्ट आएको छ । त्यहाँका धेरै प्रयोगकर्ताले अब भिडियोहरू हेर्न पाएको बताएका छन्, यद्यपि ‘सर्च’ गर्दा अझै केही ढिलाइ भइरहेको गुनासो छ ।
पछिल्लो अपडेट र आधिकारिक भनाइ
युट्युबले आफ्नो प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको बताएको छ । तर सेवा पूर्ण रूपमा कहिले सुचारु हुन्छ भन्ने निश्चित समय दिएको छैन । केही प्रयोगकर्ताले सेवा सुचारु हुन थालेको बताएका छन्, जसले गर्दा अबको केही घण्टामा विश्वभर नै सेवा सामान्य हुने अपेक्षा गरिएको छ ।
अमेरिकामा युट्युब नचल्ने समस्या सबैभन्दा बढी देखिएको छ । विशेषगरी न्युयोर्क, लस एन्जलस, सिकागो र सियाटल जस्ता ठूला सहरहरूमा अझै पनि धेरै प्रयोगकर्ताले ‘भ्चचयच’ सन्देश देखिरहेका छन् । क्यानडामा पनि टोरन्टो र भ्यानकुभर क्षेत्रमा सेवा सुस्त छ । त्यहाँको समय अनुसार अहिले राति भएकाले प्रयोगकर्ताको संख्या केही घटेको देखिए पनि समस्या पूर्ण समाधान भइसकेको छैन ।
संयुक्त अधिराज्य (यूके), जर्मनी र फ्रान्समा पनि हजारौँ प्रयोगकर्ताले ‘डाउनडिटेक्टर’मा युट्युब नचलेको उजुरी गरिरहेका छन् ।
युट्युबको माउ कम्पनी गुगलले यो समस्यालाई ‘ग्लोबल इन्सिडेन्ट’ को रूपमा हेरिरहेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार यो कुनै साइबर आक्रमण नभई युट्युबको ‘ब्याक–इन्ड’ कोड अपडेट गर्दा आएको प्राविधिक त्रुटि हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया 4