घोराही । दाङ क्षेत्र नम्बर २ को चुनावलाई शंकर पोखरेलको पुनरागमनले जति रोचक बनाएको छ, त्यसमा अरु रोचकता थपिएको छ किरणकिशोर घिमिरे र विपिनकुमार आचार्यको आगमनले ।
यी तीन दंगालीबाहेक नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्य लगायत अरु पनि उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । तर यसअघि उठ्दै जित्दै हार्दै गरेका पोखरेलका लागि यो चुनाव साँचो अर्थमा निर्णायक छ ।
थुप्रै स्थानीयका अनुसार उनी यसपल्ट सफल हुन नसकेमा संसदीय राजनीतिमात्रै होइन, पार्टी राजनीतिकै भविष्यसमेत अनिश्चयको आँधीमा हेलिन सक्ने छ ।
०७९ सालमा कांग्रेससँगको गठबन्धनबाट उठेकी तत्कालीन माओवादीकी रेखा शर्मासँग शंकर पोखरेल केवल १९३ मतको झिनो अन्तरले पराजय भोगेका थिए । यो सामान्य चुनाव हुन्थ्यो भने उनका सामू विगतकै मत जोगाउन सकेमात्र पनि जित्ने सम्भावना धेरै हुने थियो । केन्द्रमा प्रभावशाली नेता भएकाले उनी जित्दा दाङले विकास पाउँछ, पोखरेल जस्ता नेता चाहिन्छ भन्ने सोच राख्नेहरु अझै पनि यो जिल्लामा थुप्रै भेटिन्छन् ।
तर यही बीचमा आइदियो जेनजी आन्दोलन, जसको आक्रोशको केन्द्रमा केपी शर्मा ओली छन् । उनको दह्रो सारथि भएकाले पोखरेलप्रति समेत यो आक्रोश लक्षित देखिन्छ । घोराहीका मुख्य बजार क्षेत्रमा विरोधबाजीका नाराहरु लेखिएका छन्, जसलाई सहजै उपेक्षा गर्न एमालेलाई सहज छैन ।
त्यस अर्थमा शंकर पोखरेलको प्रतिस्पर्धा अरु उम्मेदवारविरुद्ध होइन, एमालेका आफ्नै आन्तरिक नीतिहरुविरुद्ध हुने पक्कापक्की देखिन्छ । ‘प्रविधिको दुरुपयोग गरेर डिप स्टेटले अराजकता मच्चायो,’ यो अन्तर्वार्तामा उनले प्रतिरक्षा गर्न छाडेका छैनन् । एउटै व्यक्तिलाई पुननिर्वाचित गरिराख्नुको मूल्य कति महँगो पर्न सक्छ, उनले आत्मसमीक्षा गर्न नखोजेजस्तो प्रतीत भने हुन्छ ।
त्यसैले बरु यो प्रतिस्पर्धा कुनै गठबन्धनविरुद्ध भएको भए सायद उनका लागि सहज हुने थियो । उनी त आफ्नै एमालेको सोचाइको बन्धनमा फसिरहेका देखिन्छन् । उनी यो बन्धनबाट कत्तिको बाहिर निस्कन सके त ? सोमबार अनलाइनखबरसँग दाङको घोराहीमा गरिएको यो झन्डै एक घन्टा लामो वार्ता सुनौं ।
पोखरेलसँग स्वाभाविक प्रतिस्पर्धामा हुनसक्ने पार्टी हो नेपाली कांग्रेस, जसको हल्लालाई चिर्दै रास्वपा यतिखेर दाङ २ मा अग्रणी भागमा देखिन थालेको छ । रास्वपाको कुरा एकैछिनमा । त्यसभन्दा पहिले कांग्रेस उम्मेदवार किरणकिशोर घिमिरेको कुरा गरौं ।
