+
+
Shares

इरानी सर्वोच्च नेता खामेनी, जो इजरायल र अमेरिकाको निसानामा छन्

ट्रम्पले भनेका थिए, ‘कथित सर्वोच्च नेता कहाँ लुकिरहेका छन् भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । उनी एक सजिलो निसाना हुन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि नयाँ आक्रमणको श्रृङ्खला सुरु गरेका छन् जसले आणविक वार्ता अवरुद्ध भएको छ।
  • आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीसँग जोडिएका स्थानहरू पनि लक्षित भएका छन्।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सरकार उल्ट्याउन आह्वान गर्दै आक्रमणले राजनीतिक नेतृत्वको अन्त्य गर्ने उद्देश्य राखेको बताए।

१६ फागुन, काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमणको नयाँ श्रृङ्खला सुरु गरेका छन् । आक्रमणसँगै इरानको आणविक कार्यक्रमका सन्दर्भमा भइरहेको वार्ता पुनः अवरुद्ध भएको छ । यस सैन्य कारबाहीले इरानको सुरक्षा संरचना र नेतृत्व प्रणालीलक्षित गर्ने प्रयासहरूका बारेमा विभिन्न प्रश्नसमेत उब्जाएको छ ।

शनिबार इरानको राजधानी तेहरानमा लक्षित गरिएका क्षेत्रमध्ये इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीसँग जोडिएका स्थान पनि रहेका छन् । आक्रमणमा इरानको उच्च नेतृत्व र सुरक्षा संरचनालाई प्रत्यक्ष प्रभाव पारेको छ ।

अमेरिका–इजरायलको आक्रमणपछि तेहरानस्थित खामेनीको सुरक्षित कम्पाउन्डमा देखिएको क्षति । खानेमीलाई भने त्यहाँबाट सुरक्षित स्थानमा सारिएको भनिएको छ । तस्वीर साभार : अल जजीरा

आक्रमण कहाँ-कहाँ भयो ?

इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिका र इजरायलका आक्रमणहरू राजधानी तेहरानका विभिन्न क्षेत्रसहित देशभर भएका छन् । इरानको तासनिम समाचार एजेन्सीले जनाएअनुसार तेहरानको उत्तरमा रहेको सेमिरानमा अवस्थित राष्ट्रपतिको कार्यालय नजिकैको क्षेत्र र सर्वोच्च नेता खामेनीको निवास परिसर नजिकै सात वटा मिसाइल प्रहार भएका छन् ।  एसोसिएटेड प्रेसले पनि राजधानीमा रहेको खामेनीको कार्यालय नजिकै आक्रमण भएको रिपोर्ट गरेको छ ।

खामेनी कहाँ छन् ?

खामेनी कहाँ छन् भन्ने कुरा हालसम्म स्पष्ट भइसकेको छैन । रोयटर्स समाचार एजेन्सीले एक स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, सर्वोच्च नेता खामेनी अहिले तेहरानमा छैनन् र उनलाई सुरक्षित स्थानमा सारिएको छ ।

को हुन् खामेनी ?

८६ वर्षीय यी इस्लामिक विद्वान सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा रहँदै आएका छन् । उनले इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा यो पद सम्हालेका हुन् । खोमेनीले निर्वासनबाट फर्केर सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गरेका थिए, जसले अमेरिकाका सहयोगी शासक शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको थियो ।

इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनी । उनको ३ जुन १९८९ मा निधन भएको थियो ।

खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार रहन्छ । यसका साथै उनले देशको सर्वोच्च आध्यात्मिक नेताका रूपमा पनि भूमिका निर्वाह गर्छन् ।

आफ्नो शासनकालमा खामेनीले पश्चिमा देशहरूसँगको शत्रुतापूर्ण सम्बन्धको सामना गरेका छन्, जसमा कडा आर्थिक प्रतिबन्ध र स्वदेशभित्रै अर्थव्यवस्था तथा अधिकारका विषयमा भएका कैयौँ चरणका विरोध प्रदर्शन समावेश छन् ।

उनले संयुक्त राज्य अमेरिकालाई इरानको पहिलो शत्रुका रूपमा घोषणा गरेका छन्, जसमा इजरायललाई पनि उस्तै प्रमुख शत्रुको रूपमा हेर्ने गरिन्छ ।

खामेनीको शक्तिका लागि इरानका दुई प्रमुख सुरक्षा निकायहरू- इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स र बासिज अर्धसैनिक बल अत्यन्तै महत्त्वपूर्ण रहेको छ । बासिज बलमा लाखौँको संख्यामा स्वयंसेवक आबद्ध छन्, जसले शासनको सुरक्षामा ठुलो भूमिका खेल्छन् ।

