+
+
Shares

नयाँ जनादेशको संघारमा देश, दलहरू अन्तिम परीक्षामा

जेनजी आन्दोलनपछि नयाँ जनादेश लिनेगरी हुने यो निर्वाचनमा भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा सहित दलहरू चुनावमा उत्रँदैछन् ।

सइन्द्र राई लिलु डुम्रे सइन्द्र राई, लिलु डुम्रे
२०८२ फागुन १८ गते २२:४०
भावी प्रधानमन्त्रीको रुपमा आफूलाई अघि सारेका नेताहरू

१८ फागुन, काठमाडौं । जेनजी आन्दोलनपछि सिर्जित अन्योल तोड्दै अन्ततः मुलुक निर्वाचनका लागि मतदानको सम्मुख आइपुगेको छ ।

गत ४ फागुनदेखि निर्वाचन आयोगले उम्मेदवारहरुलाई औपचारिक प्रचार–प्रसार गर्न दिएको समय आज मध्यरातसँगै सकिँदैछ । यसपछि ६० घण्टाको मौन अवधि राखेर २१ फागुन बिहान ७ बजेदेखि मतदान हुनेछ ।

आयोगले मतदान सकिएको २४ घण्टामा नतिजा दिनेगरी तयारी भइरहेको जनाएको छ । अर्थात मुलुकले नयाँ जनादेश पाउने समय अब केही दिन मात्र बाँकी छ ।

‘अनेक प्रकारका अन्योल र आशंका थियो । तर सरकारले निरन्तर प्रयत्न गर्‍यो र हामी निर्वाचनको नजिक छौं,’ सरकारका मन्त्री माधवप्रसाद चौलागाईंले अनलाइनखबरसँग भने, ‘शान्तिपूर्ण रूपमा चुनावसम्म आइपुग्न जेनजी, नागरिक समाज, सुरक्षा निकाय, निर्वाचन आयोगसहितका राज्य संयन्त्र र दलहरूको साथ महत्त्वपूर्ण छ ।’

नेपालमा लोकतन्त्र चाहने छिमेकी राष्ट्रहरूको सहयोगलाई पनि सम्झन्छन्, उनी । ‘निर्वाचन आयोगलाई चाहिने साधन स्रोत दिएका छौं । सुरक्षाको व्यवस्था मिलाइएको छ, अब मुलुक नयाँ जनादेशको नजिक छ,’ मन्त्री चौलागाई भन्छन् ।

जेनजी विद्रोहका कारण असमयमै हुन लागेको यो निर्वाचनमा विगतभन्दा केही भिन्न अभ्यास देखिएको छ । विगतका दुई वटा निर्वाचनमा जस्तो यसपटक दलहरूको गठबन्धन छैन । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतले केही स्थानमा तालमेल गरेपनि दलहरू अलग–अलग चुनावी प्रतिस्पर्धामा छन् ।

एक्लै भिड्ने उद्घोषसहित पार्टी नेतृत्व बदलेको नेपाली कांग्रेसले १६५ वटै क्षेत्रमा उम्मेदवारी दिएको छ । २०७४ मा वाम गठबन्धन भर्सेस लोकतान्त्रिक गठबन्धन थियो । ०७९ मा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन भर्सेस एमाले–जसपा–राप्रपाहरुको गठबन्धन थियो । तर जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले कसैले गठबन्धन गर्नै नसक्ने स्थिति बन्यो ।

बरू यसपटकको निर्वाचनमा नयाँ अभ्यास देखियो । काठमाडौं महानगरका पूर्वमेयर बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावमा होमिएपछि अन्य दल पनि दबाबमा परे ।

कांग्रेसले नयाँ सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्‍यो । केपी शर्मा ओलीलाई नै अगाडि सारेर नेकपा एमालेले मत माग्यो । धरान उपमहानगरको मेयरबाट राजीनामा दिँदै श्रम संस्कृति पार्टी खोलेका हर्क साम्पाङले समेत आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि नेपाली कम्युनिष्ट पार्टीका नेताहरू भावी प्रधानमन्त्रीबारे बोल्न बाध्य भए ।

‘सरकार बनाउनेगरी जनमत प्राप्त गर्‍यो भने हामीसँग प्रधानमन्त्री बनाउने नेताको खाँचो छैन,’ नेता पम्फा भुसाल भन्छिन्, ‘प्रधानमन्त्री भइसकेका अनुभवी नेताहरु नै हुनुहुन्छ ।’ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावअघि घोषणा गरिएका कोहीपनि प्रधानमन्त्री नहुने अभिव्यक्ति दिँदै आएका छन् ।

प्रचार–प्रसारका अवधिमा गरिएका तर्क र प्रस्तुत दाबीहरू हेर्दा दलहरूले भावी प्रधानमन्त्री घोषणा मात्र गरेका छैनन्, यो निर्वाचनलाई एकप्रकारले जनमत संग्रहकै रुपमा लिन मतदाताहरूसँग आग्रह गरेका छन् ।

