२० फागुन, काठमाडौं । अमेरिका र इजरायलले लगातार चौथो दिन इरानका विभिन्न लक्ष्यमा बमबारी गरेका छन् । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व ‘समाप्त भइसकेको’ दाबी गरेका छन् ।
इजरायली सेनाले तेहरानस्थित इरानको राष्ट्रपति कार्यालय, एउटा गोप्य परमाणु परिसर तथा रिभोलुसनरी गार्ड्सका एक कमान्डरमाथि आक्रमण गरिएको जनाएको छ । अमेरिकी सेनाले पनि कमान्ड सुविधा, क्षेप्यास्त्र प्रक्षेपण स्थल र सैनिक हवाई अड्डाहरू ध्वस्त पारिएको दाबी गरेको छ ।
इरानी अधिकारीहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । तर देशभरि विस्फोटका खबरहरू आएका छन् । इरानी रेड क्रिसेन्टका अनुसार शनिबारदेखि हालसम्म करिब ८ सय जनाको मृत्यु भइसकेको छ ।
इरानले जवाफस्वरूप इजरायल तथा अमेरिकी सैन्य अड्डा रहेका खाडी मुलुकहरूमा घातक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेको छ ।
मंगलबार राति कतारको दोहाको दक्षिणपश्चिममा अवस्थित मध्यपूर्वकै ठूलो अमेरिकी सैन्य अड्डा अल उदैदमा इरानी क्षेप्यास्त्र खसेको थियो । कतारको रक्षा मन्त्रालयले त्यसबाट मानवीय क्षति नभएको भने पनि भौतिक क्षति भए–नभएकोबारे खुलाएको छैन ।
मंगलबार साँझ दुबईस्थित अमेरिकी कन्सुलेट नजिकैको पार्किङ क्षेत्रमा एउटा ड्रोन खस्दा आगलागी भएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन् । त्यसको केही घण्टाअघि साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोन प्रहार भई सानो आगो लागेको साउदी रक्षा मन्त्रालयले जनाएको थियो ।
अमेरिका र इजरायलले शनिबार संयुक्त रूपमा इरानमाथि आक्रमण सुरु गरेका थिए । पहिलो चरणको हमलामा सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र वरिष्ठ अधिकारीहरू मारिएको दाबी गरिएको छ ।
ट्रम्पले इरानको बैलिस्टिक क्षेप्यास्त्र क्षमता, नौसेना, परमाणु हतियार विकास गर्ने क्षमता तथा क्षेत्रीय सहयोगी समूहहरूलाई दिइने समर्थन नष्ट गर्ने लक्ष्य रहेको बताएका छन् । उनले इरानी जनतालाई ‘आफ्नो सरकार फिर्ता लिन’ समेत आह्वान गरेका छन् ।
ट्रम्पले दिए इरानमा नयाँ आक्रमणको जानकारी
मंगलबार ह्वाइट हाउसमा ट्रम्पले भने, ‘हामीले निकै शक्तिशाली प्रभाव पारेका छौं । उनीहरूसँग भएको झन्डै सबै कुरा अब नष्ट भइसकेको छ । उनीहरूको क्षेप्यास्त्र संख्या घट्दैछ ।’
उनले ४९ जना इरानी नेताहरू मारिएको पुन: दाबी गर्दै ‘नयाँ नेतृत्वमाथि आज पनि अर्को प्रहार गरिएको’ बताए, तर थप विवरण दिएनन् ।
उनले मंगलबार पत्रकारहरुसँग भने, ‘पहिलो आक्रमणमै ४९ जना मारिए र आज नयाँ नेतृत्वमाथि पनि अर्को प्रहार भयो, त्यो पनि निकै प्रभावकारी देखिन्छ ।’
यो द्वन्द्वपछि इरानको सत्ता कसले सम्हाल्नुपर्छ भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले भने, ‘हामीले सोचेका अधिकांश व्यक्ति अब जीवित छैनन् ।’
ट्रम्पको पत्रकार सम्मेलनको केही समयपछि इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले तेहरानमा गरिएको हवाई आक्रमणमा कुद्स फोर्सअन्तर्गत लेबनान कोर्प्सका कार्यवाहक कमान्डर दाउद अलीजादेह मारिएको दाबी गरेको थियो । उनले इरान समर्थित लेबनानी समूह हिजबुल्लाहलाई इजरायलमाथि आक्रमण गर्न उक्साएको आरोप लगाइएको छ । सोमबारदेखि हिजबुल्लाहले सीमा क्षेत्रमा रकेट र ड्रोन प्रहार गरेपछि इजरायलले लेबनानमा दर्जनौं आक्रमण गरिरहेको छ ।
परमाणु सम्बर्द्धन केन्द्रमा निशाना
