२७ फागुन, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन वार्ता भएको छ । वार्ता मध्यपूर्वमा जारी लडाइँमा केन्द्रित थियो ।
मंगलबार राति भएको टेलिफोन कुराकानीको क्रममा पुटिनले युद्ध छिट्टै रोकेर क्षेत्रीय तनाव कम गर्न आवश्यक रहेको बताएको रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जनाएको छ । पुटिनले यस द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्ने दोहोर्याएका थिए ।
उक्त फोन वार्ताका क्रममा पेजेश्कियानले रुसको समर्थन र मानवीय सहयोगका लागि धन्यवाद पनि व्यक्त गरेका थिए ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले पुटिनसँग टेलिफोनमा कुराकानी गरेको बताएका थिए । ट्रम्पका अनुसार दुई नेताबीच इरान युद्ध र रुस–युक्रेन युद्धको अवस्थाबारे छलफल भएको थियो ।
ट्रम्पले पुटिनले इरान युद्ध अन्त्य गराउन सहयोग गर्ने प्रस्ताव गरेको बताएका छन् । तर उनले पुटिनलाई यदि रुस–युक्रेन युद्ध अन्त्य गराउन सहयोग गरे त्यो अझ राम्रो हुने बताएका थिए ।
ट्रम्पका अनुसार उनले पुटिनलाई भनेका थिए, ‘यदि तपाईं युक्रेनको युद्ध अन्त्य गराउन मद्दत गर्न सक्नुहुन्छ भने, त्यो अझ उपयोगी हुनेछ ।’
फेब्रअरी अन्तिम साता अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट इरानका सर्वोच्च नेता अली खामेनीसहितका शीर्ष नेताहरु मरिएका थिए । अलि खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता चयन गरेको छ ।
रूसी राष्ट्रपति पुटिनले सोमबार मोजतबा खामेनीलाई इरानको नयाँ सुप्रिम लिडर बनेकोमा बधाई दिएका थिए । ट्रम्पले भने इरानका नयाँ नेताप्रति असन्तुष्टि जनाउँदै मोजतबा खामेनीलाई धेरै जनाले नचिनेको टिप्पणी गरेका थिए ।
प्रतिक्रिया 4