‘बदलियो कांग्रेस, गगन प्रधानमन्त्री’

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेको कांग्रेसले यसपटक गगन थापाको तस्वीर राखेरै मत माग्यो । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ कांग्रेसको मुख्य नारा बन्यो ।

अर्थात् कांग्रेसले जेनजी आन्दोलनको अपनत्व लिने प्रयास गरेको छ । नव युवाहरूको चाहना बमोजिम कांग्रेसले नीति बदल्नेदेखि नेतृत्व फेर्नेसम्मको काम गरेको सन्देश आफ्नो प्रचारमा समेट्यो ।

पाँच पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विस्थापित गरेर गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको कांग्रेसले सरकार बनेपछि गर्ने कामहरुमा नयाँपन झल्काउने प्रतिबद्धताहरु समेत गरेको छ ।

उपसभापति विश्वप्रकाश शर्माले वकालत गर्दै आएको ‘एक पटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चारपटक सांसद’ नीतिलाई पारित गरेर कांग्रेस बदलिएको सन्देश मतदातासम्म लग्यो । कांग्रेस प्रवक्ता देवराज चालिसे, देशभर पार्टीको पक्षमा माहोल बनेको दाबी गर्छन् । ‘प्रत्यक्षमा हामी पहिलो दल निर्विकल्प हो । १६५ वटै क्षेत्रमा उम्मेदवार हुँदा समानुपातिक मत पनि बढ्छ,’ उनी भन्छन् ।

गठबन्धनका कारण अघिल्लो निर्वाचनमा कांग्रेसका ९१ क्षेत्रमा मात्र उम्मेदवार थियो । तर यसपटक देशभर उम्मेदवारी दिदै प्रमुख शहरहरुमा कांग्रेसले सभा गर्‍यो । राजधानी काठमाडौं बाहेक विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत लगायत शहरमा ठूला सभा भए । सभापति थापा र उपसभापति शर्मा कांग्रेस सभाहरुका मुख्य आकर्षण बनेका थिए ।

‘विध्वंशविरुद्ध एमाले, फेरि ओली’

२३ भदौको जेनजी आन्दोलनलाई अस्वीकार गरेको एमालेले ‘२४ भदौ’लाई मुख्य चुनावी एजेण्डा बनाएको छ । खुला सभाहरू नगरेपनि उसका युवा–विद्यार्थीको प्रदर्शन, चुनावी घोषणापत्र र नेताहरुको भिडियो सन्देश मार्फत ‘२४ भदौको विध्वंश’विरुद्ध एमालेलाई मत मागेका छन् ।

एमालेका युवा–विद्यार्टीहरूले ‘पहिले भवन जल्यो, अनि गोली चल्यो’ नारा पार्टी नीति अन्तर्गत नै आएको प्रष्ट हुन्छ । यद्यपि यो नाराले एमालेलाई उल्टै रक्षात्मक बनायो । सामाजिक सञ्जालमा ट्रोल खेप्नु पर्‍यो ।

राजधानीको एउटा तारे होटलमा भव्य कार्यक्रम गरेर सार्वजनिक एमाले घोषणापत्रमा पनि २४ भदौलाई मुख्य एजेण्डा बनाइएको छ । घोषणापत्रको ब्यानरमै लेखिएको छ– एमाले अहिले, किनकि देश पहिले ।

यो नाराको व्याख्या सहित एमाले नेताहरूले मत मागेका छन् । आइतबार ५:२५ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै ओलीले जेनजी विद्रोहलाई विदेशी षडयन्त्र भनेका छन् । ‘एउटा निर्वाचित सरकारलाई अपदस्थ गर्न, गरेर देशमा विध्वंश मच्याइयो,’ ओलीले भनेका छन्, ‘भएको प्रतिनिधि सभा विघटन गरियो । आज फेरि त्यही प्रतिनिधि सभाको चुनाव गराइँदैछ ।’

देश जोगाउने पक्षमा एमाले उभिएको ओलीले तर्क गरेका छन् । ‘देश बचाउने कि नबचाउने ? आज तपाईंले एउटा बाटो रोज्नुपर्नेछ,’ ओलीको अपिल छ, ‘निर्माण कि ध्वंश रोज्ने ।’ आफूविरुद्ध भ्रम फैलाइएको भन्दै ओलीले अहिले एमालेलाई भोट नदिए इतिहासमा पश्चात् गर्ने दिन आउने बताएका छन् ।

‘सिंहदरबार, अदालत, संसद्, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय यी सबै तपाईंका कर र भरोसाले बनेका हुन् । यी जल्दा तपाईंको भरोसा मात्र होइन, सपना पनि जलेको छ,’ ओलीले भनेका छन् । ओलीको चुनावी अपिलमा जेनजी विद्रोहका क्रममा ज्यान गुमाउनेका परिवार र घाइतेहरूका पीडा भने उल्लेख छैन । जुन एमालेको लाइन हो ।

