+
+
Shares

रास्वपाका अशोक चौधरीलाई प्रत्यक्षमा पहिलो सफलता

प्रत्यक्षतर्फको पहिलो सफलतामा चौधरीले नेपाली कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गरे । चौधरीले ४७ हजार ४ सय २१ मत प्राप्त गर्दा गच्छदार केवल २० हजार ५ सय १ मा खुम्चिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरी पहिलोपटक प्रत्यक्षतर्फ सांसद निर्वाचित भएका छन्।
  • चौधरीले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई झन्डै २७ हजार मतान्तरले पराजित गरे।
  • उनले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउँदै पारदर्शी नागरिक प्रशासन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।

२४ फागुन, काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार अशोककुमार चौधरी विजयी भएका छन् । विघटित प्रतिनिधिसभामा उनी रास्वपाबाटै समानुपातिक उम्मेदवार थिए । प्रत्यक्षतर्फ उनलाई पहिलो पटक सफलता मिलेको हो ।

प्रत्यक्षतर्फको पहिलो सफलतामा चौधरीले नेपाली कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गरे । चौधरीले ४७ हजार ४ सय २१ मत प्राप्त गर्दा गच्छदार केवल २० हजार ५ सय १ मा खुम्चिए । नेकपा एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत पाइन् ।

गच्छदार २०४८ सालयताका सदाबहार उम्मेदवार हुन् । २०४८, २०५१ र २०५६ गरी तीन पटक सुनसरी–३ बाट सांसद जितेका गच्छदारले २०६४ मा फोरमबाट सोही क्षेत्रसहित मोरङबाट समेत चुनाव जितेका थिए ।  २०७० र २०७४ को चुनाव पनि जिते । २०७९ मा हारे । अझै सांसद हुने चाहना राखेका गच्छदारलाई रोकेर यसपालि रास्वपाका चौधरी निर्वाचित भए ।

४ वैशाख २०४० मा सुनसरी पञ्चरुखीमा जन्मिएका चौधरी २०७० सालदेखि राजनीतिमा छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी–२ मा उनी स्वतन्त्र उम्मेदवार भए । २०७१ सालमा नेपाल परिवार दलमा आबद्ध भए । परिवार दलको तेस्रो महाधिवेशनबाट जिल्ला सचिव भए । २०७९ सालमा परिवार दल परित्याग गरे । ३१ असोज २०७९ देखि रास्वपामा आबद्ध भए ।

त्यसपछि रास्वपा इटहरी नगर सचिवको जिम्मेवारी सम्हाले । सोही वर्ष ३० साउनमा भएको प्रदेश १ को भेलाबाट सर्वसम्मत  इटहरी नगर सभापति भए । २०७९ निर्वाचनमा रास्वपाका तर्फबाट समानुपातिक सूचीमा बसे । रास्वपा चौथो ठूलो दलका रूपमा उदायो । उनी सांसद भए ।

यसपालि रास्वपाले चौधरीलाई सुनसरी-३ बाट उम्मेदवार बनायो । जहाँ उनले प्रतिस्पर्धी गच्छदारलाई झन्डै २७ हजार मतान्तरले पराजित गरे ।

सुनसरी–३ सहित मुलुककै दिगो विकास, पारदर्शी नेतृत्व, सुशासन र प्रत्येक नागरिकको सम्मानित जीवन सुनिश्चित गर्न पूर्णरूपमा समर्पित रहने चौधरीको प्रतिबद्धता छ । ‘मेरो मूल प्रतिबद्धता भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउँदै पारदर्शी र जवाफदेही नागरिक प्रशासन सुनिश्चित गर्ने हो,’ उनले भने ।

जनप्रतिनिधिका रूपमा गरेका कामको वार्षिक सार्वजनिक प्रतिवेदन प्रकाशन गर्ने, सांसदको हैसियतमा राज्यद्वारा बनाइएका ऐन, कानुन तथा नीतिगत व्यवस्थामा समयानुकूल परिमार्जन र सुधारका लागि पहल गर्ने पनि उनको वाचा छ ।

सीमान्तकृत र कमजोर वर्गका नागरिकका लागि नियमित संसद्मा सशक्त आवाज उठाउने पनि चौधरीको प्रतिबद्धता छ ।

‘हामीले लामो समयदेखि भोग्दै आएका समस्या अब समाधानतर्फ लैजानुपर्छ, हाम्रो क्षेत्रको सम्भावना, युवाशक्ति र जनविश्वासलाई एकताबद्ध गर्दै, काममार्फत देखिने परिवर्तन नै मेरो लक्ष्य हो,’ उनले भनेका छन्, ‘यो केवल निर्वाचन होइन, हाम्रो साझा भविष्य निर्माण गर्ने अवसर हो ।’

राज्यका तीनै तह (संघ, प्रदेश तथा स्थानीय) मा ई-गभर्नेन्सको प्रभावकारी व्यवस्थापन र विस्तार गर्ने पनि उनको योजना छ ।

किसान र कृषि सुधार अन्तर्गत मल, बिउ र सिँचाइ समयमै पारदर्शी रूपमा उपलब्ध गराइ न्यूनतम समर्थन मूल्य र बजार ग्यारेन्टी सुनिश्चित गर्ने वाचा गरेका छन् ।

त्यस्तै उत्पादनमा आधारित अनुदान, वास्तविक कृषक पहिचान र सरकार–किसान साझेदारी सुदृढ गर्ने, कृषि सञ्जाल सडक पहुँच विस्तार गर्दै विद्युतीय सिँचाइ सुविधाका लागि पहल गर्ने, पशु बीमा र बाली बीमा प्रभावकारी व्यवस्था गर्न आवश्यक पहल गर्ने पनि उनको वाचा छ ।

प्रदेश तथा स्थानीय तहसँग सहकार्य गरी सम्भावित स्थानहरूमा भूमिगत तथा जलस्रोतमा आधारित डिप बोरिङ कार्यक्रमलाई प्राथमिकता साथ अगाडि बढाउने, जैविक मल प्रयोग प्रवर्द्धन गर्दै भूगोल अनुसार उपयुक्त बाली विकास र विस्तार गर्ने लगायत योजना बनाएएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?