+
+
Shares

बेलायतको वर्क भिजामा गिरावट

आप्रवासन नियमहरूमा भएको आमूल परिवर्तनले वर्क भिजा रुटमार्फत बेलायत आउने कामदारको संख्यामा ठूलो गिरावट देखिएको छ ।

नवीन पोखरेल नवीन पोखरेल
२०८२ फागुन १५ गते ६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतले २०२५ मा जारी गरेको वर्क भिजा संख्या अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले घटेको गृह मन्त्रालयले जनाएको छ।
  • विदेशी नर्सहरूको आगमन तीन वर्षमा ९३ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।
  • अवैध मार्गबाट बेलायत प्रवेश गर्ने संख्या २०२५ मा ७ प्रतिशतले वृद्धि भएको छ।

१५ फागुन, लन्डन । कठोर अध्यागमन नियमका कारण बेलायतको वर्क भिजामा गिरावट आएको छ ।

अघिल्लो वर्षको तुलनामा डिसेम्बर २०२५ सम्म बेलायतले जारी गरेको वर्क भिजा संख्या १९ प्रतिशतले घटेको सरकारी तथ्यांकले बिहीबार देखाएको छ ।

गृह मन्त्रालय (होम अफिस) ले सार्वजनिक गरेको नयाँ तथ्यांकमा बेलायतले २०२५ मा एक लाख ६८ हजार वर्क भिजा जारी गरेको देखाएको छ, जुन २०२४ भन्दा १९ प्रतिशत र २०२३ को तुलनामा झण्डै ५० प्रतिशत न्यून हो ।

हेल्थ एण्ड केयर रुटमा वर्क भिजा संख्या आधा घटेको छ भने अन्य दक्ष कामदार भिजा संख्यामा ३६ प्रतिशत गिरावट आएको तथ्यांक छ ।

गत वर्ष आप्रवासन नियमहरूमा भएको आमूल परिवर्तनले वर्क भिजा रुटमार्फत बेलायत आउने कामदार संख्यामा ठूलो गिरावट ल्याएको हो ।

कामदारहरुको वार्षिक तलब सीमा उच्च, आरक्यूएफ लेभल ६ (ग्रयाजुएट लेभल) जागिर र बी २ लेभल अंग्रेजी अनिवार्य जस्ता शर्त राखिंदा यसमा गिरावट आएको पाइएको छ ।

डिसेम्बर २०२५ सम्म एक वर्षमा कुल १३ हजार १७७ हेल्थ एण्ड केयर भिजा प्रदान गरिएको थियो । यो अघिल्लो वर्ष जारी गरिएका २६ हजार ९२२ भिजाको तुलनामा आधा भन्दा कम हो ।

सबैभन्दा उच्च तहमा पुगेको वर्ष सन् २०२३ मा एक लाख ४५ हजार ८२३ हेल्थ एण्ड केयर भिजा जारी भएको थियो ।

गृह मन्त्रालय (होम अफिस) का अनुसार खासगरी खाद्य र आतिथ्य क्षेत्रमा काम गर्न आउन स्किल्ड वर्क भिजा आवेदनमा बढी गिरावट आएको छ ।

लन्डनस्थित अध्यागमन सोलिसिटर राजु थापा अचेल बेलायतको दक्ष कामदार भिजाका लागि तलब सीमा (थ्रेसहोल्ड) वार्षिक ४१ हजार ७ सय पाउण्ड, बी २–स्तरको अंग्रेजी भाषा परीक्षा उत्तीर्ण र आरक्यूएफ लेभल ६ (ग्राजुएट लेभल) जब अनिवार्य बनाइएकाले पनि वर्क भिजा आवेदन घटेको बताउँछन् ।

विगत सरकारहरु जस्तै लेबर पनि पछिल्लो समय आप्रवासन संख्या कटौतीमा सक्रिय भइरहेको छ ।

