+
+
Shares

माया आश्रय लिन माइती गएकी थिइन्, छोराछोरीसहित भेरीमा हेलिइन्

श्रीमान् भूपेन्द्रविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

माया पतिले सधैँ कुटपिट गर्ने गरेको, अन्य केटीसँग सम्बन्ध राख्ने गरेको, खुकुरीले मार्ने धम्की दिने गरेको भनेर सुनाउँदै थिइन् । त्यसो भन्दैगर्दा पति भूपेन्द्रले माइतीकै अगाडि मायालाई तीन–चार मुक्का हानेका थिए ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ चैत ५ गते २१:२४

५ चैत, सुर्खेत (गुर्भाकोट) । ३ चैत, मंगलबार पूर्वी सुर्खेतको गुर्भाकोट-७, मेहेलकुना पुग्दा भेरी नदी किनारामा सयौं स्थानीय भेला भएका थिए । गुर्भाकोटको मध्य भागबाट बग्ने भेरी चैतमा पनि उर्लिएको छ । तर नदी किनाराको बगरमा सन्नाटा छाएको छ ।

हिमनदी पग्लेर बग्ने भेरीको सङ्लो पानीमाथि तैरिएका छन्, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ३-४ वटा डुंगा । ‘सलाम साब !, ६-७ किलोमिटर तलसम्म खोजिसक्यौँ । तर कतै फेला पार्न सकिएन, हजुर,’ डुंगामा सवार एक जवानले घटनास्थलमा खटिएका प्रहरी अधिकृतलाई रिपोर्टिङ गरे ।

उनीहरू तीन दिनदेखि आफ्नै आमासँगै भेरीमा हेलिएका एक पाँच वर्षीय बालकको खोजीमा छन् । तर फेला पार्न सकिरहेका छैनन् । भेरीको यही किनारबाट हो, आइतबार बेलुकी गुर्भाकोट–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतले आफ्नी ११ वर्षीया छोरी र पाँच वर्षीय छोरा च्यापेर भेरीमा हाम फालेको ।

सोमबार बेलुका लेकबेसी-३, को पटारेमा मायाको शव भेटिएको थियो भने छोरीको शव गुर्भाकोट-१२ स्थित भेरी किनारमा मंगलबार बिहान भेटिएको छ । पाँच वर्षीय छोरा भने अझै बेपत्ता छन् । उद्धार टोली चार दिनदेखि खोजीमा जुटिरहेको छ ।

भेरी किनारामा उपस्थित भिडको एउटै जिज्ञासा थियो– मायाले किन यस्तो कठोर निर्णय लिइन् ? त्यस्तो के आइलाग्यो, जसले छोराछोरीसहित भेरीमा हाम फालिन् ?

तर, आत्महत्याको कारणबारे न स्थानीयवासीले भेउ पाएका थिए, न प्रहरीले । मायाका श्रीमान् पनि घटनास्थलमै थिए ।

०००

२९ फागुन शुक्रबार बेलुका ६ बजे माया गुर्भाकोट-१२ मा रहेको आफ्नो कान्छो बुवाको घरमा गइन् । साथमा थिइन्, ११ वर्षीया छोरी आशा र ५ वर्षीय छोरा दीपक कठायत । उनी त्यहाँ चार वर्षपछि गएकी थिइन् ।

कहिल्यै नआउने छोरी एक्कासि आएपछि कान्छा बुवाको परिवार खुसी थियो । ‘यति बेला कहाँबाट आएको त ?,’ कान्छा बुवा अमरदेव गिरी सोध्छन् । मायाले आफू नसाको बिरामी रहेको र नेपालगञ्जबाट उपचार गराएर आएको जवाफ दिन्छिन् ।

अमरदेव गिरी

त्यसको केही बेरपछि अमरदेवलाई मायाका श्रीमान् भूपेन्द्र कठायतले फोन गर्छन् । ‘ससुरा, त्यहाँ छोरी आएकी छे ?’ अमरदेवले आएको जवाफ दिएपछि भूपेन्द्रले आफू लिन आउन लागेकाले छोरीलाई घर माथिको बाटोमा पठाइदिन भन्छन् ।

तर, अमरदेवले घरमै आउन आग्रह गर्छन् । भूपेन्द्र आउन मान्दैनन् । खाना खाएर माया छोराछोरीसहित श्रीमानसँग जान्छु भनेर घरबाट निस्किन्छिन् । एक छिनपछि फेरि ज्वाइँ भूपेन्द्रको फोन आउँछ, ‘ससुरा, म माथि छु । छिटो पठाइदिनु पर्‍यो ।’ अमरदेवले छोरी अगाडि नै घरबाट निस्किसकेको जवाफ दिन्छन् ।

