News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विमानस्थलमा १७ फागुन २०२६ मा १ सय ४६ प्रस्थान र १ सय ४७ अवतरण गरी कुल २ सय ९३ उडान/अवतरण भएको छ।
- निर्वाचनका कारण काठमाडौंबाट बाहिरिने हवाई यात्रुको संख्या वृद्धि भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बताएका छन्।
- खाडी युद्धका कारण अन्तर्राष्ट्रिय उडानमा कमी आएको छ भने १६ फेब्रुअरीमा एक महिनायता सर्वाधिक १ सय ७ उडान/अवतरण भएको छ।
१९ फागुन, काठमाडौं । निर्वाचनका कारण हवाई यात्रु संख्या वृद्धि भएको पाइएको छ ।
त्रिभुवन विमानस्थलको तथ्यांक अनुसार पछिल्लो एक महिनायता १७ फागुन आइतबार (१ मार्च २०२६) मा सबैभन्दा धेरै उडान/अवतरण भएका छन् ।
यस दिन १ सय ४६ प्रस्थान र १ सय ४७ अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ । एकदिनमा कुल २ सय ९३ उडान/अवतरण भएका छन् । यो १ फेब्रुअरी २०२६ यताकै सबैभन्दा धेरै हो ।
त्यसदिन खाडी युद्धका कारण अन्तर्राष्ट्रिय उडानमा कमी आएको थियो । यद्दपि, त्रिभुवन विमानस्थलबाट कुल ३ सय ६७ उडान–अवतरण (राष्ट्रिय–अन्तर्राष्ट्रिय) भएको कार्यालयले जनाएको छ ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार पछिल्लो समय हवाई यात्रुको एकतर्फी चाप देखिन्छ । यसो हुनुमा निर्वाचन मुख्य कारण हो । अहिले काठमाडौंबाट बाहिरिने यात्रु संख्या धेरै हो ।
यसबाहेक हिँउदयाममा मौसमका कारण उडान/अवतरण रद्द हुँदा कम संख्या हुने गर्छ । अहिले भने मौसम खुल्दै जाने, विवाहको सिजन र निर्वाचन एकसाथ पर्दा उडान/अवतरण समेत बढेको उनले जानकारी दिए ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सोमबार भने कुल २ सय ७१ आन्तरिक उडान–अवतरण भएका छन् । सरकारले २१ फागुनमा निर्धारित निर्वाचनका दिन अन्तर्राष्ट्रियसँगै आन्तरिक उडान समेत निरन्तरता दिने भनेको छ ।
त्यस दिन यती एयरलाइन्सले भने उडान नगर्ने भन्दै सूचना जारी गरेको छ । अन्य वायुसेवा कम्पनीको उडान अहिलेसम्म यथावत छ । नेपाल पर्यटन बोर्डले सोही दिन हवाई यात्रुलाई लक्षित गर्दै नि:शुल्क सटल बस सेवा उपलब्ध गराएको छ ।
खाडीयुद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय उडान/अवतरणमा गिरावट
अन्तर्राष्ट्रियतर्फ आइतबार नै एक महिनाकै सबैभन्दा कम उडान/अवतरण भए । त्यस दिन कुल ७४ वटा मात्र अन्तर्राष्ट्रिय जहाज उडान/अवतरण भएको थियो । ३८ जहाज काठमाडौंबाट प्रस्थान गर्दा ३६ जहाज अवतरण गरेका थिए । जुन फेब्रुअरी १ यताकै सबैभन्दा कम थियो ।
अन्तर्राष्ट्रियतर्फ १६ फेब्रुअरीका दिन एक महिनायताकै सर्वाधिक १ सय ७ उडान/अवतरण भएको कार्यालयको तथ्यांक छ । त्यस दिन त्रित्रुवन विमानस्थलले कुल ३ सय ८३ जहाज उडान–अवतरण व्यवस्थापन गरेको थियो । जुन एक महिनायताकै सर्वाधिक थियो ।
प्रतिक्रिया 4