११ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि आर्थिक सहयोग मागिन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) र सरकारबाट सहयोग नपाएको भन्दै सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमै सहयोगको अपिल गरेकी हुन् ।
नेपाललाई जित दिलाउन मैदानमा धेरैपटक लडेकी साम्बालाई उपचारका लागि सरकार र एन्फाबाट पहल हुन सकेन । जसका कारण उनी सार्वजनिक रुपमा आर्थिक सहयोगको अपिल गर्न बाध्य छिन् । एन्फा प्रवक्ता सुरेश शाह त्यस विषयमा छलफल गर्न लागिएको भन्दै तर्किए ।
युरोपेली लिगदेखि अस्ट्रेलियाको निन्जा ए–लिगसम्म नेपाली फुटबललाई चिनाउने खेलाडी हुन्, साम्बा । गत वर्षको कात्तिकमा भारतविरुद्ध घरेलु मैदानमा हार नजिक पुगेको नेपाललाई बराबरीमा फर्काउँदै जित निकाल्ने खेलाडी हुन्, साम्बा । नेपाली महिला टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्, उनी ।
कयौंपटक नेपालको जितमा निर्णायक गोल गर्ने खेलाडी पनि हुन् । तर, उनै साम्बा घाइते हुँदा राष्ट्र र एन्फाले केही दिन सकेन । र उनी आफ्नो उपचारका लागि सार्वजनिक रुपमा सहयोगको याचना गर्न बाध्य छिन् ।
राष्ट्रिय टोलीकी कप्तानले उपचारका लागि सार्वजनिक रुपमा अपिल गर्नुपर्ने अवस्था आउनु दुखद रहेको नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा बताउँछन् ।
‘सावित्राको योगदानलाई ५ लाखमा मुल्यांकन गर्नु दु:खद कुरा हो,’ उनी भन्छन्, ‘आफू विदेश घुम्न जाँदा हुँदा ५०–६० लाख खर्च गर्ने तर, खेलाडी घाइते हुँदा उपचार खर्च नदिने कस्तो नेतृत्व ?’

साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको कारण जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था छ । त्यसको उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने साम्बाले लेखेकी छन् । तर, एन्फाले ५ लाख रुपैयाँ मात्र सहयोग गर्न सक्ने प्रतिक्रिया दिएको साम्बाले बताइन् । सरकारी प्रक्रियासमेत अपेक्षा गरेअनुसार अघि बढ्न नसकेको साम्बाले दुखेसो गरिन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रामचरित्र मेहता साम्बालाई डकुमेन्ट पेस गर्न भनेको भएपनि अहिलेसम्म आइनपुगेको बताउँछन् । ‘डकुमेन्ट ल्याएर हाम्रोमा दिनु भएको हो । एक लाखसम्म सहयोग गर्ने मैले सोचिराखेको छु,’ उनले भने, ‘डकुमेन्ट नै आएको छैन ।’
अहिले नेपालमा खेलाडी उपचार नपाएर बस्नुपर्ने अवस्था नभएको सदस्य सचिव मेहताको दाबी छ । उनी भन्छन्, ‘खेलाडी उपचार नपाएर बस्नुपर्ने अवस्था छैन । खेलाडी बिमामार्फत हुन्छ । रातो किताबमै समावेश भएर आएको छ ।’

त्यसबारे कुनै जानकारी नआएको युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रमेश ढकालले जानकारी दिए । उनले आएपछि मात्रै के गर्ने भन्नेबारे छलफल हुने उल्लेख गरे ।
खेलाडीको नाममा फिफाबाट अर्बाैं बजेट ल्याउने र आफ्नो अनुकूलका विषयमा खर्च गर्ने परम्परा एन्फामा नयाँ होइन । नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘ए’ डिभिजन लिग सञ्चालन नभएको ३ वर्ष हुन लाग्यो ।
‘ए’ डिभिजन लिग गर्न नसकेको एन्फाले भने पदाधिकारीको तलब बढाउन पछि पर्दैन । कार्यकाल नसकिँदै आफ्नो फाइदाका लागि अधिवेशन गरेर खर्च गर्न पछि नहट्ने एन्फाले देशका लागि खेल्ने खेलाडीको उपचार गर्न भने वेवास्ता गर्छ ।
एन्फाभित्र क्लबको लागि खेल्दा चोट लागेको भनेर तर्किन खोजेको साम्बाले उल्लेख गरेकी छन् । आफू आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको उनले बताएकी छन् ।
उनीमात्र होइन, देशका लागि खेल्ने कयौं खेलाडीहरु घाइते भएपछि पुन: खेलमा फर्किन सकेका छैनन् । देशले खेल्नेबेला मात्रै हेर्ने र घाइते हुँदा उपचारमा वास्ता नगर्दा खेलाडीहरुको बिचमै खेल जिवनलाई अन्त्य हुने गरेको छ । देशको नेतृत्व गरिसकेकी साम्बाको उपचारमा एन्फाले किन सहयोग गर्न सकेन ? साम्बाको उपचारमा सहयोग गर्नु सरकारले जिम्मेवारी होइन ? देशलाई नेतृत्व गरेको कप्तानले नै उपचारमा सहयोग नपाएर सार्वजनिक रुपमा अपिल गर्नुपर्ने अवस्था भएको नेपालमा अन्य खेलाडीको हालत कस्तो होला ? त्यसबारे सम्बन्धित निकायले नै जवाफ देला ।
प्रतिक्रिया 4