‘पछि ज्वाइँ पनि आए, हामीले आधा घण्टासम्म पर-पर खोज्यौँ । तर कतै भेटाउन सकेनौँ,’ अमरदेवले भने, ‘पछि त यही नजिकै लुकेर बेसेकी रहिछिन् । श्रीमानले कुट्छ भन्ने डरले ।’ अमरदेवले सबैलाई घर बोलाए ।

माया कान्छा बुवा अमरदेवसँग श्रीमान्ले सधैँ कुटपिट गर्ने गरेको, अन्य केटीसँग सम्बन्ध राख्ने गरेको, घरमा एउटा खुकुरी राखेको, त्यही खुकुरीले मार्ने धम्की दिने गरेको भनेर सुनाउँदै थिइन् । त्यो भन्दै गर्दा श्रीमान् भूपेन्द्रले माइतीकै अगाडि तीन–चार पटक मायालाई मुक्काले हान्छन् । अमरदेवको परिवारले छुटाउँछ ।

भूपेन्द्र कठायत

‘हामीलाई पछि पो थाहा भयो, छोरी नेपालगञ्जबाट नभई बुढाबुढीबीच झगडा भएपछि घरबाटै आएकी रहिछन्,’ अमरदेवले अनलाइनखबरसँग भने, ‘त्यसपछि मैले छोरीलाई राति लैजान दिइनँ । ज्वाइँले रक्सी पनि खाएका थिए । भोलि फ्रेस भएपछि छलफल गरेर लैजानुहोला भनें ।’

तर, भूपेन्द्रले मायासँग आफ्नो घरबार हुन नसक्ने र अब छुट्टिएर बस्ने भन्दै दम्भ देखाए । श्रीमतीले भनेको नमानेपछि आफूले नाङ्गाकी छोरी (गरिबकी छोरी) भनेको तर खुकुरी सुरक्षाको लागि घरमा राखे पनि उसलाई नदेखाएको बताए ।

जवाफमा अमरदेवले जे गरे पनि भोलि हुन्छ भन्दै भूपेन्द्रलाई घर पठाए र १०:३० बजे आफू पनि सुत्न गए ।

०००

३० फागुन शनिबार अमरदेव बिहानै घरको कामले बाहिर निक्सिए । दिउँसो १२ बजे घरमा आएर खाना खाए । फेरि अर्को काममा निक्सिए । त्यति बेलासम्म मायासँग कुनै कुरा भएको थिएन । बेलुका घर आउँदा सबै सुतिसकेका थिए । बिहान आउँछु भनेका ज्वाइँ भूपेन्द्र राति ९ बजे अमरदेवको घर आए ।

अमरदेवले भूपेन्द्रलाई केही सम्झाए । त्यो दिन भूपेन्द्र अलि शान्त थिए । ‘भोलि बिहान थप छलफल गरेर छोरी लैजानुहोला भनेर म सुत्न गएँ । ज्वाइँलाई पनि यही सुत्न भनें । तर उनी ११ बजे गइहालेछन्,’ अमरदेवले भने ।

१ चैत, आइतबार बिहान ६ बजे माया श्रीमान्सँग राम्रो कुरा भएको र अब मारपिट नगर्ने सहमति भएको भन्दै घर जान भनेर कान्छा बुवाको घरबाट निक्सिन्छिन् । अमरदेवले पनि घरझगडा मिल्यो होला भन्ने ठानेर पठाउँछन् ।

दिउँसो करिब १२:३० बजे ‘तपाईँको छोरी खै त ?’ भन्दै ज्वाइँ भूपेन्द्र अमरदेवको घर आउँछन् । ‘तक्छिन् त म झसङ्गै भएँ । छोरीलाई त बिहानै पठाइसकेको त ? तपाइँको भेट भएको छैन भनेर सोधें,’ त्यो दिन सम्झिँदै अमरदेवले भने, ‘उनी कुरै नसुनेर हुइँकिहाले ।’

अमरदेव पनि खोजतलासमा लागे । तर कतै फेला पारेनन् । सोही दिन बेलुका भूपेन्द्रले नै फोन गरेर भेरी किनारामा कपडा, झोला र चप्पल भेटिएको तर मान्छेको अत्तोपत्तो नभएको भन्दै अमरदेवलाई जानकारी दिए ।

