News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्म उद्योगमा प्रदर्शनपछि फिल्म हलबाट उतारेर पुनः रिलिज गर्ने प्रवृत्ति बारम्बार देखिएको छ।
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान नेपाली फिल्म उद्योगमा बारम्बार देखिने एउटा प्रवृत्तिसँग ठ्याक्कै मेल खान्छ । ठूलो तामझाम, प्रचार–प्रसार र लाखौं खर्चपछि फिल्महरू हलमा रिलिज हुन्छन् । तर, रिलिज भएको केही दिनमै विभिन्न कारण देखाउँदै निर्माता आफैं पछि हट्छन् र हलबाट आफ्नो फिल्म उतार्ने निर्णय गर्छन् ।
अझ रोचक कुरा के छ भने, हलबाट उतार्ने क्रममा उनीहरू ‘सही समयमा पुनः रिलिज गर्ने’ घोषणा गर्न पनि छुटाउँदैनन् ।
हालै प्रदर्शनमा आएका फिल्महरु ‘श्री वुकुरो’, ‘शिवांश’ र ‘विगुल’ केही दिनमै हलबाट उतारिए । औपचारिक रूपमा यी फिल्मका निर्माताहरूले फरक–फरक कारण प्रस्तुत गरेका छन् । केहीले फागुन २१ को चुनावी माहोलका कारण दर्शक हलसम्म नआएको बताए, कसैले हलले उपयुक्त शो टाइम नदिएको आरोप लगाए । आरोपमा सही समयमा फिल्म नलाग्दा आफैं टिकट किनेर दर्शकलाई देखाउनुपरेको समेत भनियो ।
यी सबै कारणहरू सुन्दा एउटा प्रश्न स्वतः उठ्छ– यदि बाह्य परिस्थिति नै मुख्य कारण हो भने, त्यही समयमा प्रदर्शन भइरहेका अन्य फिल्महरू किन प्रभावित भएनन् ? अघिल्ला हप्तादेखि प्रदर्शन भइरहेका कुमारी, आ बाट आमा लगायतका फिल्म हलमा किन प्रदर्शन भइरहेका छन् त ?
यी र यस्तै जुनजुन फिल्म हलबा उतारिएका छन्, त्यस फिल्मका निर्माताले बुझ्नैपर्ने तितो यथार्थ के हो भने, दर्शकले फिल्म रुचाएनन । फिल्म निर्माणमा गरिएको लगानी, समय र मेहनेतको सम्मान गर्दै निर्माताहरूले असफलतालाई स्वीकार गर्न कठिन मान्नु स्वाभाविक हो । तर, असफलताको वास्तविक कारणलाई बेवास्ता गर्नु दीर्घकालीन रूपमा उद्योगकै लागि हानिकारक बन्न सक्ने एक दिग्गज निर्देशक बताउँछन् । ‘फिल्म निर्माणमा चुक्दा पछि हामीले अनेक कारण देखाएर हलबा निस्कनु भनेको मुतको न्यानो मात्रै हो’ उनी भन्छन् ।
नेपाली फिल्म उद्योगमा फिल्म रिलिजपछि हलबाट निकालेर पुनः रिलिज गर्ने घोषणा गर्ने प्रवृत्ति पहिले पनि पटक-पटक देखिएको हो । ‘रियाल रिंगेट’, ‘चिट्ठी’, ‘चपली हाइट ३’, ‘दिमाग खराब’, ‘सानो संसार’, ‘काँडेतार’ लगायत दर्जनौं फिल्महरूको विभिन्न कारण देखाउँदै प्रदर्शन रोकिएका थिए । तर, तीमध्ये धेरै फिल्म पुनः हलमा फर्किन सकेनन्, र फर्किएका फिल्मले पनि अपेक्षित सफलता पाउन सकेनन् । अन्ततः ती फिल्म डिजिटल प्लेटफर्म वा युट्युबमा सीमित भए । यसले स्पष्ट संकेत गर्छ– समस्या रिलिजको समय मात्र होइन, फिल्मको सामग्री, प्रस्तुति र दर्शकसँगको सम्बन्धमा पनि हुन्छ।
दर्शक आज पहिलेभन्दा वाठा छन् । धेरै सचेत र ‘चुजी’ भइसकेका छन् । प्रविधिको यो जमानामा दर्शकलाई चित्त बुझाउन निकै कठिन छ ।