खामेनीले लामो समयदेखि इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने र आफ्नो आणविक कार्यक्रम विशुद्ध नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएका छन् । अमेरिकी गुप्तचर निकाय र संयुक्त राष्ट्र सङ्घको आणविक वाचडग (आइएइए) दुवैले इरानले आणविक हतियार निर्माणको प्रयास गरिरहेको कुनै प्रमाण फेला पारेका छैनन् । यद्यपि, इजरायल र ट्रम्प प्रशासनका केही सदस्य भने इरानले आणविक हतियार बनाउन खोजिरहेको भन्दै निरन्तर दबाब दिइरहेका छन् ।

खामेनीबारे अमेरिका र इजरायल

पछिल्लो समय, जुन २०२५ मा भएको १२ दिने युद्ध र त्यसपछि इरानले इजरायलमाथि गरेको प्रतिशोधात्मक आक्रमणपछि इजरायली रक्षा मन्त्री इजरायल काट्जले खामेनीको ‘अस्तित्व रहिरहनु हुँदैन’ भन्ने विचार दिएका थिए । उनले खामेनीलाई ‘आधुनिक हिटलर’ को संज्ञा दिँदै इरानको नेतृत्वबाट उनलाई हटाउनु नै इजरायली सैन्य अपरेसनको प्रमुख उद्देश्यमध्ये एक भएको बताएका थिए ।

फेब्रुअरी २८, २०२६ मा भएको पछिल्लो आक्रमणका क्रममा पनि इजरायली अधिकारीहरूले खामेनी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलाई लक्षित गरिएको स्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानी नागरिकहरूलाई सम्बोधन गर्दै आफ्नो सरकार आफैँ सम्हाल्न आह्वान गरेका छन्, जसले अमेरिका इरानमा सत्ता परिवर्तनको पक्षमा रहेको सङ्केत गर्छ ।

यसै महिना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले खामेनीको हत्या गर्ने प्रयासलाई इजरायलले नकारेको छैन भन्ने सङ्केत गरेका थिए । उनले यो कदमले अमेरिका र इरानबिच लामो द्वन्द्वलाई अन्त्य गर्नेछ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्वीर स्रोत: एएफपी/रासस

यसैबिच अमेरिकामा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीलाई लक्षित गर्दै कडा टिप्पणी गरिरहेका छन् । यसै महिनाको सुरुमा एनबीसी न्युजलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले यस क्षेत्रमा अमेरिकी सैन्य शक्ति बढ्दै गएकाले इरानी नेता निकै चिन्तित हुनुपर्ने बताएका थिए । अन्य टिप्पणीमा उनले इरानमा सत्ता परिवर्तन हुनु नै ‘हुन सक्ने सबैभन्दा राम्रो कुरा’ भनेर प्रतिक्रिया दिएका थिए । यद्यपि, उनले नेतृत्व सम्हाल्न सक्ने मानिसहरू त्यहाँ रहेको बताए पनि उनीहरूका बारेमा थप विस्तृत जानकारी भने दिएका छैनन् ।

गत वर्ष इरानमाथि आक्रमणको आदेश दिने क्रममा ट्रम्पले अमेरिकाले चाहेमा खामेनी एक ‘सजिलो निसाना’ हुनसक्ने दाबी गरेका थिए ।

ट्रम्पले भनेका थिए, ‘कथित सर्वोच्च नेता कहाँ लुकिरहेका छन् भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । उनी एक सजिलो निसाना हुन् ।’ तर त्यहाँ सुरक्षित रहेको बताउँदै ट्रम्पले खामेनीलाई ‘कम्तीमा अहिले मार्ने छैनौँ’ भनेका थिए ।

आक्रमणका कारण

आक्रमणपछि आफ्ना भनाइ राख्दै अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको नौ सेना र मिसाइल केन्द्र पूर्ण रूपमा नष्ट गर्ने दाबी गरेका छन् । यसका साथै उनले इरानी जनतालाई आफ्नो सरकार उल्ट्याउन समेत आग्रह गरेका छन् ।

ट्रम्पले इरानी जनतालाई सम्बोधन गर्दै भनेका छन्, ‘जब हामी हाम्रो काम पूरा गर्नेछौँ, तब आफ्नो सरकारको बागडोर आफैँ सम्हाल्नुहोस् । यो तपाईँहरूको हुनेछ ।’ ट्रम्पले इरानको ‘कयौँ पुस्तासम्मका लागि एक मात्र अवसर हुने’ बताएका छन् ।

इरान मामिलाका अनुभवी पत्रकार अलि हासेमले अल जजीरासँग कुरा गर्दै अमेरिका र इजरायलको यो संयुक्त आक्रमणको मुख्य उद्देश्य इरानको राजनीतिक नेतृत्वको अन्त्य गर्नु रहेको बताएका छन् । यद्यपि, यो प्रयास कत्तिको सफल वा असफल हुन्छ भन्ने कुरा अहिल्यै भन्न निकै हतार हुने उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?