News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले सरकारलाई १८ घण्टाभित्रै अपदस्त गरिदियो र नयाँ राजनीतिक शक्तिको आगमन गरायो।
- जेनजी आन्दोलनले पुरानो सरकार विस्थापन, मधेशी युवाको सहभागिता र संवैधानिक आधारशिलाको अक्षुण्णता सुनिश्चित गर्यो।
- युवाहरूले राजनीतिक स्वच्छन्दता र परिवर्तनको माग राख्दै नयाँ नेतृत्वलाई काम गरेर देखाउनुपर्ने चुनौती दिएका छन्।
धोक्रे सुरुवाल र दोब्बर आयतनको सर्ट। हजुरबाले लगाउँदा इज्जत। बाले लगाउँदा पाखे र नातिले लगाउँदा स्वतन्त्रताको अभिव्यक्ति !
हिजोआज युवाले आफ्ना शरीर भन्दा धेरै ठूला आकारका वा पारम्परिक लवजमा भन्नु पर्दा जीउलाई मेल नखाने कपडा लगाएर हिंड्ने गरेका छन्। हामी अलि पुराना मान्छेले हेर्दा कस्तो कपडा लाउन पनि नजानेको जस्तो। जीउमा टपक्क मिलेका कपडा, खुट्टामै टासिएको पेन्ट। मोजा र पेन्टको बीचमा १ इन्चको दूरी, छोटो जुल्फी र टाउको सँगै गाँसिएको बाँकी कपाल! हामी वयस्कले बुझेको फेसन वा बस्त्र ज्ञान यही थियो। तर अहिलेको नवयुवा पुस्ताले यो कुरालाई पूरै इन्कार गरेको देखियो। उनीहरूले न त शरीरमा टमक्क मिलेका कपडा लगाए, न छोटो पारेर कपाल काटे न त ब्रान्डेड जुत्ता र टिमिक्क मोजा नै कसे।
उनीहरूको ड्रेसकोड त कस्तो जेपीटी खाले ? धोक्रे टाउजर वा पेन्ट, जीउभन्दा निकै ठूला सर्ट, ह्वार्लांग परेका टिसर्ट र जेपीटी खाले जुत्ता–चप्पल। मोजाको त नामोनिसानै छैन।
उनीहरूले सुन्दरताको आफ्नै परिभाषा बनाए जस्तो लाग्छ। अहिलेसम्म समाजले जे कुरालाई ‘फेसन सेन्स’ वा जीउ सुहाउँदो बस्त्र वा कपडा भन्यो, त्यो परिभाषालाई उनीहरूले चुनौती दिए। उनीहरूको लवाइखुवाइले आवाज विनै सम्प्रेषण गर्छ कि तिम्रा परिभाषा तिमी आफैंसँग राख, हामी आफ्ना जीवन सम्बन्धी सबै मानक आफैं बनाउँछौं। आफ्नै तरिकाले जिउँछौं।
अहिले युवाहरू पनि समाजका धेरै कथित अनुशासनका अनावश्यक घेराहरू तोड्न चाहन्छन् र तोड्न चाहन्छन् गह्रौं ‘वाद’ र ‘दर्शन’का भारी बोकेका ‘अर्थोडक्स’ राजनीतिक संस्कारहरू। कुन वाद, कुन दर्शन वा कुन सिद्धान्त ? केही मतलब छैन। बरु मतलब छ भने परिवर्तनको र परिवर्तनका वाहकको।
उनीहरू भन्छन् कि त्यसलाई भोट देउ वा सत्तामा पुर्याइदेउ जसले काम गर्छु भनेको छ। इतिहास कोट्याएर काम छैन। भविष्य त भोटरको हातमा सुरक्षित छँदैछ। त्यसैले वर्तमानमा काम गर्न खोज्नेलाई काम गर्ने ठाउँमा पुर्याऔं। उनीहरूका राजनीतिक एजेन्डा निकै सजिला देखिन्छन्। त्यसैले त नयाँ पुस्ताहरू छिटो र छरितो देखिन्छन् नि! गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनकै कुरा गरौं न। हो, त्यहाँ सरकारको अप्रजातान्त्रिक र असहिष्णु रबैयाका कारण धेरै होनहार