News Summary
Generated by OK AI. Editorially reviewed.- दिनको समयमा सूर्यको प्रकाश वायुमण्डलमा छरिँदा नीलो रङका किरणहरू बढी फैलिन्छन् र आकाश नीलो देखिन्छ।
मौसम सफा रहेको दिनमा माथि हेर्दा आकाश चारैतिर नीलो देखिन्छ। तर बिहान सूर्योदय र साँझ सूर्यास्तको बेला यही आकाश सुन्तला, गुलाबी र रातो रङमा रङिएको जस्तो लाग्छ । के यो कुनै जादु वा चमत्कार हो ? होइन । सूर्यको प्रकाश र पृथ्वीको वायुमण्डलबीचको वैज्ञानिक अन्तरक्रियाको नतिजा हो।
आखिर दिनको फरक-फरक समयमा आकाशको रङ किन फेरिन्छ ?
आकाशको आफ्नै रङ हुँदैन
वास्तवमा आकाशको आफ्नै रङ हुुँदैन । आकाशमा हामीले जुन थरीथरी रङ देख्छौँ त्यो त वास्तवमा सूर्यको प्रकाश वायुमण्डलमा छरिँदा बनेको हो । सूर्यको प्रकाश सेतो देखिए पनि यसमा विभिन्न ७ प्रकारका मुख्य रङका किरणहरू हुन्छन् । नीलो र बैजनी रङका किरण छोटा हुन्छन् भने रातो र सुन्तला रङका किरण तरङ्ग लामो हुन्छन् ।
जब सूर्यको प्रकाश वायुमण्डलमा पस्छ तब यो नाइट्रोजन र अक्सिजनजस्ता साना ग्यासका अणुसँग ठोक्किन्छ । यी अणुले छोटो तरङ्ग लम्बाइ भएका नीलो र बैजनी रङलाई बढी तितरवितर पारिदिन्छ। यो प्रक्रियालाई रेली स्क्याटरिङ भनिन्छ।
दिनमा आकाश नीलो देखिनुको कारण
दिनको समयमा सूर्य आकाशमै माथि हुन्छ । त्यसैले सूर्यको प्रकाशले वायुमण्डलबाट कम दूरी तय गर्छ । छोटो तरङ्ग लम्बाइ भएको नीलो प्रकाश चारैतिर फैलिन्छ र हामी माथि हेर्दा यही छरिएको नीलो प्रकाश आँखामा पर्छ । यद्यपि बैजनी प्रकाश अझ बढी छरिएको हुन्छ । तर मानव आँखाले नीलो रङलाई बढी स्पष्ट देख्छ र केही बैजनी प्रकाश माथिल्लो वायुमण्डलमै अवशोषित हुन्छ । त्यसैले आकाश नीलो देखिन्छ।
सूर्योदय/सूर्यास्तमा आकाश किन रातो र सुन्तला रङमा बदलिन्छ ?
बिहान र साँझ सूर्य क्षितिज नजिक हुन्छ । यस बेला सूर्यको प्रकाशले वायुमण्डलको बाक्लो तह पार गर्नुपर्छ र दूरी धेरै गुणा बढ्छ । यस लामो यात्रामा नीलो र बैजनी प्रकाश बाटोमै धेरै छरिएर हराउँछन् । बाँकी रहने भनेको लामो वेभलेन्थ भएका रातो, सुन्तला र पहेंलो रङ हुन्, जो सिधै हाम्रो आँखासम्म पुग्छन् । त्यसैले सूर्य र वरिपरिको आकाश रातो-सुन्तला देखिन्छ ।
धुलो, प्रदूषण, पानीका थोपा र पातला बादलले यी रङलाई अझ गाढा र आकर्षक बनाइदिन्छन् । यही कारण आँधीपछि वा धुलो बढी भएका क्षेत्रमा सूर्यास्त झन् मनमोहक देखिन्छ।
वैज्ञानिकहरूका अनुसार, आकाशको बदलिँदो रङ भौतिक विज्ञान बुझ्ने सबैभन्दा सजिलो र सुन्दर उदाहरण हो । आकाशका रङ सूर्यका होइनन्, पृथ्वीको वायुमण्डलका उपहार हुन् जसले सूर्यको प्रकाशलाई ठूलो फिल्टरजस्तै छानेर हामीलाई देखाउँछ ।
एजेन्सी
प्रतिक्रिया 4