+
+
Shares

धनुषामा एक महिनाअघि हत्या गरिएकी युवतीको अझै पहिचान खुलेन

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ फागुन २९ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको औरही गाउँपालिका–१ पौडेसरस्थित सडकछेउ २५ वर्षीया युवतीको गोली प्रहार गरी हत्या भएको प्रहरीले पुष्टि गरेको छ।
  • युवतीको पहिचान खुल्न नसकेको र ७७ वटै जिल्लामा तस्वीर र विवरण सार्वजनिक गरिएको प्रहरीले बताएको छ।
  • घटनास्थलबाट भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान भइरहेको र परिवारजन सम्पर्कमा नआएको प्रहरी प्रमुखले उल्लेख गर्नुभयो।

२९ फागुन, जनकपुरधाम । २३ माघको बिहान । धनुषाको औरही गाउँपालिका–१ पौडेसरस्थित सडकछेउ अन्दाजी २५ वर्षीया युवतीको शव फेला पर्‍यो । युवतीको बायाँ कञ्चटमाथि गोली लागेको निशान थियो । बायाँबाट छेडेर गोली दायाँभाग हुँदै निस्किएको थियो ।

ती युवती को थिइन् ? कसले उनको हत्या गरेको थियो ? अहिलेसम्म केही पत्तो लागेको छैन । प्रहरीले अनुसन्धान चलिरहेको बताउँछन् । तर, युवतीको पहिचानसम्म खुल्न सकेको छैन ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार कालो वर्णकी, करिब ५ फिट ४ इन्च उचाइ भएकी ती युवतीले निलो सुरुवाल, सेतो स्वेटर र खुट्टामा चप्पल लगाएकी थिइन् । स्वेटरको एउटा खल्तीमा बच्चाले खेल्ने सानो खेलौना र अर्को खल्तीमा नेपाली दैनिक पत्रिकाको कागजमा बेरिएको सिन्दूर भेटिएको थियो ।

खल्तीमा पाँच सयभन्दा केही बढी भारतीय रुपैयाँ पनि थियो । घटनास्थलबाट करिब २० मिटर पर तीन मुठा रायोको साग फेला परेको अनुसन्धानका सक्रिय प्रहरी अधिकृतहरू बताउँछन् ।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार युवतीको बायाँ कनपट्टीमाथि गोली प्रहार गरी हत्या भएको पुष्टि भएको छ । ‘बायाँ कानको माथि टाउकोमा प्रहार भएको गोली दायाँबाट निस्केको छ,’ एसपी कुवरले अनलाइनखबरसँग भने, ‘अनुसन्धान चलिरहेको छ । अहिलेसम्म युवतीको पहिचान खुल्न सकेको छैन ।’

भारतबाट कसैले फकाएर ल्याई यहाँ हत्या गरेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ । गम्भीर प्रकृतिको र विभत्स हत्या भएकाले हालसम्म शव व्यवस्थापन गरिएको छैन ।

घटनाको केही दिनपछि धनुषा प्रहरीले पहिचान पत्ता लगाउन मृतकको तस्वीर र हुलियासहितको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थियो । घटनाबारे प्रहरीले ७७ वटै जिल्लामा परिपत्र गरेको छ । भारतीय हुन सक्ने आशंका रहेकाले  भारतीय प्रहरीसँग पनि समन्वय गरिएको छ । तर, परिवारजन सम्पर्कमा आएका छैनन् ।

‘मृतकको पहिचानको लागि हामीले धेरै प्रयास गरेका छौं । मृतकको तस्वीर र हुलियासहितको विवरण ७७ वटै जिल्लामा पठाइएको छ । भारततिरको हुन सक्ने आशंकामा पहिचानका लागि भारतीय प्रहरीसँग समन्वय गरेका छौं,’ एसपी कुवरले भने ‘सामाजिक सञ्जालमा सार्वजनिक गरेका छौं । तर अझैसम्म पहिचान खुल्न सकेको छैन ।’

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार युवती मृत भेटिएको घटनास्थलको प्रकृति हेर्दा बायाँतर्फ कोही व्यक्ति बसेको जस्तो चिह्न देखिन्छ । कुराकानीकै क्रममा कञ्चटमा गोली प्रहार गरिएको हुन सक्ने प्रारम्भिक अनुमान छ । गोली लागेपछि युवती धेरै छटपटाउन नसकेर सडकबाट तलतिर लडेर घटानास्थलमै मृत्यु भएको देखिएको प्रहरीको अनुसन्धान छ ।

‘पहिला बायाँ छेउमा मानिस बसेर कुराकानी गरेको र त्यसपछि कानमाथि गोली प्रहार गर्दा धेरै संघर्षसमेत गर्न नपाएर घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ,’ अनुसन्धान अधिकारीले भने ।

भारतबाट कसैले फकाएर ल्याई यहाँ हत्या गरेको हुन सक्ने आशंका पनि प्रहरीले गरेको छ । गम्भीर प्रकृतिको र विभत्स हत्या भएकाले हालसम्म शव व्यवस्थापन गरिएको छैन । शव प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?