युवाले अनाहकमा ज्यान गुमाउनुपर्यो। आन्दोलनमा भएको घुसपैठले अरबौं सार्वजनिक र व्यक्तिगत धनजनको क्षति हुनपुग्यो। यद्यपि आन्दोलनले लगभग १८ घण्टाभित्रैमा आफ्नो लक्ष्य भेट्टायो। सामान्यत: सरकारलाई चुनौती दिनसक्ने आन्दोलन सिर्जना हुन् वर्षौं अथवा दशकौं लाग्ने गर्छ। तर सरकारले कतैबाट पनि नपत्याएको त्यो आन्दोलनले यति छोटो समयमै लगभग दुई-तिहाइको सरकारलाई अपदस्त गरिदियो। किनकि युवाले ‘ड्रेसकोड’ नमाने जस्तै गरी राजनीतिका पुराना र भद्दा नियमका साङ्लालाई पनि चुँडाउन खोजेका थिए।
यो जेनजी आन्दोलनमा मुख्य ७ वटा राम्रा कुराहरू स्थापित भएका छन्। जस्तो कि १) पुरानो सरकार विस्थापन, २) मधेशी युवाहरूको मधेश र काठमाडौंमा भएका आन्दोलनहरूमा दमदार सहभागिता, ३) गोदी मिडियालाई भारतमा नसकेको पाठ नेपालमा सिकाउनु, ४) अन्तर्राष्ट्रिय र राम्रा भारतीय मिडियामा जेनजी आन्दोलनको ठूलो चर्चा, ५) पर्यटकलाई नेपाली युवाले निकै आदर र सुरक्षा गर्छन् भन्ने कुराको सन्देश, ६) संवैधानिक र कानूनी आधारशिलालाई अक्षुण्ण राखेको, ७) राजनीतिमा नयाँ अनुहार र नयाँ शक्तिहरूको आगमनको ढोका खोलेको।
त्यसैगरी यो जेनजी आन्दोलनबाट केही नराम्रा परिणाम पनि आएका छन्। जस्तो कि १) जेनजीको आवरणमा घुसपैठ भएर सार्वजनिक र व्यक्तिगत सम्पत्तिको ठूलो क्षति २) दोस्रो दिन सुरक्षा अंगले विशेष गरेर सेनाले सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नमा समयमै अग्रसरता नदेखाउनु ३) कुनै खालको प्रतिशोध राखेर होटल, शपिङ मलमा आगजनी गर्दा दशौं हजारले प्रत्यक्ष र लाखौंले अप्रत्यक्ष रूपमा रोजगारी गुमाउनु।
जेहोस् ७८ व्यक्तिको बलिदानी, सयौंको अंगभंग र अस्पतालको बास अनि अर्बौं सम्पत्तिको नोक्सानीको मूल्य चुकाएर फेरि एकपटक देशको मुहार फेर्नको लागि सुनौला ढोका खुलेको छ, त्यो पनि १८ घण्टाभित्रमै। भएका राजनीतिक दलले फेरि आफूलाई सुधार्ने सुनौलो मौका पाएका छन्। नयाँ शक्ति र व्यक्तिले पनि यो सन्दर्भलाई काम गर्ने र देश निर्माणमा योगदान दिने अवसरको रूपमा लिन सक्छन्।
यो सब तिनै ‘ड्रेसकोड’ विनाका ड्रेस लगाउने स्वछन्द, स्वतन्त्र र परिवर्तनगामी युवाको पहलमा आएको प्राप्ति हो। देशले यो मौकाको सदुपयोग गर्न सकेन भने देश फेरि झन् पछि पर्ने छ। फेरि पनि उसैगरी अरबमा बाफिन नेपाली युवाले आमाको न्यानो काख छोडिरहनुपर्नेछ। अनि नेतृत्वलाई पाल्न र सार्वजनिक प्रशासनको संयन्त्र जोगाउन बेरोजगार जनताबाट चर्को कर र रेमिट्यान्समा भर परिरहनुपर्नेछ। यद्यपि यो अन्यायपूर्ण सामाजिक संरचनालाई अब नेपाली जनता र विशेष गरेर युवा शक्तिले मन्जुर गरेर खुरु-खुरु विदेश जाने र तिनै शासकलाई पालेर बसिरहने देखिएन।
