+
+
Shares

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा हाम्रो प्राथमिक चिन्ता : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते २२:०२

१६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यपूर्वमा विकसित तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् ।

शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले त्यस क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा प्राथमिक चिन्ताको विषय रहेको बताए ।

‘मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति राप्रपा चिन्ता व्यक्त गर्दछ । त्यस क्षेत्रको विभिन्न देशहरूमा रहनुभएका नेपालीहरूको सुरक्षा हाम्रो प्राथमिक चिन्ताको विषय हो,’ लिङ्देनले भनेका छन् ।

साथै, उनले नेपालीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन नेपाल सरकारलाई आग्रह पनि गरेका छन् ।

‘तनावपूर्ण क्षेत्रमा रहनुभएका नेपालीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन नेपाल सरकारलाई आग्रह गर्दछु । साथै, नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावास र नियोगहरूलाई नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई तत्काल सहायता, सुरक्षित व्यवस्थापन एवं नेपाल फर्कन चाहनेहरूका लागि अविलम्ब आवश्यक प्रबन्ध गर्न आग्रह गर्दछु,’ लिङ्देनले भनेका छन् ।

संकटपूर्ण मध्यपूर्वको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षित रहन, सुरक्षा सचेतता अपनाउन नेपालीहरूलाई उनले अपिल पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?