०००

आइतबार बेलुका करिब ४ बजे आकाश गड्याङगुडुङ गरिरहेको थियो । पानी पर्न थालेपछि मेलापात गएकाहरू घर फर्किन थालेका थिए । त्यति नै बेला माया छोराछोरीसहित भेरी किनारामा देखिएकी थिइन् ।

भेरी किनारामा बाख्रा चराउन गएका स्थानीय ६७ वर्षीय करवीर बुढाले मायालाई सोधे, ‘कहाँ जान लागेको यति बेला ?,’ अर्कै मुडमा रहेकी मायाले जवाफ दिइन्, ‘गाडीमा आएको, बाबुले उल्टी गर्‍यो । त्यही धुन आएको हुँ ।’

तर, मायाको उत्तर चित्त बुझ्दो थिएन । करवीरले घर पुगेर उक्त कुरा आफ्नो परिवारलाई सुनाए । उनकी श्रीमतीले मायाको परिवार आफ्नो आफन्त पर्ने कुरा गरिन् । मायाका श्रीमान् भूपेन्द्र दिउँसोदेखि नै श्रीमती र छोराछोरीको खोजीमा थिए ।

मृतकका दाजु प्रेमराज गिरीका अनुसार आइतबारदेखि भान्जी आशाको कक्षा पाँचको अन्तिम परीक्षा थियो । परीक्षा दिन नआएपछि विद्यालयबाट भिनाजु भूपेन्द्रलाई फोन गएको थियो । स्कुलबाट फोन आएपछि भूपेन्द्रले अम्मरदेवलाई फोन गरेर ‘तपाईँकी छोरी कहाँ छिन् ?’ भनेर सोधेका थिए । ‘मैले बिहानै घरबाट गइसकेको भनेँ,’ अमरदेवले भने, ‘त्यसपछि खोजी सुरु भयो । खोज्दै जाँदा भेरी नदी किनारमा कपडा, मोबाइल र केही रुपैयाँ भेटायौँ ।’

भिनाजुको यातनाकै कारण दिदीले त्यस्तो निर्णय लिएका मृतक मायाका दाजु प्रेमराज गिरी बताउँछन् । दशैँ यताबाट बहिनीमाथि निरन्तर कुटपिट हुँदै आएको उनले बताए ।

‘पहिले भूपेन्द्र भारतमा कमाउन जान्थे, वर्षमा एक–दुई पटक घर आउँथे । बहिनीसँगको सम्बन्ध पनि राम्रै थियो,’ प्रेमराजले अनलाइनखबरसँग भने, ‘दशैँ यता ज्वाइँ पनि यतै अटो किनेर चलाउन थाले । त्यसपछि नियमित मानसिक र शारीरिक यातना दिन थालेपछि अहिले यस्तो अवस्था आयो ।’

माइती पक्षले श्रीमान्को यातनाकै कारण बहिनी र भान्जा–भान्जी गुमाउनु परेको भन्दै निष्पक्ष अनुसन्धान गरी संलग्नलाई कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरेका छन् । ‘माइतीमै आएर मेरै अगाडि छोरीलाई कुटपिट गर्नेले घरमा कति यातना दिन्थ्यो होला ?,’ मृतकका कान्छा बुवा अम्मरदेवले भने, ‘घरमा फर्केपछि फेरि यातना पाइने डरले छोरीले नाति–नातिनीसहित भेरीमा हाम फालेको देखिन्छ ।’

इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रकाश केसीले प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कलहका कारण घटना भएको देखिएको बताए । ‘श्रीमान्–श्रीमतीबीचको झगडाका कारण आमा छोराछोरीसहित भेरीमा हाम फालेको देखिन्छ,’ प्रहरी निरीक्षक केसीले भने ।

भूपेन्द्रविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

छोराछोरीसहित भेरीमा हाम फालेकी माया कठायतका श्रीमान् भूपेन्द्र कठायतविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको छ । मृतक मायाका बुवा र दाजुले बिहीबार आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गराएका हुन् ।

जाहेरी परे लगत्तै भूपेन्द्रलाई पक्राउ गरी अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रकार केसीले जानकारी दिए । श्रीमान्को चरम यातनापछि भेरी नदीमा छोराछोरीसहित मायाले हाम फालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख छ ।

मायाका बुवा बालुदेव गिरीले दैनिक मदिरा सेवन गरेर छोरी र नाति–नातिनालाई यातना दिने गरेका कारण बाध्य भएर भेरी नदीमा हाम फालेर आत्महत्या गरेको जाहेरीमा उल्लेख गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?