भदौ २३ र २४ को आन्दोलनको जगमा कुशासन, भ्रष्टाचार, युवाको राजनीतिक स्वच्छन्दता जस्ता तत्वहरूले इँटा थपेका थिए। सार्वजनिक सम्पत्ति माथिको चरम शोषण, रोजगारी सृजनामा सरकारको उदासीनता अनि शून्य जवाफदेहिता। त्यसमाथि नागरिकमाथिको सुरक्षामा सत्ताका शीर्ष तहमा रहेका व्यक्तिको गैरजिम्मेवारीपूर्ण टिप्पणी र युवालाई गिज्याउने खालको सामाजिक सञ्जाल माथिको बेमौसमी बन्देज।
‘युवाले देश र राजनीतिलाई बुझ्दैनन्। उनीहरू त भिडियो गेम खेल्छन्, मोबाइलमा रमाउँछन्, विदेश जान पुग्ने गरी पढ्छन् र उतै गएर जीवन व्यतित गर्ने इलम अपनाउँछन्। त्यसैले हामीले पढेगुनेका युवाशक्तिबाट डराउनुपर्दैन। जो नेपालमै बसेका छन् (बाध्य भएर वा चाहेर नै किन नहोस्) उनीहरू त हाम्रो राजनीतिक दाउपेचको चक्रव्यूहबाट बाहिर निस्कनै सक्दैनन्’ भन्ने जुन हदको भाष्य सत्ताका साझेदारहरूले निर्माण गरेका थिए त्यसलाई अहिलेको युवाको राजनीतक चेतना र सुझबुझले चकनाचूर बनाइदिएको छ। उनीहरूको केही हजारको डिस्कर्डले बनाएको सरकारले सबैभन्दा निष्पक्ष र समयमै चुनाव गरेर देखाइदियो।
यद्यपि युवाशक्तिले अझै केही कुरामा होसियारी र सुझबुझ देखाउनुपर्ने स्पष्ट देखिएको छ। हो, उनीहरू स्वच्छन्द र स्वतन्त्र छन् तर कतिपय व्यवहारहरूमा ‘म्याचुरिटी’ नदेखाउँदा उनीहरूको स्वतन्त्रताको ‘स्पिरिट’मा अड्चन आउन सक्ने देखिन्छ। त्यसमा मुख्यतया तीन वटा कमजोरीहरूको यहाँ थोरै चर्चा गर्ने अनुमति चाहन्छु। १) कुनै पनि व्यक्तिलाई तुरुन्तै देवत्वकरण वा राक्षसीकरण गरिहाल्ने प्रवृत्ति, २) सानातिना मतभेदलाई थाती राखेर ठूलो लक्ष्यको लागि कार्यगत एकता गर्न नसक्ने मनोवैज्ञानिक कमजोरी, ३) कुनै पनि एजेन्डामा लागिपरेर काम गर्ने भन्दा पनि पुराना नेताहरूको जस्तै भाषण गरेरै चर्चित र परिवर्तन हुन्छ जस्तो बुझाइ।
पहिलो कमजोरीको चर्चा गर्नुपर्दा हामी सजिलै कुनै पनि मानिसलाई भगवान् जस्तो महान् बनाउन लागिपर्छौं भन्नेबाट बहस शुरु गर्नुपर्ने हुन्छ। नेता पनि मानिस नै हो र उसका पनि कमजोरी हुन्छन् भन्ने कुरालाई हामी मान्दैनौं वा स्वीकार गर्न सक्दैनौं। पुराना पार्टीहरूले आफ्ना कार्यकर्तालाई आफ्नो नेतृत्वसँग असहमति राख्ने संस्कार नै स्थापित हुन दिएनन्। तर अब नयाँ बन्ने नेतृत्व र पार्टी पनि त्यस्तै भयो भने प्रजातान्त्रिक अभ्यास कसरी अगाडि बढ्ला ? नयाँ नेतृत्वमा आएका अनुहारहरू जस्तो कि बालेन, रवि, हर्कहरूलाई हामीले देवता मात्र मान्दै गयौं भने उनीहरूको मानव सुलभ गुण विस्तारै रित्तिंदै जाँदैन र ? फेरि यिनै व्यक्तिले गरेका सानातिना गल्तीलाई पनि हामीले क्षमा नदिई राक्षसीकरण गर्न लाग्यौं भने चुनाव जिते पनि कसरी उनीहरूले ‘डेलिभरी’ दिन सक्लान् ?