आईडीएफले तेहरानको रक्षा मन्त्रालयका लागि काम गर्ने वैज्ञानिकहरूले ‘परमाणु हतियारका लागि क्षमता विकास’ गरिरहेको एउटा क्षेत्रमा पनि आक्रमण गरेको जनाएको छ । इरानले भने आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको र परमाणु हतियार विकास गर्ने उद्देश्य नभएको दोहोर्याउँदै आएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले उपग्रह तस्बिरमार्फत नतान्जस्थित भूमिगत परमाणु ऊर्जा केन्द्रको प्रवेशद्वारको संरचनामा केही क्षति पुष्टि भएको जनाएको छ । तर मुख्य केन्द्रमा थप क्षति नदेखिएको जनाएको छ । इरानको आणविक ऊर्जा संगठनले नतान्जमा कुनै रेडियोधर्मी पदार्थ चुहावट नभएको दाबी गरेको छ ।
आईडीएफले मंगलबार बिहान तेहरानस्थित राष्ट्रपति कार्यालय र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् भवनमा बमबारी गरिएको जनाएको थियो । उपग्रह तस्बिरहरूमा राष्ट्रपति कार्यालय, न्यायिक परिसर, गुप्तचर मन्त्रालय, राज्य प्रसारक आईआरआईबीको भवन तथा रिभोलुसनरी गार्ड्स मुख्यालयमा व्यापक क्षति भएको देखिन्छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले रिभोलुसनरी गार्ड्सका कमान्ड–एण्ड–कन्ट्रोल संरचना, हवाई प्रतिरक्षा प्रणाली, क्षेप्यास्त्र र ड्रोन प्रक्षेपण स्थल तथा सैनिक हवाई अड्डाहरू नष्ट गरिएको जनाएको छ ।
खामेनीका उत्तराधिकारी छनोट गर्ने धार्मिक निकाय ‘असेम्ब्ली अफ एक्सपर्ट्स’को कार्यालय रहेको कुम शहरमा पनि बमबारी भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । बीबीसीले प्रमाणीकरण गरेका भिडियोहरूमा भवन लगभग पूर्ण रूपमा ध्वस्त देखिएको जनाएको छ ।
इरानी सेनाका अनुसार दक्षिण–पूर्वी प्रान्त केर्मानमा रहेको सैन्य हवाई आधारमा क्षेप्यास्त्र आक्रमण हुँदा १३ सैनिक मारिएका छन् ।
मानवअधिकारसम्बन्धी एक संस्था एचआरएनएले जारी लडाइँमा १७६ बालबालिकासहित ७४२ सर्वसाधारण मारिएको जनाएको छ ।
मिनाब शहरमा शनिबारको आक्रमणमा मारिएका बालबालिकाको अन्त्येष्टिमा ठूलो भीड देखिएको थियो । इरानी अधिकारीहरूले एक विद्यालयमा कम्तीमा १६५ छात्रा र कर्मचारी मारिएको दाबी गर्दै यसको दोष अमेरिका र इजरायललाई दिएका छन् । अमेरिकाले भने विद्यालयमा जानाजानी निशाना नबनाएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
इजरायलमा १० जनाको मृत्यु, कुवेतमा ६ अमेरिकी सैनिक मारिए
इरानले सयौं क्षेप्यास्त्र र ड्रोन इजरायल तथा अमेरिकी सैन्य अड्डा रहेका छिमेकी मुलुकहरूमा प्रहार गरिरहेको छ । इजरायलले अधिकांश अवरोध गरिएको दाबी गरे पनि केही क्षेप्यास्त्र खस्दा १० जनाको मृत्यु भएको छ ।
कुवेतमा ६ अमेरिकी सैनिक मारिएका छन् भने संयुक्त अरब इमिरेट्स, बहराइन र ओमान तट नजिक पनि मृत्युका घटना भएका छन् ।
कतारले आफ्नो भूमिमाथि भएको इरानी आक्रमणको निन्दा गर्दै यसको जवाफ दिने चेतावनी दिएको छ ।
इरानले विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने हर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा पनि गरिसकेको छ । ‘यस मार्गबाट गुज्रने कुनै पनि जहाज जलाइनेछ,’ रिभोलुसनरी गार्ड्सका ब्रिगेडियर जनरल इब्राहिम जब्बारीले चेतावनी दिएका छन् ।
बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरले साइप्रसमा रहेको एक हवाई अड्डाको रनवेमा इरानी ड्रोन प्रहार भएपछि एचएमएस ड्रागन नामक हवाई प्रतिरक्षा जहाज पठाउने बताएका छन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि साइप्रसको सुरक्षाका लागि चार्ल्स द गोल विमानवाहक समूह पूर्वी भूमध्यसागरमा परिचालन गर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया 4