७ फागुन, काठमाडौं । नेकपा एमालेले सुरक्षित यातायात र आधुनिक पूर्वाधारलाई दिगो विकास र समृद्धिको आधार आधारको रूपमा लिएको छ ।
यस अन्तर्गत एमालेले वीरगञ्ज–काठमाडौं विद्युतीय रेल, केरुङ–काठमाडौं विद्युतीय रेल र पूर्व–पश्चिम विद्युतीय रेलको सपना देखाएको छ ।
‘पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आगामी एक दशकभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिनेछौं’ बिहीबार सार्वजनिक एमालेको घोषणापत्रमा उल्लेख छ ।
अगाडि भनिएको छ, ‘वीरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्ग र केरुङ–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणका लागि पूर्वाधार तयारीको कार्य अघि बढाउनेछौं । नेपाल–भारत अन्तरदेशीय रेल मार्ग निर्माणको कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कार्यान्वयन गर्नेछौं ।’
देशको राजधानी काठमाडौंलाई तराई मधेशसँग जोड्ने द्रुतमार्ग (फास्टट्रयाक) को निर्माण निर्धारित समयभित्र सम्पन्न गर्ने पनि एमालेको प्रतिबद्धता छ ।
भारतसँग अन्तर्देशीय जलमार्गको माध्यमबाट र चीनसँग पारवहन तथा व्यापार सम्झौताबमोजिम सामुद्रिक बन्दरगाह उपयोग गरेर अन्तर्राष्ट्रिय व्यापारमा जलमार्गको पहुँच विकास गर्ने पनि एमालेको वाचा छ ।
राजमार्ग, रेलमार्ग, जलमार्ग र विमानस्थललाई एकअर्कासँग आबद्ध गर्नेगरी ‘एकीकृत मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम’को विकास गर्ने एमालेको प्रतिबद्धता छ ।
काठमाडौं–तराई/मधेस द्रुतमार्गलगायत निर्माणाधीन राजमार्गहरूको निर्माण सम्पन्न गर्ने भनिएको छ । राष्ट्रिय एकता, सामाजिक सद्भावलाई थप सुदृढ बनाउँदै सन्तुलित क्षेत्रगत विकासका लक्ष्यहरू हासिल गर्न राष्ट्रको लाइफलाइन मानिने सडक पूर्वाधारको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।
‘सबै गाउँपालिकालाई सबै मौसममा चल्ने कम्तीमा एक सडकले जोड्नेछौं,’ घोषणापत्रमा भनिएको छ, ‘जिल्ला सदरमुकाम र प्रदेश राजधानीलाई राष्ट्रिय राजमार्गमा जोड्नेछौं ।’
अब बन्ने सडकहरू कम्तीमा डबल लेनको हुने र विगतमा निर्माण भएका सिंगल लेनका सडकहरूलाई डबल लेनमा स्तरोन्नति गर्ने वाचा पनि गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्ने, मध्यपहाडी (पुष्पलाल) राजमार्गलाई डेडिकेटेड डबल लेनको स्तरमा निर्माण गर्ने, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गलाई रणनीतिक राजमार्गको रूपमा विकास गर्ने प्रतिवद्धता पनि जनाइएको छ । कोशी, गण्डकी र कर्णाली करिडोरलाई आर्थिक समृद्धिका मेरुदण्डको राजमार्गका रूपमा विकास गर्ने बाचा गरिएको छ ।
सुरक्षित, छिटो र आरामदायी यातायात सेवाका लागि सडकको गुणस्तर सुधारमा योजनाहरू केन्द्रित गर्ने योजना पनि राखिएको छ । अन्तर्राष्ट्रिय ‘रफनेस इन्डेक्स, रोड ज्योम्यट्री र रोड फर्निचर’ का उत्कृष्ट अभ्यासहरू पालना गर्दै नेपालको सडकको गुणस्तरलाई विश्वस्तरको बनाउने भनिएको छ ।
यात्रुहरूलाई सम्मानजनक व्यवहारको सुनिश्चितता गर्न, यात्रा अवधिलाई सुरक्षित बनाउन र यात्रा अवधिमा यात्रुलाई आवश्यक पर्ने पूर्व तयारीका सूचना समयमै उपलब्ध गराउन यातायात सेवाका मापदण्डहरू निर्माण गरी लागु गर्ने प्रतिबद्धता जनाइएको छ ।
सडक सुरक्षाका सबै उपायहरू अवलम्बन गरी दुर्घटना न्यूनीकरण गर्ने, सडकमा निश्चित दूरी र अन्तरालमा पेट्रोलिङ गर्ने, सुरक्षा पोष्टहरू सञ्चालन गर्ने व्यवस्था मिलाउने, जोखिमयुक्त सडक क्षेत्रमा सीसी क्यामरा जडान गर्ने र निश्चित दूरीमा ट्रमा सेन्टर सुविधाको प्रबन्ध गर्ने एमालेको प्रतिबद्धता छ ।
प्रतिक्रिया 4