पछिल्लो समय बालेन सोही राक्षसीकरणको सिकार भए। उनलाई ‘लुसिफ़र’ पनि भनियो। मिडिया ट्रायल नै भयो उनीमाथि। उनले त न त्यो आन्दोलन अगाडि नै म यो सत्ता ढालेर सरकारमा जान्छु भनेका थिए न त आन्दोलन सकिएपछि नै प्रधानमन्त्री हुन कुनै चाहना देखाए। तर उनलाई राक्षसीकरण गर्ने प्रवृत्तिले सिकार बनायो।
त्यसो त उनले मेयर भएको शुरु–शुरुमा केही-केही जनताको भावना विरोधी काम पनि गरे राजधानीको गरिमा बढाउने नाममा। कतिपय कामहरू गर्दा उनले कुनै खालको विकल्प नदिई श्रमहारा वर्गलाई पीडा दिने खालका पनि थिए। तर त्यसमा उनको सुझबुझ नपुगेको स्पष्ट देखिन्छ। जेहोस् त्यतिखेर बालेनलाई समाजले विरोध गर्न चाहेन किनकि त्यतिखेर समाज उनलाई देवत्वकरण गर्ने मूडमा थियो। यी दुईवटै प्रवृत्तिले स्वयम् सो व्यक्ति र समाजलाई दूरगामी रूपमा नराम्रै असर पर्ने रहेछ। त्यसो त उनले काठमाडौंको फोहोरलाई स्थायी रूपमा समाधान गर्न योजना बनाएका थिए। तर उनीभन्दा माथिको संयन्त्र पूरै उनको विरोध र असफलतामा खुसी हुने भएकोले उनको योजना सफल हुन सकेन।
अब चर्चा गरौं युवा राजनीतिज्ञले गर्ने दोस्रो कमजोरीको बारेमा; जुन यतिखेर निकै सान्दर्भिक पनि छ। खासमा नयाँ शक्तिहरू मिलेर चुनावमा नगएका भए फेरि पनि नयाँलाई ( अझ भनौं नयाँ अनुहारलाई) मन पराउनेहरूको मत दशौँतिर बाँडिने र पुरानै अनुहार दोहोरिने खतरा थियो। यसो भनिरहँदा अहिले नयाँ भनेर चिनिएका अनुहार सबै असल भन्न खोजिएको किमार्थ होइन। तर नयाँ-नयाँ अनुहारलाई जिताएर पठाइरहने हो भने एक दिन न एक एक दिन पक्कै काम गर्ने र देशको मुहार फेर्ने अनुहार राज्य सञ्चालन गर्ने ठाउँमा पुग्नेछ भन्ने एउटा ‘हाइपोथेसिस’ लाई महत्व दिन खोजेको भने पक्कै हो।
यतिखेर केही नयाँ अनुहारहरूले मिलेर निर्वाचनमा जाने निर्णय गर्दै गर्दा यो पुरानाहरूको शासन संयन्त्रबाट आजित भएका जनतालाई विकल्प खोज्ने दिशातिर पहिलो पटापेक्ष हो जस्तो देखिन्छ। किनकि यी नयाँ नेताहरूले ठूलो उद्देश्यको लागि साना-तिना अडान, मनमुटाव र तितोमिठोलाई भुलेर ‘कम्प्रोमाइज’ गर्दा नयाँ अनुहारहरूले ठूलो जित निकाल्न सकेको स्पष्ट देख्न सकिन्छ।
