नेपाली कमेडी क्षेत्रमा नयाँ प्रयोग हुने भएको छ । कमेडियन सुन्दर खनालले रोस्ट शैलीमा आधारित रियालिटी शो ‘कमेडी बाज’ ल्याउने तयारी गरेका छन् ।
उनकै निर्देशनमा तयार भइरहेको यो कार्यक्रम आगामी वैशाखको पहिलो साताबाट प्रसारण गर्ने लक्ष्य राखिएको छ । सुन्दरका अनुसार नेपालमा यस प्रकारको कमेडी रोस्ट ब्याटल ढाँचाको शो पहिलोपटक दर्शकसामु प्रस्तुत गर्न लागिएको हो ।
कार्यक्रममा सीता न्यौपाने, सुशान्त बस्याल र आशिष न्यौपानेजस्ता कमेडियनहरू प्रस्तोताका रूपमा देखिनेछन् । होस्टको भूमिकामा भने मिस नेपाल २०२५ की प्रतिस्पर्धी आरती थापा रहनेछिन् ।
निर्देशक खनाल स्वयं पनि शोमा सक्रिय रूपमा देखिनेछन् । उनले निर्देशनसँगै होस्टको भूमिका पनि सम्हाल्ने जानकारी दिएका छन् । साथै, कार्यक्रममा समय–समयमा चर्चित अनुहारहरू गेस्ट पर्फर्मरका रूपमा सहभागी हुनेछन्, जसले रोस्टलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ ।
यो कार्यक्रम युट्युबसँगै राष्ट्रिय टेलिभिजनमार्फत प्रसारण गर्ने तयारी गरिएको छ । यसअघि नै उनी चैत २० गतेदेखि प्रसारणमा आउने ‘कमेडी दरबार ३’ मार्फत पनि दर्शकमाझ फर्किँदै छन् ।
प्रतिक्रिया 4