News Summary
Generated by OK AI. Editorially reviewed.- बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका लागि ६ हजार ७६३ बालबालिका र किशोर किशोरीलाई खोप लगाइने तयारी थालिएको छ।
- दादुरा संक्रमणका शंकास्पद ७४ जना बिरामी फेला परेका छन् जसमा ३२ जना उपचार भइसकेका छन् र सात जना बालबालिका उपचाररत छन्।
- फागुन २९ देखि चैत्र १ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ र २३७ स्वास्थ्यकर्मीलाई समेत खोप लगाउने तयारी गरिएको छ।
२८ फागुन, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका लागि शुक्रबारदेखि खोप लगाइने भएको छ । ढोरपाटनको विकट गाउँमा महामारीको रुपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिकाभित्रका ६ हजार ७६३ बालबालिका र किशोर किशोरीलाई खोप लगाउने तयारी थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ जनाएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ मा दादुरा रोगका शंकास्पद ७४ जना बिरामी फेला परेका थिए । जसमध्ये ३२ जना भर्ना भएर उपचार भइसकेको छ । सात जना बालबालिका अझै उपचाररत रहेका छन् ।
दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका–८ बोबाङ स्वास्थ्य चौकीमा आइसोलेसन तयार गरेर उपचार भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए।
तत्काललाई दादुरा थप फैलन नदिनका लागि नगरपालिकाका सबै वडाका १० देखि १९ बर्ष उमेर समूहका किशोर किशोरीलाई खोप लगाउन लागिएको हो । यस्तै उपचारमा संलग्न २३७ स्वास्थ्यकर्मीलाई समेत दादुराविरुद्धको खोप लगाउने तयारी थालिएको छ ।
खोप अभियानका लागि ढोरपाटन नगरपालिकाका ९ वटै वडामा फागुन २९ देखी चैत्र १ गते सम्म सञ्चालन गरिने छ । जस्का लागि अपुग स्वास्थ्यकर्मी छिमेकी गाउँपालिका बडिगाड र निसीखोलाबाट समेत झिकाइएको छ । अभियानमा महिला सवास्थ्य स्वयंसेविकाले समेत सघाउनेछ । स्वास्थ्य संकटग्रस्तका रुपमा लिएर संक्रमितको खोजतलास र उपचार संगै दादुरा नियन्त्रणका लागि खोप लगाउने तयारी गरिएको हो ।
फागुन ८ गते ढोरपाटनमा एक जनालाई दादुरा संक्रमण भएको पुष्टि भएको थियो । बिरामीको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्यचौकीको आइसोलेसनमा उपचार गरिएको छ ।
हावाबाट सर्ने दादुराको संक्रमणबाट मानवीय क्षति हुन नदिन र समयमै उपचार गराउनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप पठाएको छ । बुर्तिबाङ अस्पतालमा ३० वटा बेड, औषधि र आवश्यक सामग्री स्वास्थ्यमन्त्रालय गण्डकी प्रदेशसले व्यवस्थापन गरी पठाएको थियो ।
गाउँगाउँमै पुगेर नमुना संकलन, परिक्षण र संकास्पदलाई अस्पतालमै राखेर उपचार सुरु गरेका कारण छिट्टै नियन्त्रण गर्न सकिने अपेक्षा राखिएको छ । अधिकांश बिरामीलाई ज्वरो, खोकी र शरीरमा बिबिरा आउने गरेको पाइएको छ । नेपाल सरकारले सन् २०२६ भित्रै दादुरा रुबेलालाई ‘जनस्वास्थ्य समस्या नरहेको बनाउने’ अभियानलाई ढोरपाटनमा जोडेको हो ।
बागलुङ जिल्लामा सन् २०२२ मा गलकोट नगरपालिकामा १ जनालाई दादुरा संक्रमण देखिएको थियो । सन् २०२४ मा निसीखोला गाउँपालिकामा १ जनामा संक्रमण देखिएको थियो । दादुरा संक्रमण नियन्त्रणका लागि खोपनै सबैभन्दा उत्तम उपाए भन्दै ढोरपाटनका १० देखि १९ वर्ष उमेर समूहका सबै बालबालिकालाई तत्काल खोप लगाउन थालिएको हो ।
स्वास्थ्यकर्मीका अनुसार दादुरा लागेमा उच्च ज्वरो आउने, खोकी लाग्ने, नाक बग्ने, आँखा रातो हुने तथा शरीरभरि रातो दाना देखिने लक्षण देखा पर्छन् । समयमै उपचार नगरेमा निमोनियालगायत जटिल समस्या पनि देखिन सक्ने भएकाले लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जाँच गराउन आवश्यक हुन्छ ।
प्रतिक्रिया 4