राजनीतिमा ४०औं वर्षको अनुभवले खारिएर हुन सक्छ, ओली नेतृत्वको एमाले र देउवा नेतृत्वको कांग्रेस पक्कै कार्यगत एकता गरेर चुनावमा होमिने थिए। चिरकालीन प्रतिद्वन्द्वी भए पनि सत्ताको स्वाद लिन कसरी कार्यगत एकता गर्नुपर्छ भन्ने कुरा यी दुई पार्टीका यी दुई नेताहरूले सटिक ढंगले बुझेकै थिए। सरकारबाट च्युत भए पनि सत्ताका अवयवहरू त अझै पनि उनीहरूकै लय र पारामा छ अझैसम्म, किनकि उनीहरूले तीसौं वर्ष लगाएर तयार गरेका संयन्त्र ज्यूँका त्यूँ नै छँदैछन्। जतातिर जे काम गर्न खोजे पनि कानूनी र ‘ब्युरोक्रेटिक’ अल्झन उस्तै छन्। तर कांग्रेस गगनको नेतृत्वमा पुग्यो र उनले बरु हार्ने तर आत्म-सम्मानलाई दाउमा लगाएर एमालेसँग साँठगाँठ नगर्ने निर्णय गरे। समयले तुरुन्तै उनलाई यो साहसिक कदमको पुरस्कार दिन नसके पनि कुनै दिन पक्कै यसको जस प्राप्त हुनेछ। शायद उनले इतिहासको पानामा देउवापथको विरोध गर्न नसकेर पनि जनताले उनलाई दण्डित गरेका हुन सक्छन्।
नव उदीयमान नेतृत्वले पनि क्षणिक स्वार्थ र अति महत्वाकांक्षा पालेर अघि बढ्न खोज्ने र अरूले जस पाएको देख्न नसक्ने पुरानो राजनीतिक नेतृत्वको जस्तै संस्कार बोकेर हिंड्न खोज्यो भने ‘जुन जोगी आए पनि कानै चिरेका’ जस्तो परिस्थिति बन्न जान्छ। जेहोस् एकातिरबाट नयाँ शक्तिको रूपमा यो चुनावमा मिलेर भाग लिन आइपुगेकाहरूले मतदाताको नयाँ अनुहार र युवा नेतृत्वको चाहनालाई तृप्त गर्ने खालको छनोटको सटिक मौका उपलब्ध गरायो। यस ऐतिहासिक क्षणलाई ‘ड्रेसकोड’ नमाने जस्तै आन्दोलनका कुनै ‘फर्मूला’ लाई नमान्ने युवाले भदौ २३ र २४ गतेको बलिदानीपूर्ण विद्रोह मार्फत प्रदान गरेको एक सुनौला अवसरको रूपमा पनि लिन सकिन्छ। अहिलेलाई यत्ति भन्न सकिन्छ कि नेपाली आम मतदाताले यो अवसरको उच्चतम सदुपयोग गरेका छन्। पछि अन्यथा भएमा सुधारौंला।
अब तेस्रो कमजोरीको बारेमा चर्चा गरौं। अहिलेसम्मका नेपाली नेताहरूले विकासलाई भाषणसँगै साटिरहे। प्रधानमन्त्री र मन्त्रीहरूले तिलस्मी भाषण, उखान टुक्का र केही थान निर्देशनहरूले नै विकास हुन्छ भन्ने दृष्टान्त पस्किरहे। यसका बाबजुद जेनजी आन्दोलनपछि बनेको सरकारसँग युवाहरूले सुशासन र विकासका केही मुद्दाहरूमा सहकार्य गरेर ठोस कदम चाल्ने छन् भन्ने आम बुझाइ थियो। तर यस्ता कामहरूमा प्रभावकारी रूपमा कुनै ठोस र सटिक शुरुवात