+
+
Shares

अमेरिका–इरान वार्ता शुक्रबार ओमानमा हुने

अमेरिका–इरानबीच आगामी शुक्रबार ओमानमा वार्ता हुने भएको छ । वार्ताका लागि आवश्यक सबै व्यवस्था मिलाइदिएको भन्दै इरानका विदेशमन्त्रीले ओमान सरकारलाई धन्यवाद भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते ९:०५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनी ।
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिका र इरानबीच आगामी शुक्रबार ओमानको मस्कटमा वार्ता हुने भएको छ ।
  • इरानका विदेशमन्त्री अब्बास अरागचीले शुक्रबार बिहान करिब १० बजे हुने वार्ताको प्रबन्ध ओमान सरकारले मिलाइदिएको जानकारी दिएका छन् ।
  • अमेरिका–इरानबीच सन् २०१५ को परमाणु सम्झौता र सन् २०१८ मा अमेरिकाको बहिर्गमनसँगै सम्बन्ध जटिल बनेको छ।

२२ माघ, काठमाडौं । अमेरिका–इरानबीच आगामी शुक्रबार ओमानमा वार्ता हुने भएको छ । यो जानकारी इरानका विदेशमन्त्री अब्बास अरागचीले दिएका हुन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेख्दै शुक्रबार स्थानीय समय अनुसार बिहान करिब १० बजे ओमानको राजधानी मस्कटमा वार्ता हुने जानकारी दिएका छन् । उनले वार्ताका लागि आवश्यक सबै व्यवस्था मिलाइदिएकोमा ओमान सरकारप्रति आभार पनि व्यक्त गरेका छन् ।

अमेरिका र इरानबीच लामो समयदेखि परमाणु कार्यक्रमलाई लिएर तनाव रहँदै आएको छ । सन् २०१५ मा भएको परमाणु सम्झौता (जेसीपीओए) अनुसार इरानले आफ्नो परमाणु गतिविधि सीमित गरेमा उसमाथि लगाइएका प्रतिबन्ध हटाउने सहमति भएको थियो ।

तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेपछि सम्बन्ध थप जटिल बनेको थियो ।

त्यसयता दुवै देशबीच प्रत्यक्ष संवाद ठप्प जस्तै छ भने प्रतिबन्ध र आरोप–प्रत्यारोप जारी छ ।

पछिल्लो समय इरानमा सरकारविरोधी प्रदर्शनमा भएको दमन र परमाणु कार्यक्रमलाई लिएर ट्रम्पले आक्रमणको धम्की दिएका थिए । इरान वरपर लडाकु सेना तैनाथ गरेको छ ।

इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले पनि इरानमाथि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका थिए ।

अमेरिका–इरान तनावले खाडी देशहरुमा त्रासको वातावरण बनेको थियो । साथै अन्तर्राष्ट्रिय चासो बढेसँगै वार्ताका लागि कूटनीतिक पहल पुन: तीव्र बनेको थियो ।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यदि इरानले यही हप्ता वार्ता गर्न चाह्यो भने अमेरिका तयार रहेको बताएका थिए ।

उनले वार्ताको एजेण्डमा इरानको परमाणु कार्यक्रमसँगै मिसाइल कार्यक्रमसमेत समावेश हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?