प्रचार विभाग संयोजक मीनबहादुर शाही, चुनावमा एमालेको मूख्य एजेण्डा ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै रहेको तर्क गर्छन् । ‘गणतान्त्रिक व्यवस्था, संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानव अधिकारको रक्षा मार्फत मुलुक निर्माण एमालेको मुख्य एजेण्डा हो,’ उनी भन्छन्, ‘सँगै हामी हिंसा र विध्वंशको विरोधमा पनि छौ ।’ युवा पुस्ताले खोजेको पुतान्तरणको पक्षमा एमाले सधैं रहेकाले बिर्सन नमिल्ने शाहीको तर्क छ ।

‘पुरानाको विदाइ, प्रधानमन्त्री बालेन’

चुनावी नतिजा देख्न बाँकी रहेपनि यो निर्वाचनको मुख्य पक्ष रास्वपा बनेको छ । गत चुनावमा प्रत्यक्ष तर्फ ७ र समानुपातिक तर्फ १४ सिट सहित प्रतिनिधि सभाको चौथो शक्ति बनेको रास्वपामा यसपटक बालेनको प्रवेशले उत्साह देखिएको छ ।

सभापति रवि लामिछानेसँग संगठन र सांसदको उम्मेदवारमा ६०/४० प्रतिशतको अनुपात लिएका बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा हुनुले रास्वपामा विशेषगरी युवा आकर्षण देखियो ।

जेनजी आन्दोलनपछि मतदाताहरुमा उत्पन्न मनोविज्ञानलाई ध्यान दिएरै रास्वपाले नयाँ र पुरानोको एजेण्डालाई विशेष प्रचार गर्‍यो । भावी प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेनलाई ‘रोड शो’हरुमा प्राथमिकता दियो ।

जनकपुर, चितवन, सुर्खेत, धनगढी लगायत स्थानमा ‘हामी आयौं, परिवर्तन उद्घोष सभा’ गर्‍यो । पोखरा र भैरहवामा पूर्वनिर्धारित सभा स्थगित भएपनि बालेन ५० भन्दा बढी जिल्ला पुगे । ठूला चुनावी सभामा बाहेक अन्यत्र सम्बोधन भने गरेनन् ।

ठूला सभामा प्रमुख वक्तामा सभापति लामिछाने र वरिष्ठ नेता शाह छानिए । जनकपुर, चितवन र पोखरामा छोटो मन्तव्य बालेनले राखे । जनकपुरबाट चुनावी अभियान थालेको रास्वपाले सुर्खेतबाट वाचापत्र सार्वजनिक गर्‍यो ।

पुराना नेताहरुलाई विदा गर्ने एजेण्डाप्रति देशव्यापी लहर देखेका रास्वपाले १५१ सिट पार गर्ने दाबी गरेको छ । ‘यो बहुमत कुर्सीका लागि होइन । यो त देशको दुर्गति बदल्ने अन्तिम मौका हो,’ रास्वपाको वाचापत्रमा भनिएको छ ।

अरूको पनि दाबी

कांग्रेस, एमाले र रास्वपा बाहेक भावी प्रधानमन्त्रीको प्रचारसहित मत माग्ने अर्को दल देखियो– श्रम संस्कृति पार्टी । धरानका पूर्वमेयर साम्पाङले आफैंले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चर्चामा छन् ।

साम्पाङको प्रधानमन्त्री चर्चा नेपाली कम्युनिष्ट पार्टीका नेताहरुको भन्दा धेरै सुनियो । जबकी नेकपामा प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल गरी तीन जना त पूर्वप्रधानमन्त्री छन् । तर नेकपाका नेताहरूले कुनै पनि दलको एकल बहुमत नआउने निष्कर्ष सहित चुनावपछि बन्ने गठबन्धन सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने सन्देश दिइरहेका छन् ।

प्रचण्डकै अभिव्यक्ति सुन्दा पनि गठबन्धन सरकारको दाबी लुक्दैन । व्यवस्था र संविधान जोगाउन कांग्रेस–एमालेसँग अनि परिवर्तनको सवालमा नयाँहरुसँग सहकार्य हुन सक्ने उनले बताउने गरेका छन् ।

प्रचार अवधिको अन्तिम दिन, (आज मात्रै) पनि प्रचण्डले वाम ध्रुबिकरणको औचित्यबारे बोले । अर्थात् नेकपा कोहीसँग पनि टाढा नहुने नीतिमा रहेको बुझ्न गाह्रो पर्दैन ।

तर नेतृ पम्फा भुसाल भने प्रचण्डको अभिव्यक्तिलाई चुनावी प्रयोजन भनेर बुझ्न नहुने बताउँछन् । ‘ढिलोचाँडो वाम धुब्रिकरण आवश्यकता हो । तर यसलाई चुनावी प्रयोजनका रुपमा बुझ्न हुन्न,’ उनले भनिन् ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?