किरणकिशोर घिमिरे प्रज्ञा, विनयशीलता अनि सामुदायिक घुलनलिता सबैमा अब्बल देखिन्छन् । अझ कांग्रेसले बिर्सन खोजिरहेको अर्थसामाजिक बाटोलाई किरणकिशोर यस्तरी बुझाउँछन् कि उनका तर्कहरुलाई उपेक्षा गर्न सम्भव नै छैन ।
प्रजातान्त्रिक समाजवादबाट सामाजिक लोकतन्त्रतर्फ फड्कन खोजिरहेको कांग्रेसमा प्रदीप गिरिका चेलाभुलाजस्ता लाग्ने यी किरणकिशोरले बनाउन खोजेको सानो अर्थतन्त्र, अनि त्यसमा प्रकट हुने गाउँमुखी सोच छलफलयोग्य छन् ।
किरणकिशोरका दाजु कृष्णकिशोर र कमलकिशोर घिमिरे दुवैसँग शंकर पोखरेलले क्रमश: ०५६ र ०७४ मा प्रतिस्पर्धा गरिसकेका छन् । कृष्णकिशोरसँग शंकर पराजित थिए । कमललाई भने ०७४ को प्रदेशसभा चुनावमा हराएर शंकर लुम्बिनीको मुख्यमन्त्री बने ।
यसै क्रममा आइपुगे किरणकिशोर । एकाघरका उम्मेदवार पाउँदा–पाउँदा कांग्रेस समर्थकलाई थकान लागेको पनि हुन सक्छ । दाजुहरुको भाइ भएका कारण पनि किरणकिशोरलाई कसैले कम आँकेको छ भने त्यो चाहिँ गलत सावित हुनेछ ।
अनलाइनखबरले मंगलबार बिहान घोराहीमा लिएको अन्तर्वार्तामा किरणकिशोरले साँचो अर्थमा आफूलाई प्रमाणित गरेका छन् । चाहे आर्थिक मुद्दामा होस् या राजनीतिक, स्थानीय गाउँ देहातको मुद्दामा होस् या अन्तर्राष्ट्रिय कूटनीति, किरणकिशोरका सोचहरु सुन्न कामलाग्दा छन् भन्ने अनुभूति हुन्छ ।
यसअघि माओवादी उम्मेदवारलाई सघाएको कांग्रेसका लागि रुख चिह्न लिएर उम्मेदवार पठाउने सुविधा त प्राप्त भयो । त्यो अवसर किरणले कत्तिको प्रयोग गर्लान्, हेर्न बाँकी छ । अहिलेलाई यो अन्तर्वार्ता सुनौं ।
अब लागौं, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यतर्फ । उसो त रास्वपाभित्र जसको जे पद बाँडफाट भए पनि व्यावहारिक अभ्यासमा एउटै पद छ, त्यो हो रवि लामिछानेको सभापति पद । अरु पद भनेका प्रशासनिक भूमिकाका लागि मात्रै हुन् । साढे तीन वर्षअघि खुलेको दलको महाधिवेशन हुन बाँकी छ ।
तर ४० वर्ष पुग्न लागेका विपिनले लिएको सहमहामन्त्री पद चाहिँ अलिक बेग्लै पद हो । ग्यालेक्सी टिभीकालमा रविका बलिया सारथि बनेका विपिन रास्वपा स्थापनाको एक आर्किटेक्ट हुन् । उनीसमेतको जोडबलमा रविले पार्टीलाई छिटो स्थापित गर्न सके ।
यसरी भन्न सकिन्छ, राष्ट्रिय राजनीतिमा रविका जे सबलता हुन्, ती विपिनका पनि सबलता हुन् । रविका जे दुर्बलता हुन्, विपिनका पनि दुर्बलता हुन् ।
