६ फागुन, बुटवल । नेपाली कांग्रेस कपिलवस्तुले पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्यायसहित १९ जनालाई पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ । पूर्वराजदूतसमेत रहेका उपाध्यायका छोरा आशिष शर्मा कपिलवस्तु-१ मा कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका छन् । त्यहाँ कांग्रेसले अतहर कमाल मुसलमानलाई आधिकारिक उम्मेदवार बनाएको छ । उनी दुई पटकका सांसद पनि हुन् ।
कपिलवस्तु कांग्रेसको जिल्ला कार्यसमितिले जिल्ला अनुशासन समितिको बैठकबाट आएको सिफारिसका आधारमा नेता उपाध्याय, छोरा आशिषसहित १९ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न पार्टीको प्रदेश र केन्द्रीय समितिमा सिफारिस गरेको हो ।
कारबाही सिफारिसमा परेकाहरूमा उपाध्यायका बाबुछोराबाहेक महासमिति सदस्यहरू राजेशबहादुर सिंह, कमल टण्डन, विष्णु न्यौपाने, कपिलवस्तु-१ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, जिल्ला सदस्यहरू हरिराज घिमिरे, कमलराज आचार्य, कपिलवस्तु-१ (क) का क्षेत्रीय सभापति दुर्गा केसी, महाधिवेशन प्रतिनिधि डोलकराम घिमिरे, कपिलवस्तु-१ (क) का क्षेत्रीय सदस्य विनोद घिमिरे, शुद्धोधन गाउँपालिका सभापति विश्वम्भर कुर्मी, मायादेवी गाउँपालिकाका सभापति शैलेन्द्रधर द्विवेदी, बाणगंगा नगरपालिका वडा नं ६ का इकाई सभापति अनिल पाण्डे, क्षेत्रीय प्रतिनिधिहरू सरजुप्रसाद चौधरी, तिलकराम पाण्डे, परमेश्वर पाठक, चर्तुभुजीमणि त्रिपाठी र मिथिला शर्मा छन् ।
पार्टीका आधिकारिक उम्मेदवारको विरोधमा उभिएको तथा अन्य उम्मेदवारलाई समर्थन गरेको प्रमाणका आधारमा कारबाही सिफारिस गरिएको कपिलवस्तु कांग्रेसले जनाएको छ ।
पार्टी विधानको धारा ३४ को उपधारा ४ (क) र (ख) बमोजिम उनीहरूलाई पाँच वर्षसम्म निष्काशन गर्ने निर्णयसहित सिफारिस गरिएको जिल्ला सचिव शक्ति सिंह ठकुरीले जानकारी दिए ।
कपिलवस्तु-१ मा नेकपा एमालेले संविधानसभा सदस्य विश्रामप्रसाद थारु, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट कृष्णबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मोहन आचार्य उम्मेदवार छन् ।
प्रतिक्रिया 4