७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘ब्लक चेन’ देखि ‘क्रिप्टोकरेन्सी’ खुला गर्नेबारे खुला सोचका साथ जाने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार कांग्रेसको प्रतिज्ञापत्रमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।
‘ब्लक चेनदेखि क्रिप्टोसम्मका सन्दर्भलाई नेपालले अब खुला सोचका साथ जानुपर्छ भन्ने सोचमा पनि स्पष्ट छौँ,’ सभापति थापाले भने ।
नेपालको पुँजी बजारलाई कसरी व्यापक बनाउने र बढी भन्दा बढी जनताले कसरी लाभ लिनसक्छन् भन्नेबारे पनि आफूले सोचेको उनले बताए ।
‘कुनै पनि व्यक्ति बाहिरबाट लगानी गर्न कुन देश जाउँ भनेर सोच्दा दक्षिण एसियामा अफगानिस्तानपछि मात्रै नेपालको नाम आउँछ । कुनै नेता आएर चटक गरेर सबै लगानी गर्न नेपाल ल्याएर आउँछु भनेर हुन्न,’ उनले भने, ‘बोलेर हुन्न । यो नीतिगत रूपमै काम गर्नुपर्छ । करको दरमा व्यापक हेरफेर गर्नुपर्ने छ ।’
नेपालमा अब १० लाखसम्म आम्दानी हुने व्यक्तिलाई एक रुपैयाँ पनि कर नलगाउने उनले घोषणा गरे । ‘व्यक्तिगत आयकरको सीमा सबैभन्दा बढी हुने देशमा पर्छ नेपाल । अब २५ प्रतिशतमा झार्छौँ,’ उनले भने । अब नेपालमा लगानीको वातावरण छ भन्ने बनाउन आफूले काम गर्ने उनले बताए ।
जनताको भान्छालाई कसरी सस्तो बनाउने ? महँगीबाट राहत भएन आम्दानीसँगै खर्च पनि बढिरहे जनतालाई राहत नमिल्ने उनले बताए ।
प्रतिक्रिया 4