News Summary
Generated by OK AI. Editorially reviewed.- कान्ये वेस्टको नयाँ दिल्लीमा हुने कन्सर्ट भूराजनीतिक अवस्था र क्षेत्रीय तनावका कारण मे २३, २०२६ मा सारिएको छ।
- कार्यक्रम नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा नै आयोजना हुने र पहिले किनिएका सबै टिकट यथावत् मान्य रहने छन्।
- आयोजकले कन्सर्टलाई विशाल स्टेज डिजाइन, सिनेम्याटिक दृश्य र अत्याधुनिक ध्वनि प्रविधिसहित भव्य र ऐतिहासिक बनाउने योजना बनाएको बताएका छन्।
नयाँ दिल्ली । र्यापर कान्ये वेस्टका प्रशंसकले उनलाई भारतमा पहिलोपटक लाइभ हेर्न अझ केही समय कुर्नुपर्ने भएको छ ।
२९ मार्चमा उनी राजधानी नयाँ दिल्लीमा प्रस्तुति दिने तयारीमा थिए । आयोजकले दिएको पछिल्लो जानकारी अनुसार ‘भूराजनीतिक अवस्था र क्षेत्रीय तनाव’ का कारण कार्यक्रम करिब दुई महिनाका लागि स्थगित गरिएको छ ।
यो जानकारी सोमबार इन्स्टाग्राम, ह्वाइटफक्स, प्लस इन्टरटेनमेन्ट र विजक्राफ्टमार्फत सार्वजनिक गरिएको हो । कन्सर्टको नयाँ मिति मे २३ तय गरिएको छ । पहिले किनिएका सबै टिकट यथावत् मान्य रहने पनि विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रम सार्नुको कारणबारे भनिएको छ, ‘हालको भूराजनीतिक अवस्था र क्षेत्रीय तनावका कारण नयाँ दिल्लीमा हुने ‘ये’ को कार्यक्रम अब मे २३, २०२६ मा सारिएको छ ।’
अघि भनिएको छ, ‘अन्तर्राष्ट्रिय रूपमा यात्रा गर्ने दर्शक, कलाकार तथा प्राविधिक टोलीको सुरक्षालाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ । सबै टिकट नयाँ मितिका लागि यथावत् मान्य रहनेछन् । तपाईंहरूको समझदारी र निरन्तर सहयोगका लागि धन्यवाद- टिम ‘ये लाइभ इन इन्डिया’ ।’
कार्यक्रमको स्थल भने परिवर्तन गरिएको छैन । कन्सर्ट नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा नै आयोजना हुने बताइएको छ । यसअघि आयोजकले जारी गरेको वक्तव्यमा कन्सर्टलाई विशेष अनुभवका रूपमा प्रस्तुत गरिने बताएका थिए।
उक्त वक्तव्यअनुसार दर्शकले विशाल स्टेज डिजाइन, सिनेम्याटिक ठूला दृश्य प्रस्तुति, अत्याधुनिक ध्वनि प्रविधि र कलाकारको सांगीतिक यात्रालाई समेट्ने गीतको प्रस्तुति अनुभव गर्न सक्नेछन् । प्रारम्भिक चरणका चर्चित गीतदेखि हालका लोकप्रिय सिर्जनासम्मलाई एउटै प्रस्तुतीमा सहज रूपमा जोड्दै कार्यक्रमलाई समग्र अनुभवका रूपमा तयार पारिएको उल्लेख गरिएको छ ।
भारतमा हुने कान्येको कन्सर्टबारे ह्वाइट फक्सका अमन कुमारले भनेका छन्, ‘हामी यो कार्यक्रमलाई भव्य र ऐतिहासिक बनोस् भन्ने चाहन्थ्यौं, र यो त्यस्तै हुनेछ । एक रात, एक प्रस्तुति, र पहिलोपटक । हामीले अझ धेरै दर्शकलाई सहभागी हुने अवसर मिलोस् भनेर काम गरिरहेका छौं, जुन भारतले अहिलेसम्म देखेको सबैभन्दा ठूलो कन्सर्ट बन्नेछ ।’
यसमा विजक्राफ्ट इन्टरनेसनलका सह-संस्थापक तथा निर्देशक सब्बास जोसेफले थपे, ‘भारत अहिले यस्तो चरणमा पुगेको छ जहाँ हाम्रो महत्वाकांक्षा, पूर्वाधार र दर्शकको स्तर विश्वस्तरीय प्रस्तुतीसँग मेल खान थालेको छ । ‘ये’ को यो स्तरको पहिलो प्रस्तुति भारतको लाइभ मनोरञ्जन क्षेत्र कति विकसित भइसकेको छ भन्ने देखाउँछ, साथै विश्वभर प्रभाव पार्ने ठूला कार्यक्रम आयोजना गर्न देश तयार रहेको संकेत पनि दिन्छ ।’
प्रतिक्रिया 4