+
+
Shares
स्थलगत :

महोत्तरी–२ : १९ पटक मन्त्री बने शरतसिंह, उनकै घरअघिको बाटो छ धुलाम्मे

२०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन जितेर पहिलोपटक सत्तामा प्रवेश गरेका भण्डारी १९ पटक मन्त्री भइसकेका उनी मधेश केन्द्रित राजनीतिमा अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिन्छन् । तर, भण्डारीको आफ्नो घर अगाडिकै सडक अहिलेसम्म पक्की हुन सकेको छैन ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ फागुन १४ गते १५:४५

१४ फागुन, जनकपुरधाम । धुलाम्मे अव्यवस्थित कच्ची सडकको छेउमै बुधबार दिउँसो घरअगाडि उभिएकी महोत्तरीको बलवा नगरपालिका–७ बनौटाकी ६५ वर्षीया सुमित्रा देवी महतो निराश सुनिइन् ।

‘कयौँपटक मत खसाएँ, तर हाम्रो घरअगाडिको बाटो समेत बनेन । हेर्नुस् बाटो,’ उनले धुलाम्मे सडक देखाउँदै भनिन् ‘अहिले धुलो उड्छ, वर्षामा डुबान हुन्छ । सास्ती झेल्नु पर्छ ।’

उनको दक्षिण छेउमै छ, बलवाका मेयर राम विजय महतोको घर । तर पनि उनले विकासको अनुभूति गर्न सकेकी छैनन् । यो महोत्तरी क्षेत्र नं. २ की मतदाता महतो विगतमा प्रतिनिधिसभामा समेत जितेर गएका जनप्रतिनिधिले काम नगरेकाले यसपटक मत परिवर्तन गर्ने मनस्थितिमा पुगेकी छन् ।

महोत्तरी क्षेत्र नं. २ बाट हाल जसपा नेपालका शरतसिंह भण्डारी दुईपटक निरन्तर चुनाव जितेका छन् । उनी नेपालमै सर्वाधिक १९ पटक मन्त्री बनेका नेता हुन् । यस बेला उनी जसपा नेपालबाट यस क्षेत्रमा तेस्रो पटक चुनावी दौडमा छन् ।

सुमित्रा देवी महतो

यस क्षेत्रमा नेपाली कांग्रेसकी किरण यादव, नेकपा एमालेका कासिम नदाफ र राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार साह, नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणकुमार यादव, जनमत पार्टीका जयकुमार पाण्डेय, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामलखन साह कानुसहित दल र स्वतन्त्र गरी ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।

बुधबार नै बनौटा भन्दा पाँच किलोमिटर पूर्वमा पर्ने लोहारपट्टी नगरपालिका २ बगडा टोलमा दिउँसो १ बजे तिर जसपा नेपालका उम्मेदवार भण्डारी घरदैलो गर्दै गर्दा उत्साहित देखिन्थे । उनलाई कतिपय मतदाता घरबाटै निस्केर उल्टै खुट्टा ढोग्ने गरेको देखिए ।

तर, केही बेरपछि गाउँको छेउमै भेटिएका स्थानीय कृषक कृष्ण साह उस्तै निराश सुनिए । विगतमा पटक पटक मत दिएर जितेर गएका सांसदको भूमिकाबाट असन्तुष्ट उनी यसपटक मत खसाल्ने मनस्थितिमै नरहेको हामीलाई सुनाए ।

‘यसपटक त मत हाल्ने मन नै छैन । जितेपछि फर्केर आउँदैनन्, न कुनै काम गर्छन्  ?’ साँझ गाउँकै छेउमा भेटिएका साह दिक्दार देखिए ।

कृष्ण साह

कृषि पेशामा आबद्ध उनको निराशाको मुख्य कारण हो, सिंचाई अभाव । भंगहा नगरपालिका–९ धर्मपुरबाट आउने पैनीबाट चार वर्षअघिसम्म खेतमा सिंचाइ हुन्थ्यो । तर सडक निर्माणका क्रममा पैनी पुरिएपछि सिंचाइ पूर्ण रूपमा बन्द भएको छ ।

‘खेतीका लागि सिंचाइ छैन । धर्मपुरबाट आएको पैनी सडक बन्दा पुरियो । त्यसलाई सञ्चालन गर्न विगतमा जितेकाहरूले केही गरेनन्,’ उनी दु:खी हुँदै भने । जितेकाले आफ्ना केही आसेपासेलाई मात्र बोरिङ बाडेको उनको भनाइ छ ।

त्यहाँबाट चार किलोमिटर पश्चिममा खेतमै खेतमा सिंचाई गरिरहेका थिए बलवा नगरपालिका–११ रौजाका रामकिशोर राउत । तर सिंचाइमा अत्यन्त कम पानी आउँदा उनलाई एक कठ्ठा जग्गा सिंचाइ गर्न दिनभर लाग्छ ।

सय मिटर टाढा रहेको खेतमा उनले धेरैअघि निजी लगानीमा गाडेको डेढ इन्चको स्यालो ट्युबेलबाट एकदमै कम पानी आउँछ । त्यसैबाट उनी जेनतेन खेती गरिरहेका छन् ।

‘हेर्नुस्, राम्रो सिंचाइ छैन । यही स्यालो ट्युबेलको भरमा खेती टिकाइरहेका छौँ,’ उनले भने ‘पानी नै आउँदैन दिनभरि सिंचाइ गरे भने एक कठ्ठा जति पट्छ ।’

