News Summary
Generated by OK AI. Editorially reviewed.- नर्वेको चलचित्र ‘सेन्टिमेन्टल भ्यालु’ले ९८औँ एकेडेमी अवार्डमा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको सम्मान पाएको छ।
- ‘सेन्टिमेन्टल भ्यालु’लाई नर्वेजियन निर्देशक योआखिम ट्रियरले निर्देशन गरेका हुन् र यो पारिवारिक सम्बन्धमा आधारित भावनात्मक ड्रामा हो।
- नेपालबाट ‘अञ्जिला’ सिफारिस भएको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा ब्राजिल, दक्षिण कोरिया र भारतका फिल्महरू पनि प्रतिस्पर्धामा थिए।
लस एन्जलस । नर्वेको चलचित्र ‘सेन्टिमेन्टल भ्यालु’ यस वर्षको अस्कर अवार्डमा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषित भएको छ ।
अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा उक्त फिल्मले यो सम्मान प्राप्त गरेको हो ।
अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा विश्वका विभिन्न देशबाट छनोट भएर आएका फिल्मबीच प्रतिस्पर्धा हुँदा नर्वेको प्रतिनिधित्व गरेको ‘सेन्टिमेन्टल भ्यालु’ विजेता बनेको हो ।
अस्करको यो विधा गैरअंग्रेजी भाषामा निर्माण भएका उत्कृष्ट चलचित्रलाई प्रदान गरिने सम्मान हो । ‘सेन्टिमेन्टल भ्यालु’ले उत्कृष्ट कथा, निर्देशन र प्रस्तुतिका कारण अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा पाउँदै आएको थियो ।
नेपालबाट यो विधामा ‘अञ्जिला’ सिफारिस भएको थियो ।
‘सेन्टिमेन्टल भ्यालु’ लाई प्रसिद्ध नर्वेजियन निर्देशक योआखिम ट्रियरले निर्देशन गरेका हुन् । यो फिल्मले पारिवारिक सम्बन्ध, सम्झना र कलाको संसारबीचको द्वन्द्वलाई केन्द्रमा राखेर निर्माण गरिएको भावनात्मक ड्रामा हो ।
फिल्मको कथा दुई दिदीबहिनी नोरा र एग्नेसको वरिपरि घुम्छ । उनीहरू आफ्ना बाबु गुस्ताभसँग लामो समयदेखि टाढा रहेका हुन्छन् । आमा बितेपछि बाबु पुनः उनीहरूको जीवनमा फर्कन्छन् र आफ्नै परिवारको कथामा आधारित फिल्म बनाउन चाहन्छन् ।
यस क्रममा पुराना पीडा, असमझदारी र सम्बन्धका जटिलता फेरि सतहमा आउँछन् । फिल्मले परिवार, स्मृति र कलाका लागि व्यक्तिगत पीडालाई प्रयोग गर्ने नैतिक प्रश्नलाई पनि उठाएको छ ।
यो फिल्म सन् २०२५ को कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो र त्यहाँ ग्रान्ड प्रिक्स अवार्ड समेत जितेको थियो । समीक्षकहरूले यसको संवेदनशील कथा, अभिनय र निर्देशनको निकै प्रशंसा गरेका थिए ।
यस वर्षको ओस्कारमा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नर्वेको ‘सेन्टिमेन्टल भ्यालु’सँगै ब्राजिलको ‘द सेक्रेट एजेन्ट’, दक्षिण कोरियाको ‘नो अदर च्वाइस’, भारतको ‘द भ्वाइस अफ हिन्द’ लगायतका विभिन्न देशका फिल्महरू प्रतिस्पर्धामा थिए ।
प्रतिक्रिया 4