News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखामा १९ फागुन बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २२५ मतदान स्थल र ३३१ मतदान केन्द्रमा सम्पूर्ण तयारी पूरा भएको छ।
- मतगणना स्थलहरूमा सीसीटिभी जडान गरी मोबाइल फोन प्रतिबन्ध गरिएको छ र मतपेटिका ढुवानीका लागि हेलिकप्टर र सवारी साधनको व्यवस्था गरिएको छ।
- गोरखा–१ मा १ लाख २० हजार ५२५ र गोरखा–२ मा १ लाख ८ हजार ५३३ मतदाता रहेका छन् र सुरक्षा प्रत्याभूति गर्न सबै निकाय परिचालन गरिएको छ।
१९ फागुन, गोरखा । बिहीबार हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।
‘केन्द्रको क्षेत्र घोषणाको सूचना टाँस गरी सबै मतदान केन्द्रमा सर्वदलीय बैठक समेत भइसकेको छ,’ मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले भने, ‘भोलिबाट बुथ निर्माणमा जुट्नुहुन्छ ।’
आसन्न निर्वाचनलाई लक्षित गरी जिल्लामा २२५ मतदान स्थल र ३३१ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये ८३ वटा मतदान स्थललाई अतिसंवेदनशिलमा राखिएको छ ।
सुरक्षाको दृष्टिकोणबाट जिल्ला सुरक्षा समितिले ती मतदानस्थललाई अति संवेदनशीलमा राखेको हो । त्यस्तै १३० मतदान स्थल संवेदनशील र बाँकी सामान्यमा परेका छन् । एउटा मतदान स्थलमा तीन वटासम्म मतदान केन्द्र छन् ।
संवेदनशीलताको आधारमा विशेष सुरक्षा रणनीति बनाइएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताए ।
‘उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीको सुरक्षा प्रत्याभूति हुने गरी सुरक्षाका सबै निकाय परिचालन गरेका छौ,’ उनले भने, ‘ढुक्क भएर मतदान गर्न मेरो आग्रह छ ।’
सीसीटिभीजडित मतगणना स्थल तयार
जिल्लाको दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल समेत तयार भइसकेको छ । गोरखा–१ को लागि जिल्ला समन्वय समितिको हल र गोरखा–२ का लागि भू तथा जलाधार व्यवस्थापन कार्यालयमा मतगणना स्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।
उनका अनुसार मतगणना स्थललाई तारजालीले सुरक्षित गरी सीसीटिभी जडान गरिएको छ । दलका प्रतिनिधिलाई तारजालीबाहिर बस्ने व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ । मतगणनाको समयमा हुन सक्ने अराजक गतिविधि नियन्त्रणका लागि व्यवस्थित पारिएको उनले जानकारी दिए । दुवै मतगणना स्थलमा एकै पटक तीन ठाउँमा मतगणना गर्न मिल्ने बताइएको छ ।
मतदानपश्चात मतपेटिका ढुवानीका लागि सवारी साधनको समेत व्यवस्था भइसकेको गौतमले जानकारी दिए । उत्तरी गोरखाका २२ मतदान केन्द्रको मतपेटिका भने हेलिकप्टरमार्फत सदरमुकाम ल्याइने उनले बताए ।
दुवै निर्वाचन क्षेत्रको मतगणना एकसाथ गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । भौगोलिक विकटताको हिसाबले गोरखा–१ भन्दा गोरखा–२ को मतपेटिकाहरु चाडै ढुवानी हुन्छन् ।
‘गोरखा–२ का मतपेटिकाहरु सम्भवत त्यही दिन आइसक्छन्,’ मुख्य निर्वाचन अधिकृत गौतमले भने, ‘गोरखा १ मा हेलिबाट केही मतदान केन्द्रका मतपेटिका ल्याउनुपर्ने भएकाले समय लाग्छ । अब कति सयम कुर्ने भनेर निर्वाचन आयोगसँग सोधेर त्यही अनुसार निर्णय गर्छाैं ।’
गोरखा–१ को कुल मतदाता संख्या १ लाख २० हजार ५२५ रहेको छ भने गोरखा–२ मा १ लाख ८ हजार ५३३ कुल मतदाता छन् ।
प्रतिक्रिया 4