‘एक त रोजगारदातालाई वार्षिक त्यति उच्च तलब दिएर कामदार झिकाउन सम्भव छैन । अर्को कुरा ग्राजुएट लेभल कामको सीमितता र आवेदकले उत्तीर्ण गर्नुपर्ने अंग्रेजी भाषा परीक्षा आदि कारण पनि वर्क भिजातर्फ आकर्षण घट्दै गएको देखिन्छ’, थापाले अनलाइनखबरसँग भने ।

सोलिसिटर थापाका अनुसार, सरकारले बेलायतको पीआर पाउने अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्‍याउने प्रस्ताव गरिसकेकाले पनि धेरैमा अन्यौल छ ।

सन् २०२२ जनवरीमा अध्ययनका लागि लन्डन आएकी रोशनी थापाले केही महिनापछि वर्क भिजा लिएकी थिइन् । तीन वर्ष यता वर्क परमिटमा रहेर फूलटाइम काम गरिरहेकी उनी यस रुटमा फाइदा बेफाइदा दुवै भएको बताउँछिन् । ‘जागिर सुरक्षा र कमाइ हिसाबले वर्क भिजा राम्रो छ । तर, ५ वर्षसम्म एउटै कम्पनी वा रोजगारदातासँग टिकेर काम गर्न भने सहज छैन’, उनले भनिन्, ‘वर्क भिजामा रहेपछि कतिपय रोजगारदाताले आफू अनुकुल बढी घण्टा काम लगाउने र होलिडे वा अन्य सेवा सुविधा कम दिने गर्छन् । यसका अलवा कम्पनीको लाइसेन्स बीचमै रद्द हुने हो कि भन्ने चिन्ताले पिरोलिइरहन्छ ।’

वर्तमान सत्तारुढ लेबर सरकार नाइजेल फराजको लोकप्रियतावादी पार्टी रिफर्म यूकेबाट तीव्र दबाबमा छ । आप्रवासी नियन्त्रण गर्न कठोर देखिएको रिफर्म यूकेले यही मुद्दा अगाडि सारेर सन् २०२९ अगष्टको आमनिर्वाचनमा उल्लेख्य नतिजा हासिल गर्ने सर्वेक्षणले बताइरहँदा प्रधानमन्त्री किअर स्टारमर अहिले अध्यागमन नियम कडाइतिर उन्मुख छन् । विगत सरकारहरु जस्तै लेबर पनि पछिल्लो समय आप्रवासन संख्या कटौतीमा सक्रिय भइरहेको छ ।

विदेशी नर्स आगमन पनि घट्यो

विदेशी नर्सहरु आगमन हुने क्रम घटेपछि बेलायतका अस्पताल र केयर होमहरु गम्भीर संकटमा पर्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

गृह मन्त्रालयको तथ्यांकले तीन वर्षमा बेलायत आउने विदेशी नर्सहरूको संख्या ९३ प्रतिशतले घटेको देखाएको छ । सन् २०२२ मा २६ हजार १०० विदेशी नर्स आएकामा २०२५ मा केवल एक हजार ७ सय ७७ विदेशी नर्सहरूलाई मात्र वर्क भिजा दिइएको थियो ।

तर, अवैध मार्गहरूबाट बेलायत भित्रिने आप्रवासीको संख्या भने वृद्धि भएको छ । तथ्यांक अनुसार, डिसेम्बर २०२५ मा एक वर्षभित्र ४६ हजार ४९७ जना इलिगल (अवैध) रुटबाट बेलायत छिरेका थिए जुन अघिल्लो वर्षभन्दा ७ प्रतिशत वृद्धि हो । अवैध मार्गबाट आउनेमध्ये ८९ प्रतिशत साना डुंगाहरूमा चढेर आएका थिए ।

यस अवधिमा एक लाख ६२५ जनाले असाइलम (शरणार्थी) भिजाको निवेदन दिएका छन् जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत कम हो ।

बेलायतबाट जबरजस्ती निस्कासन गरिएकाको संख्या २१ प्रतिशतले बढेर ९ हजार ९०० पुगेको छ ।

लेखक
नवीन पोखरेल

नवीन पोखरेल अनलाइनखबरका लागि बेलायतका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?