+
+
Shares

सम्बन्ध सुधार्दै भारत–क्यानडा, युरेनियम आपूर्ति सम्बन्धी ऐतिहासिक सम्झौता

विश्लेषकहरूका अनुसार वर्तमान भूराजनीतिक परिवर्तनका सन्दर्भमा कूटनीतिक तनावलाई पछाडि राख्दै भारततर्फ हात अघि बढाउने कार्नीको निर्णयलाई व्यवहारिक ठानिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते ६:५०

१९ फागुन, काठमाडौं । भारत र क्यानडाले कूटनीतिक तनावका कारण बिग्रिएको सम्बन्धलाई पुन:स्थापित गर्ने उद्देश्यले १० वर्षे आणविक ऊर्जा सम्झौतासहित विभिन्न समझदारीहरू घोषणा गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच प्रविधि, महत्वपूर्ण खनिज, अन्तरिक्ष, रक्षा र शिक्षा लगायतका क्षेत्रमा सहमति तथा समझदारी घोषणा भएको हो ।

कार्नी हाल भारत भ्रमणमा छन् । भ्रमणका क्रममा मोदी र कार्नीबीच सोमबार नयाँदिल्लीमा भेटवार्ता भएको थियो । सो भेटमा कार्नी र मोदी दुवैले भारत–क्यानडाबीचको लामो सम्बन्ध, साझा लक्ष्य र जनस्तरको घनिष्ठ सम्बन्धमा जोड दिएको बीबीसीले जनाएको छ ।

दिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटपछि मोदीले भनेका छन्, ‘नागरिक आणविक ऊर्जामा दीर्घकालीन युरेनियम आपूर्तिका लागि ऐतिहासिक सम्झौता गरेका छौं । साना मोड्युलर र उन्नत रिएक्टरहरूमा पनि सहकार्य गर्नेछौं ।’

उनले दुवै देशलाई ‘प्रविधि र नवप्रवर्तनका स्वाभाविक साझेदार’ भन्दै एआई, सुपरकम्प्युटिङ र सेमिकन्डक्टर क्षेत्रमा सहकार्य बढाउने र संयुक्त रूपमा नवीकरणीय ऊर्जा सम्मेलन आयोजना गर्ने बताए ।

कार्नीले ऊर्जा–आवश्यकता उच्च रहेको भारतका लागि क्यानडा आणविक इन्धन आपूर्तिमा उपयुक्त अवस्थामा रहेको उल्लेख गर्दै दुवै देशले रणनीतिक ऊर्जा साझेदारी सुरु गरेको बताए । उनले सम्बन्ध पुनर्निर्माणमा भएको प्रगतिलाई सकारात्मक रूपमा उल्लेख गरे ।

‘पछिल्लो एक वर्षमा क्यानडा र भारत सरकारबीच जति संलग्नता भएको छ, त्यति विगत दुई दशकभन्दा बढी समयको तुलनामा धेरै हो,’ उनले भने ।

फ्री ट्रेड डिल पनि टुंग्याउने सहमति

भारत र क्यानडाबीच सन् २०२६ को अन्त्यसम्ममा वर्षौंदेखि छलफलमा रहेको स्वतन्त्र व्यापार सम्झौता (फ्री ट्रेड डिल) टुंग्याउने सहमति पनि भएको छ ।

व्यापारबारे मोदीले भने, ‘हाम्रो लक्ष्य द्विपक्षीय व्यापार ५० अर्ब डलरसम्म पुर्‍याउने हो । त्यसैले व्यापक आर्थिक साझेदारी सम्झौता छिट्टै टुंग्याउने निर्णय गरेका छौं ।’

कार्नीले महत्वाकांक्षी सम्झौता वर्षको अन्त्यसम्ममा सम्पन्न गर्न चाहेको बताए । करिब १५ वर्षदेखि बीच–बीचमा छलफल हुँदै आएको यो सम्झौता टुंगिनु ठूलो उपलब्धि हुने विश्लेषकहरू बताउँछन् ।

हरदीप सिंहको हत्या प्रकरणपछि चिसिएको सम्बन्ध सुधार्ने प्रयास

कार्नी नेतृत्वमा दुवै सरकारले सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् । क्यानडामा ठूलो संख्यामा भारतीय मूलका आप्रवासी समुदाय बसोबास गर्छन् ।

कार्नीका पूर्ववर्ती जस्टिन ट्रुडोले सन् २०२३ मा क्यानडाको भूमिमा शिख अलगाववादी नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणमा दिल्लीको संलग्नता रहेको आरोप लगाएपछि दुई देशबीच सम्बन्ध चिसिएको थियो । भारतले उक्त आरोपलाई कडा शब्दमा अस्वीकार गरेको थियो ।

