२१ फागुन, बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही-२ का उम्मेदवार विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा बुटवलबाट मतदान गरेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर–८ स्थित सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रबाट उनले पहिलो मतदान गरेका हुन् ।
उनी यो निर्वाचन क्षेत्रमा २०६४ यताका सबै निर्वाचनमा विजयी हुँदै आएका छन् ।
लुम्बिनी प्रदेशबाट प्रमुख पार्टीका शीर्ष नेताहरू उम्मेदवार छन् ।
नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्वबाट उम्मेदवार बने पनि उनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्ने छन् । त्यहाँ मतदान गरेपछि प्रचण्ड हेलिकोप्टरबाट रुकुमपूर्व आउने छन् ।
नेकपा एमालेका अर्का उपाध्यक्ष तथा गुल्मी–२ का उम्मेदवार गोकर्ण विष्ट, गुल्मीको इस्मा गाउँपालिका–४ स्थित रामराज्य माविको केन्द्रबाट मतदान गर्दैछन् ।
यस्तै एमाले महासचिव तथा दाङ–२ बाट उम्मेदवार बनेका शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१९ स्थित बिजौरी मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री तथा रूपन्देही–१ का उम्मेदवार सुनील लम्सालले रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित प्रभात आधारभूत स्कुलको केन्द्रबाट मतदान गर्दैछन् ।
यस्तै नेपाली कांग्रेसका सहमहामन्त्री तथा दाङ–१ का उम्मेदवार योगेन्द्र चौधरीले गढवा गाउँपालिका वडा नम्बर–४ को खडगपुर केन्द्र मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
नेकपाका प्रभावशाली नेता तथा रोल्पाबाट उम्मेदवार बनेका वर्षमान पुनले रोल्पा नगरपालिका वडा नम्बर–७ बालउदय प्राविको मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
यस्तै एमाले सचिव छविलाल विश्वकर्माले रुपन्देही २ को बुटवल वडा ११ लुम्बिनी वाणिज्य क्याम्पसको केन्द्रबाट मतदान गर्दैछन् । विश्वकर्मा आफैं यसपटक उम्मेदवार छैनन् ।
यस्तै रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा–१२ पशुपति माविको रहीपौरी केन्द्रबाट मतदान गर्दैछन् ।आचार्य क्षेत्र नम्बर–२ को उम्मेदवार भए पनि उनको मतदाता नामावली क्षेत्र नम्बर ३ मा छ ।
यस्तै एमाले पूर्वउपमहासचिव तथा गुल्मी–१ का उम्मेदवार प्रदीप ज्ञवालीले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–४ को बम्घा निमावि चौतारा मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
यस्तै कांग्रेसका नेता तथा गुल्मी–१ का उम्मेदवार चन्द्र भण्डारीले गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर–१ हुँगास्थित जनजागृति माविबाट मतदान गर्दैछन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ निर्वाचन क्षेत्र रहेका छन् । यहाँ झन्डै ३४ लाख मतदाता कायम भएका छन् । १७ लाख १५ हजार १६३ जना पुरुष, १६ लाख ७१ हजार ४७९ जना महिला र अन्य मतदाता ३८ जना गरी कुल ३३ लाख ८६ हजार ६८० जना रहेका छन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय, निर्वाचन आयोगको तथ्यांकअनुसार बागमती र कोशी प्रदेशपछि मतदाता संख्याका आधारमा लुम्बिनी प्रदेश तेस्रो स्थानमा छ ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ वटा निर्वाचन क्षेत्रमा झन्डै ६ सय उम्मेदवार चुनावी मैदानमा छन् । जसमा ३९४ जना उम्मेदवार राजनीतिक दलका र २०५ जना स्वतन्त्र रहेका छन् ।
कुल उम्मेदवारमध्ये ५४३ जना पुरुष र ५६ जना महिला उम्मेदवार छन् । लुम्बिनी प्रदेशमा कुल १ हजार ६७१ वटा मतदानस्थल र ३ हजार ९९८ वटा मतदान केन्द्र तोकिएको छ ।
प्रतिक्रिया 4