१६ फागुन, काठमाडौं । दुबईका अधिकारीहरूले पाम जुमेराह क्षेत्रको एउटा भवनमा एउटा घटना भएको र त्यसमा परी केही व्यक्ति घाइते भएको पुष्टि गरेका छन् ।
दुबई मिडिया अफिसले एक विज्ञप्तिमा भनेको छ, ‘आपत्कालीन उद्धार टोलीहरूलाई तत्काल खटाइएको थियो र घटनास्थललाई सुरक्षित गरिएको छ। त्यहाँ लागेको आगो अहिले नियन्त्रणमा आइसकेको कुरा दुबई सिभिल डिफेन्सले पुष्टि गरेको छ।’
मिडिया अफिसका अनुसार यस घटनामा चार जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि स्वास्थ्य संस्थाहरूमा लगिएको छ। विज्ञप्तिमा थप भनिएको छ, ‘अधिकारीहरूले सर्वसाधारणको सुरक्षाका लागि आवश्यक सबै कदमहरू निरन्तर चालिरहेका छन्।’
शनिबार साँझ जारी अर्को सूचनामा दुबई मिडिया अफिसले विकसित घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको जनाएको छ ।
‘हामी विकसित घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेका छौं र अग्रपङ्क्तिमा खटिएका हाम्रा नायकहरूले सर्वसाधारणको रक्षा गर्न र उनीहरूको सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक कदमहरू चालिरहेका छन्।’
विज्ञप्तिमा थपिएको छ, ‘हाम्रो राष्ट्र र यसलाई आफ्नो घर मान्ने सबैजना सुरक्षित रहुन्।’
यसअघि, समाचार संस्था एपीले युएईको दुबई सहरको आकाशमाथि एउटा क्षेप्यास्त्र (प्रोजेक्टाइल) को चमक देखिएको तस्वीर सार्वजनिक गरेको थियो ।
बीबीसीका अनुसार, इरानी सरकारी सञ्चारमाध्यमले दुबईमा आक्रमण भएको बताएपछि यस क्षेत्रमा धुवाँ उडिरहेको तस्बिरसहित प्रत्यक्षदर्शीको विवरण आएको थियो।
इरानले ठ्याक्कै कुन स्थान वा संरचनालाई निशाना बनाइरहेको छ भन्ने स्पष्ट छैन, तर दुबईमा अमेरिकी सेनाको उपस्थिति रहेको छ।
पाम जुमेराह एउटा मानव-निर्मित द्वीपसमूह (टापुहरूको समूह) हो, जुन आफ्ना विलासी (लक्जरी) होटलहरूका लागि प्रख्यात छ।
इरानी सरकारी सञ्चारमाध्यमले दुबईमा आक्रमण भएको खबर प्रसारण गरिरहेका छन्।
रोयटर्सले उद्धृत गरेको इमिरेट्स न्युज एजेन्सीको रिपोर्टअनुसार, युएईको रक्षा मन्त्रालयले इरानी क्षेप्यास्त्र र ड्रोनहरूको नयाँ आक्रमणलाई आकाशमै रोकेर नष्ट गरेको (इन्टरसेप्ट गरेको) बताएको छ।
प्रतिक्रिया 4