त्यसपछि व्यापार तथा कूटनीतिक सम्बन्ध लगभग ठप्पजस्तै बनेका थिए । दुवै देशले एक–अर्काका कूटनीतिज्ञ निष्कासन गरेका थिए भने  भिसा सेवा स्थगित गरेका थिए । निज्जर हत्या प्रकरणमा आरोपित चार जनाविरुद्धको मुद्दा अझै अदालतमा विचाराधीन छ ।

तर कार्नीले पदभार सम्हालेपछि सम्बन्ध सावधानीपूर्वक सम्बन्ध सुधारको प्रयास हुँदै आएको छ । उनको सरकारले हाल भारत क्यानडाको भूमिमा हुने हिंसात्मक अपराध वा धम्कीमा संलग्न नरहेको विश्वास व्यक्त गरेको छ । यद्यपि क्यानडाभित्रै केही व्यक्तिहरूले उक्त दाबीको विरोध गरेका छन् ।

कार्नीको आफ्नै दलका एक लिबरल सांसद र क्यानडास्थित सिख डायस्पोराका सदस्यहरूले आफूहरू अझै भारतबाट लक्षित भइरहेको दाबी गरेका छन् ।

गत वर्षको अन्त्यतिर क्यानडाको गुप्तचर निकाय क्यानेडियन सेक्युरिटी इन्टेलिजेन्स सर्भिसले क्यानडामा जासुसी र विदेशी हस्तक्षेप गर्ने देशहरूको सूचीमा भारतलाई पनि राखेको थियो, जहाँ रुस, चीन र इरान पनि समावेश थिए ।

सोमबार जारी वक्तव्यमा सो निकायले ‘क्यानडाविरुद्ध विदेशी हस्तक्षेप र जासुसी गर्ने मुख्य पक्षहरूको मूल्यांकनमा परिवर्तन नभएको’ जनाएको छ ।

क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले भारतले सबै विदेशी हस्तक्षेप रोकेको भन्ने एक वरिष्ठ क्यानडाली अधिकारीको टिप्पणीबाट आफू अलग रहेको बताइन् । दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, ‘ती शब्दहरू मैले व्यक्तिगत रूपमा प्रयोग गर्ने शब्द होइनन् ।’

तर उनले भारतसँग पुन: संलग्न हुने क्यानडाको निर्णयको बचाउ गर्दै भनिन्, ‘प्रगति गर्नका लागि यस्ता कूटनीतिक संवाद आवश्यक हुन्छन् ।’

सर्वेक्षणहरूअनुसार अधिकांश क्यानडाली नागरिक भारतसँग पुन:संलग्न हुन समर्थनमा छन् । एन्जस रेड इन्सटिच्युटले हालै गरेको एक सर्वेक्षणमा आधाले सम्बन्ध पुनर्स्थापित गर्ने ‘ठिक समय’ भएको बताएका छन् । सोही सर्वेक्षणले ३० प्रतिशत क्यानडालीको भारतप्रति सकारात्मक धारणा रहेको देखाएको छ, जुन अमेरिकाप्रति २६ प्रतिशत मात्र छ । ट्रम्प प्रशासनले लगाएको शुल्कका कारण क्यानडा दबाबमा परिरहेको सन्दर्भमा यो तथ्य आएको हो ।

सोमबार नै कार्नीले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेट गरी ‘अगाडि हेर्ने साझेदारी’ निर्माणबारे छलफल गरेका थिए ।

भारतलाई पनि अवसर

विश्लेषकहरूका अनुसार वर्तमान भूराजनीतिक परिवर्तनका सन्दर्भमा कूटनीतिक तनावलाई पछाडि राख्दै भारततर्फ हात अघि बढाउने कार्नीको निर्णयलाई व्यवहारिक ठानिएको छ ।

ऊर्जा आपूर्तिमा रुसमाथिको निर्भरता घटाउन र आयात विविधीकरण गर्न नयाँ व्यापार साझेदारी खोजिरहेको भारतका लागि पनि यो उपयुक्त अवसर मानिएको छ ।

चार दिने भारत भ्रमणअन्तर्गत कार्नीले २८ फेब्रुअरीमा आर्थिक राजधानी मुम्बईमा व्यवसायी र मन्त्रीहरूसँग भेट गर्दै व्यापार तथा लगानी प्रवर्द्धनका विषयमा छलफल गरेका थिए ।

दिल्ली भ्रमण सकिएपछि उनी अष्ट्रेलिया र त्यसपछि जापान जाने कार्यक्रम छ, जसलाई क्यानडाको व्यापार विविधीकरण र नयाँ लगानी आकर्षित गर्ने रणनीतिको हिस्साका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?