रविलाई पछिल्ला वर्षहरुमा सर्वाधिक विवादमा तान्ने सहकारी ठगी प्रकरणमा विपिन सम्बद्ध कम्पनीको नाम पनि जोडिन्छ । अदालतका मुद्दा, संसदीय समितिका प्रतिवेदनमा उनीसम्बद्ध नोबडी प्रोडक्सन उल्लेख छ ।
यो अन्तर्वार्तामा विपिनले आफ्नो पक्षको प्रतिवाद गर्ने कोसिस गरेका छन् ।
प्रष्टै देख्न सकिन्छ, आज रास्वपा राष्ट्रिय राजनीतिमा अब्बल प्रमाणित गर्न कस्सिएको छ । काठमाडौंका पूर्वमेयर बालेन शाहलाई भित्राएर रविले नयाँ प्रयोगतर्फ आफूलाई होम्दै गर्दा दाङ २ मा विपिन लड्न आएका छन् । गृहजिल्ला फर्केर उनले दिएको उम्मेदवारीका बारेमा विपिनले यो अन्तर्वार्तामा आफूलाई भविष्यमुखी र युवामुखी सोचको पक्षमा उभ्याएका छन् । कृषि र रोजगारीका एजेन्डामा आफ्नो झुकाव देखाएका छन् ।
सोमबार अपराह्न लिइएको यो अन्तर्वार्तामा अनलाइनखबरका प्रश्न झेल्न किरणकिशोर जति सहज देखिन्छन्, शंकर अलिक कम । शंकर जति मात्रामा सहज देखिन्छन्, विपिन त्योभन्दा अझै कम । विपिन आफ्ना कुरालाई सकेसम्म सिधा राख्न कोसिस गर्छन् । तर राजनीतिक प्रश्नका राजनीतिक जवाफ कम दिन्छन् । प्रश्नभित्र सन्निहित प्राविधिक पक्षको सम्बोधनतर्फ उनको रुचि बढ्ता देखिन्छ ।
दाङमै जन्मेहुर्के पनि विपिन स्थानीयमा कम भिजेजस्तो अनुभूति हुन्छ । तर उनलाई घन्टी चिह्न लिएर मतदातासामू पुग्ने सुविधा छ । पार्टीको स्थानीय पंक्ति परिचालनमा अझै पनि कहीँ न कहीँ खाली भाग देखिन्छ । एमाले र कांग्रेसभन्दा नयाँ पार्टी, अनि संगठन भएकाले यो स्वभाविक हो । तर विपिन घन्टीप्रति बढ्दो जनलहरलाई आफ्नो हितमा प्रयोग गर्न चाहिरहेका छन् ।
अघिल्लोपल्ट एमालेले प्रत्यक्षतर्फ झन्डै २७ हजार मत पाउँदा रास्वपाले १६ हजार नजिकको मत पाएको थियो । जेनजी आन्दोलनको पृष्ठभूमिले विपिनलाई साथ दिएको छ । त्यसैले यसअघिको चुनावी अंकगणितले दाङमा काम नगर्न पनि सक्छ ।
अनलाइनखबरले भन्ने गरेको छ, ‘छान्नुअघि जान्नुहोस्’ । यो हामीले उम्मेदवारहरुको परिचय छाप्ने सन्दर्भमा प्रयोग गरेको ट्यागलाइन हो । तपाईं दाङ २ को मतदाता हुनुहुन्छ भने यी तीन उम्मेदवारमध्ये कसैलाई छान्नुअघि जान्नुहोस् ।
सबै उम्मेदवारको अन्तर्वार्ता लिन सम्भव भएन । हामीले विगतको तुलना र प्रतिस्पर्धा गर्ने क्षमता तथा संकेतका आधारमा शंकर, किरण र विपिनलाई अन्तर्वार्ता गरेका छौं । नेकपाका निर्मल आचार्य लगायत उम्मेदवार त्यहाँ छँदै छन् । अहिलेलाई प्रस्तुत छ, यी तीन अन्तर्वार्ता–
– आभास बुढाथोकीको सहयोगमा
– फोटो/भिडियो : चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4