+
+
Shares

डा तारा जोशी : कम्युनिस्ट फापेन, ‘स्वतन्त्र’ ले साथ दियो

कम्युनिस्ट हुँदा जित्न नसकेका जोशीले ‘स्वतन्त्र’ शब्द रोजे । स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्य बनेका उनी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

रामहरि ओझा रामहरि ओझा
२०८२ फागुन २६ गते ८:११

२६ फागुन, डोटी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा तारा जोशी विजयी भएका छन् ।

२०४८ सालको निर्वाचनयता नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लगातार चुनाव जित्दै आएको यस क्षेत्रमा पहिलोपटक कांग्रेसको हार भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका डा जोशी १९ हजार १ सय ३१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत ल्याए ।

२०२७ सालमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ मा जन्मेका जोशीले आफ्नो राजनीतिक यात्रा कम्युनिस्ट विचार अंगाल्दै सुरु गरे । विद्यार्थी जीवनमै २०४५ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका जोशी पछिल्लो समय तत्कालीन नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य समेत भए ।

डा जोशीको २०४८ मा शिक्षण पेशामा पनि संलग्न भए । शिक्षक हुँदा शिक्षक सङ्गठनमा आवद्ध भई वैचारिक राजनीतिक गतिविधिलाई निरन्तरता दिएका डा जोशी २०५१ सालमा नेकपा (एमाले) डडेल्धुरा-काठमाडौं सम्पर्क मञ्चको सदस्य बनेर पार्टी राजनीतिमा पूर्ण रुपमा सक्रिय भए । एमालेभित्र रहँदा उनले विभिन्न जिम्मेवारी सम्हाले । २०५३ सालमा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य भएका डा जोशी २०५४ सालमा जिल्ला कमिटी सचिव बने ।

२०५५ सालतिर डा जोशी राजनीतिक जिम्मेवारीसँगै पत्रकारितामा पनि सक्रिय बने । त्यसक्रममा कञ्चनपुरबाट प्रकाशन हुने ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादकको जिम्मेवारी सम्हाले । उनले कान्तिपुर, नेपाल साप्ताहिक तथा भारतको ‘हिन्दूस्तान टाइम्स’मा समेत स्तम्भ लेख्दै समसामयिक राजनीतिक तथा नीतिगत विषयमा विचार प्रस्तुत गरे ।

जोशी प्रदेश सभा सदस्य पद त्यागेर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न तयार भए । रास्वपाले उनलाई डडेल्धुरामा उम्मेदवार बनायो, उनी सजिलै प्रतिनिधि सभा सदस्य बने

संगठनमा लामो समय काम गरेका डा जोशी २०६९ सालमा एमाले डडेल्धुराको जिल्ला अध्यक्ष भए । राजनीतिक गतिविधिसँगै उनले लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरे । विशेषगरी २०६२/६३ को जनआन्दोलनमा डा जोशीको सक्रिय सहभागिता रहेको थियो ।

जीवनको उर्जावान समय कम्युनिस्ट राजनीतिमा बिताएका जोशीलाई कम्युनिस्ट कहिल्लै फापेन । डडेल्धुरा जस्तो कांग्रेसको उर्वर भूमिबाट कम्युनिस्ट विचारधारा बोकेर राजनीति गर्न त्यति सजिलो पनि थिएन उनका लागि । तर, उनले त्यही विचार रोजे । आफूलाई कम्युनिस्ट पार्टीबाटै जनप्रतिनिधि वनाउन उनले गरेको प्रयास सफल भएन ।

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा उनी नेकपा एमालेबाट तत्कालीन गन्यापधुरा विकास समितिको अध्यक्षमा चुनाव लडे, तर पराजय हात लाग्यो । २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेबाटै डडेल्धुरा जिल्लामा उम्मेदवार भए । तर, कांग्रेस उम्मेदवार तथा पूर्वप्रधानमन्त्री देउवासँग फराकिलो मतान्तरले उनी पराजित भए । देउवाले २३ हजार ९२० मत प्राप्त गर्दा जोशीले सात हजार १९० मत मात्र प्राप्त गरे ।

२०७४ सालमा भएको सुदूरपश्चिम प्रदेशसभा सदस्यमा पनि एमाले-माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका जोशी नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति कर्ण मल्लसँग झिनो मतान्तरले पराजित भए । मल्लले १३ हजार ४ सय १३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५७ मत पाएका थिए ।

२०७८ सालमा एमाले फुट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर लागेका जोशी २०७९ सालमा सोही पार्टीबाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्न चाहान्थे । तर, देशव्यापी रुपमा कांग्रेस, तत्कालीन माओवादी र समाजवादी लगायतका दलहरुबीच भएको चुनावी गठवन्धनका कारण उनी उम्मेदवारको सूचीमा परेनन् ।

त्यसपछि डा जोशीले ‘स्वतन्त्र’ शब्द रोजे । उनले डडेल्धुरा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र-२ मा स्वतन्त्र उम्मेदवारी दिए । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता तथा तत्कालीन प्रदेशमन्त्री गोविन्दराज बोहरालाई पराजित गर्दै उनी माननीय बने । जोशीले ११ हजार १७० मत प्राप्त गर्दा बोहराले १० हजार ९७० मत पाएका थिए ।

२०७९ सालमा सफलता दिलाउने त्यो ‘स्वतन्त्र’ शब्द डा जोशीको राजनीतिक यात्राको नयाँ पाइला बन्यो । जेनजी विद्रोहपछि नयाँ चुनाव घोषणा भयो । लामो समय संगठनात्मक जीवन बिताएका जोशीले कुनै राजनीतिक संगठनमै समाहित हुने सोचे । उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा प्रवेश गरे । पछि उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकीकरण हुँदा उनी रास्वपा बने । उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ रास्वपाबाट अलगिए । जोशी भने रास्वपामै रोकिए ।

उनी प्रदेश सभा सदस्य पद त्यागेर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न तयार भए । रास्वपाले उनलाई डडेल्धुरामा उम्मेदवार बनायो, उनी सजिलै प्रतिनिधि सभा सदस्य बने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?