११ कठ्ठा खेतमध्ये करिब दुई कठ्ठा बाँझै रहेको बताउँदै उनले सबै खेतमा स्यालो ट्युबेलबाट सिंचाइ सम्भव नहुने समस्या सुनाए । मलखादको अभाव पनि अर्को ठूलो समस्या रहेको उनको भनाइ छ ।

महोत्तरी क्षेत्र नं. ४ मा पर्ने औरही नगरपालिका २ मा पर्ने भण्डारीको घर अगाडिको बाटो अहिले पनि साँघुरो, कच्ची र अस्तव्यस्त छन् । त्यो सडकले नै उनको राजनीतिक विरासतलाई गिज्याइरहेको छ ।

‘किसान सधैँ दु:खी छ—न सिंचाइ, न समयमा मलखाद । अहिलेसम्म जितेर जाने कोही पनि किसानको समस्याप्रति गम्भीर देखिएन,’ उनले गुनासो गरे ।

गाउँछेउमा बाख्रा चराइरहेका भंगहा नगरपालिका–९ पडरियाका ५५ वर्षीय झगरु नदाफलाई चुनावले खासै छोएको छैन ।

‘न शिक्षा राम्रो छ, न स्वास्थ्य सेवा । सडकबाटोमा उस्तै धुलो उडिरहेको छ । चुनाव त आउने–जाने भइरहन्छ,’ भन्दै उनले दिक्दारी पोखे । सिंचाइ नहुँदा यसपटक महोत्तरीका किसानले ठूलो खडेरीको सामना गर्नुपर्‍यो ।

झगरु नदाफ

भण्डारी ४४ वर्षदेखि निरन्तर उम्मेदवार रहँदै आएका छन् । २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन जितेर पहिलोपटक सत्तामा प्रवेश गरेका भण्डारी १९ पटक मन्त्री भइसकेका उनी मधेश केन्द्रित राजनीतिमा अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।

तर, भण्डारीको आफ्नो घर अगाडिकै सडक अहिलेसम्म पक्की हुन सकेको छैन । महोत्तरी क्षेत्र नं. ४ मा पर्ने औरही नगरपालिका २ मा पर्ने उनको घर अगाडिको बाटो अहिले पनि साँघुरो, कच्ची र अस्तव्यस्त छन् । त्यो सडकले नै उनको राजनीतिक विरासतलाई गिज्याइरहेको छ ।

भण्डारीलाई नयाँ र पुरानाको चुनौती

दुईपटक लगातार विजयी भई तेस्रोपटक चुनावी मैदानमा उत्रिएका भण्डारीलाई यसपटक नयाँ र पुराना दुवै प्रतिस्पर्धीहरूले चुनौती दिइरहेका छन् । कांग्रेसकी यादव र एमालेका नदाफ उनका पुराना प्रतिस्पर्धी हुन् । भण्डारी यसपटक आफ्नो ‘अन्तिम निर्वाचन’ भन्दै मतदातासँग समर्थन मागिरहेका छन् ।

२०७९ सालको निर्वाचनमा लोसपाबाट उम्मेदवार बनेका भण्डारी पाँच दलीय गठबन्धनको समर्थनमा फराकिलो मतान्तरले विजयी भएका थिए ।

उनले २५ हजार १९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंह ११ हजार १२० मतमा सीमित भए । एमालेका उम्मेदवार रामपरीक्षण यादवले १० हजार २५८ मत ल्याएका थिए ।

त्यसभन्दा अघिल्लो २०७४ सालको निर्वाचनमा राजपा नेपालबाट उम्मेदवार बनेका भण्डारी संघीय समाजवादी फोरम नेपालको गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

केही समयअघि मात्र मधेशमा भएको लामो आन्दोलनप्रति जनतामा देखिएको सहानुभूतिका कारण उनले कांग्रेसकी किरण यादवलाई १६ हजार ७४८ मतको फराकिलो अन्तरले पराजित गरेका थिए ।

त्यस निर्वाचनमा भण्डारीले ३० हजार ७२२ मत प्राप्त गर्दा यादव १३ हजार ९७४ मतमा सीमित भएकी थिइन् । सोही निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कासिम नदाफले मात्र ३ हजार मत प्राप्त गरेका थिए । यी दुवै उम्मेदवार यसपटक पनि चुनावी मैदानमा छन् ।

२०७९ को निर्वाचनमा यस क्षेत्रमा कांग्रेस पाँच दलीय गठबन्धनमा रहेकाले भण्डारीलाई नै सहयोग गरेको थियो । त्यसले जित निकाल्न भण्डारीलाई सहज भएको थियो ।

विगतको जस्तो गठबन्धन यसपटक छैन । यद्यपी केही महिना अघि मात्र जसपा नेपालसँग एकता गरेर त्यसमै भण्डारी आवद्ध दल लोसपा समाहित भएको छ । तर २०७४ मा जस्तो मधेश आन्दोलनको प्रभावको सहानुभूति यसपटक देखिँदैन ।

त्यसका अलावा यसपटक कांग्रेसको नेतृत्व परिवर्तनसँगै स्थानीय तहमा देखिएको आन्तरिक विवाद साम्य छ । यो कांग्रेसको आधार इलाका पनि मान्ने गरिन्छ । नयाँ दलको नाममा रास्वपामा देखिएको राजनीतिक लहरले भण्डारीलाई थप चुनौती दिएको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?