News Summary
Generated by OK AI. Editorially reviewed.- द हिडन ट्रेजरले यसवर्षको मिस नेपाल २०२६ बाट मिस अर्थ विधा हटाउने निर्णय गरेको छ।
- निर्देशक प्रमोद कंशाकारले मिस अर्थबाट बाहिरिने कारण प्रतियोगितामा सफलता नपाउनु र खर्च बचत गर्नु भएको बताए।
- नेपालले मिस अर्थमा उत्कृष्ट प्रस्तुति दिँदै आएको भए पनि सेमिफाइनलमा प्रवेश पाउन सकेको छैन।
काठमाडौं । यसवर्ष आयोजना हुने ‘मिस नेपाल २०२६’ को संस्करणबाट ‘मिस अर्थ’ विधालाई हटाइएको छ । ३० वर्षदेखि मिस नेपाल आयोजना गर्दै आएको संस्था द हिडन ट्रेजरले यस्तो निर्णय लिएको हो ।
संस्थाले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएको छ । निर्देशक प्रमोद कंशाकारले ‘मिस अर्थ’ समावेश नहुने बताए । उनका अनुसार यसवर्ष वल्र्ड, कोस्मो र इन्टरनेसनल गरि ३ मिस नेपाल टाइटलको घोषणा हुनेछ ।
‘तत्कालका लागि हामीले मिस अर्थबाट बाहिरिने निर्णय गरेका छौं’ कंशाकारले भने, ‘प्रतियोगिता आयोजना गर्न थालेको यत्तिका वर्षमा हामीले निकै उत्कृष्ट र योग्य प्रतिस्पर्धी पठायौं तर, कुनै सफलता हात लागेन ।’
सन् २०२५ मा सोनी घले मिस अर्थको ट्यालेन्ट राउन्डमा विजयी भएकी थिइन् तर, उनलाई सेमिफाइनलमा पनि प्रवेश नगराइएकोप्रति कंशाकारले असन्तुष्टि पोखे । ‘हामीले मिस अर्थबाट बाहिरिएर खर्च जोगाउन खोजेका होइनौं । बरु, त्यहाँ लाग्ने खर्चलाई अन्य ३ जनाको तयारीमा खर्च गर्नेछौं’ उनले भने ।
उनले भनेजस्तै, पछिल्लो केही वर्षदेखि नेपालले मिस अर्थमा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । घलेले ट्यालेन्ट राउन्ड जित्दा सन् २०२२ मा सरिशा श्रेष्ठले एसिया र ओसियाना समूहबाट बेस्ट इको भिडियो अवार्ड जितेकी थिइन् । तर, नेपाल सेमिफाइनलमा प्रवेशबाट समेत बञ्चित हुँदै आएको छ ।
सुमना केसी, रैना मजगैयाँ, सुप्रिया श्रेष्ठ, रिया बस्नेत, प्रिया सिग्देल, रोजिना श्रेष्ठ, रोशनी खत्रीले पनि उत्कृष्ट प्रस्तुति दिएका थिए । वातावरणीय मुद्दाको वकालत गर्ने यो प्लाटफर्ममा नेपालले पर्वतीय हिमश्रृंखला, जलवायु परिवर्तन, प्रदूषण, पर्यटन लगायतका मुद्दा पेश गर्दै आएको थियो ।
वातावरणीय सचेतना र दिगोपनका मुद्दा समेट्दै फिलिपिन्सको क्यारोसेल प्रोडक्सनले सन् २००१ देखि यो विश्वप्रसिद्ध प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । नेपालले सन् २००२ देखि मिस अर्थमा सहभागिता जनाउन थालेको हो ।
प्रतिक्रिया 4