भएको देखिएन, केही स-साना ‘इनिसिएटिभ’ बाहेक। विशेष गरेर निर्वाचन प्रणालीलाई समावेशी बनाउन र मालपोत लगायत सेवालाई स्थानीय तहमा लैजान यो सरकारले केही ठोस कदम चालेको थियो। तर छोटो समय र सम्बन्धित एजेन्सीहरूको राम्रो सहयोग पाउन नसक्दा यी कदमहरू धेरै प्रभावकारी हुन सकेनन्। निर्वाचन गर्ने बाहेक अरू कार्य गर्न सरकारको इच्छाशक्ति पनि निकै कमजोर देखियो।
यो सरकारलाई आम युवा शक्ति र पार्टीहरूको पनि उस्तो सहयोग देखिएन। दोष लगाउन र शंका गर्नमै धेरैजसो व्यक्तिहरू आतुर थिए। नेपालमा प्राय:जसो सबै जना आफैं सरकारमा गएपछि मात्र जादुमयी काम गरेर देखाउने सोच लिएर बस्छन्। अनि आफ्ना ठूला-ठूला विकासका योजनाहरू पनि अरूले थाहा पाउलान् कि जस्तो उनीहरू गर्छन्। केही वर्ष अगाडि नेपाली कांग्रेसका एक कहलिएका नेताले यस्तै आशय लाग्ने भाषण गरेका थिए। उनले आफ्नै पार्टी सम्मिलित सरकार हुँदाहुँदै पनि आफैं मन्त्रिपरिषदमा प्रत्यक्ष संलग्न भएपछि मात्र आफ्ना विकासका महान् योजनाहरू कार्यान्वयन गर्ने बताएका थिए।
के आफू सरकारमा नगइकन कसैले देशलाई कुनै पनि योगदान दिन नसक्ने नै हो ? अनि सरकारमा नपुग्दासम्म सरकारमा भएका व्यक्तिहरूको विरोध गर्नु नै एक मात्र सम्भव हुने योगदान हो ? त्यसो भए त देशको विकास हुन त मन्त्रिमण्डलमा रहने मन्त्रीहरूले मात्रै काम गरे पुग्ने भयो। यसो भनिरहँदा सरकारलाई खबरदारी गर्ने जनताको अधिकारलाई अवमूल्यन गर्न खोजेको भने पक्कै होइन।
जे होस्, अब आम नेपाली जनताले युवाको नेतृत्वमा फेरि एकपटक परिवर्तनको बिगुल फुकिसके। अब परिवर्तनको चाहनालाई त्यसै बेवारिसे बन्न दिनुहुँदैन। युवाहरूले बलिदान गरेर रोपेको परिवर्तनको बिरुवामा पानी र गोडमेल गर्नु हामी सबैको कर्तव्य हो।
जित्नेहरूलाई बधाई ! तर अब काम गरेर देखाउने र नागरिकको जीवनस्तर सुधार्ने जिम्मा बधाई पाउनेहरूले लिनुपर्नेछ। नागरिकले धेरै पटक फरक-फरक पार्टीलाई बहुमत दिइसके। यो त्यसको पछिल्लो संस्करण मात्रै हो। कम्तीमा पनि सुशासन र रोजगारीको क्षेत्रमा भोलिबाटै काम गर्न शुरु गर्नुपर्नेछ। देश बदल्ने कामको सफलताको लागि बालेन ‘टिम’लाई अग्रिम शुभकामना। के फेरिएका टाउकाहरूले देशको मुहार फेर्न सक्लान् ?
प्रतिक्रिया 4