कुनै समय राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी र रेखा थापा जस्ता स्टारहरूको पोस्टरकै भरमा हलमा थामिनसक्नु भीड लाग्थ्यो । दर्शकको उत्साह यति धेरै हुन्थ्यो कि ब्ल्याकमा महँगो मूल्य तिरेर समेत टिकट किन्नुपर्थ्यो । त्यो समय नेपाली फिल्म हेर्नु दर्शकका लागि मनोरञ्जन मात्र होइन, एउटा विशेष अनुभव पनि हुन्थ्यो।
तर अहिले समय बदलिएको छ । अवस्था यस्तो बनेको छ कि निःशुल्क टिकट पाउँदा पनि धेरै दर्शक हलसम्म पुग्न चाहँदैनन् । यसको मुख्य कारण प्रविधिको विकास र दर्शकको पहुँचमा आएको परिवर्तन हो । युट्युव, नेटफ्लिक्स, एमाजोन जस्ता प्लेटफर्ममार्फत दर्शकले संसारभरका बहुप्रतिक्षित फिल्म र सिरिज अत्यन्तै कम शुल्कमा, त्यो पनि घरमै बसेर, महिनौँसम्म हेर्न सक्ने सुविधा पाएका छन् ।
यस्तो अवस्थामा दर्शकले किन ५००–१०० खर्च गरेर हलमा गएर नेपाली फिल्म किन हेर्ने ? यो वास्तविकता बुझ्न सके निर्माताहरूले पछुताउनुपर्दैन ।
यदि नेपाली फिल्मका निर्माता र निर्देशकहरूले दर्शकको बदलिएको मनोविज्ञान र अपेक्षालाई मनदेखि बुझेर फिल्म निर्माण गर्न सके भने यो अवस्था नै आउँदैनथ्यो । प्रदर्शन भएका फिल्महरूले घाटा व्यहोर्नुपर्ने बाध्यता पनि कम हुँदै जाने थियो।
यदि फिल्मले दर्शकलाई आकर्षित गर्न सकेन भने, बाह्य परिस्थिति जस्तोसुकै अनुकूल भए पनि सफलता सम्भव हुँदैन । यसैकारण, सफल फिल्म र असफल फिल्मबीचको अन्तर बाह्य कारणभन्दा बढी आन्तरिक तयारी र गुणस्तरमा निर्भर हुन्छ । यिनै हलमा रातिको १ बजे विदेशी फिल्म हेरेर निस्कने दर्शक छन्, त्यो पनि हाउसफुलका साथ । नेपाली फिल्म निर्माताहरूले सधै हलवालाई सही समयमा शो नदिएको बताए पनि हलवाला व्यापार हेर्छन्, उनीहरू भावनाको व्यापार गर्दैनन् भन्ने कुरा किन बुझ्दैनन् ?
फिल्म असफल भएपछि रिलिज डेट, चुनाव, शो टाइम वा प्रचारलाई दोष दिनु सजिलो हुन्छ, तर यसले समस्या समाधान गर्दैन । वास्तविक समाधान भनेको फिल्म निर्माणको चरणमै गुणस्तर, कथा, निर्देशन, प्रस्तुति र बजार रणनीतिमा ध्यान दिनु हो ।
दर्शकलाई हलसम्म ल्याउने शक्ति त्यो फिल्मको कन्टेन्टमा हुन्छ । दर्शकलाई बाध्य पारेर होइन, आकर्षित गरेर मात्र सफलता प्राप्त गर्न सकिन्छ ।
दर्शकवाट नपत्याइएका फिल्म हलबाट उतार्नु असफलताको एउटा औपचारिक प्रतिक्रिया मात्र हो, समाधान होइन । फिल्मलाई हलमा ल्याउनु जति महत्वपूर्ण हुन्छ, त्यति नै महत्वपूर्ण हुन्छ दर्शकको मन जित्नु । दर्शकले अस्वीकार गरेको फिल्मलाई पुनः रिलिज गरेर सफलता प्राप्त गर्ने सम्भावना न्यून रहेको विगतका उदाहरण हेरे पुग्छ ।
नेपाली फिल्म उद्योगले बाह्य कारणभन्दा बढी आत्मविश्लेषणमा ध्यान दिने हो भने मात्र यस्तो प्रवृत्तिको अन्त्य हुने फिल्म समीक्षकहरू औल्याउँछन् । उनीहरू भन्छन् ‘यसो भयो भने मात्रै उद्योगले दीर्घकालीन रूपमा स्थायित्व र विश्वसनीयता हासिल गर्न सक्छ । नत्र अनेक कारण देखायो, लागेको फिल्म उतार्यो । घाटा त स्वंय निर्मातालाई हुने हो ।’
प्रतिक्रिया 4