News Summary
Generated by OK AI. Editorially reviewed.- भारत सरकारले कन्नड फिल्म केडी: द डेभिलको गीत 'सरके चुनर तेरी सरके' लाई अश्लील शब्द भएको भन्दै सबै प्लेटफर्मबाट हटाएर प्रतिबन्ध लगाएको छ।
- राष्ट्रिय मानव अधिकार आयोगले केन्द्र सरकारलाई कानुनी नोटिस पठाएको र राष्ट्रिय महिला आयोगले कलाकार तथा निर्मातालाई उपस्थित हुन नोटिस जारी गरेको छ।
- गीतकार रकीब आलमले गीतमा आफ्नो शब्द नभएको र आफूले कन्नडबाट हिन्दीमा अनुवाद मात्र गरेको बताएका छन् भने नोरा फतेहीले शब्दको अर्थ थाहा नपाएको बताएकी छिन्।
कन्नड फिल्म केडी: द डेभिलको गीत सरके चुनर तेरी सरके… विवादमा तानिएपछि भारत सरकारले गीतलाई सबै प्लेटफर्मबाट हटाएर प्रतिबन्ध लगाएको छ । नोरा फतेही र सञ्जय दत्तलाई लिएर छायांकन गरिएको यस गीतमा अश्लील शब्दहरू भएको भन्दै भारत सरकारले प्रतिबन्ध लगाएको हो ।
गत हप्तामा यो गीतलाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले केन्द्र सरकारलाई कानुनी नोटिस नै पठाउनु परेको थियो । राष्ट्रिय महिला आयोगले पनि फिल्मका कलाकार तथा निर्माताहरूलाई उपस्थित हुन नोटिस जारी गरेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार अलीगढको सङ्गठन मुस्लिम पर्सनल दारुल इफ्ताले नोरा फतेहीविरुद्ध फतवा जारी गरेको छ । यो भनेको कुनै विशेष मुद्दामा अधिकारप्राप्त इस्लामिक विद्वानले लिने एक प्रकारको गवाह हो ।
यसैगरी फिल्ममा आबद्ध अन्य कलाकारहरूले समेत गीतको शब्दलाई लिएर खेद प्रकट गरेका छन् । गायिका माङ्लीले भने सामाजिक सञ्जालमा माफी माग्दै गीतको नयाँ संस्करण ल्याउने वाचा गरेकी छिन् । गीतकार रकीब आलमले पूरा गीतमा आफ्नो शब्द कतै नभएको, आफूले मात्र कन्नडबाट हिन्दीमा अनुवाद गरेको बताएका छन् ।
अभिनेत्री नोरा फतेही स्वयंले सामाजिक सञ्जालमा एक भिडियो हाल्दै आफूले यो गीत कन्नडमा सुट गरेको तर शब्दहरूको अर्थ थाहा नभएको बताएकी छिन् । पछि हिन्दीमा सुन्दा भने आफू छक्क परेको उनले सुनाएकी छिन् । त्यसैले गीतलाई कतै पनि प्रवर्द्धन नगरेकी उनले बताएकी छिन् ।
गीतमा प्रतिबन्ध
गीतको विवाद संसदसम्म समेत पुग्यो । १७ मार्चमा मानव अधिकार आयोगले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी) का अध्यक्ष प्रसून जोशी, सूचना तथा प्रसारण मन्त्रालयका सचिव र गुगल इन्डियालाई कानुनी नोटिस नै जारी गरेको थियो । यसपछि केन्द्रीय सूचना तथा प्रसारण मन्त्रीले संसदमा यस गीतलाई सबै भाषामा र हरेक प्लेटफर्मबाट हटाउने घोषणा गरेका थिए ।
सीबीएफसी अर्थात् सेन्सर बोर्डले भने यो गीत स्वीकृतिका लागि आफूहरूकहाँ नआएको र इन्टरनेटमा हालिने सामग्रीहरूमा आफ्नो प्रत्यक्ष नियन्त्रण नरहेको बताएको छ । सीबीएफसीको वेबसाइटका अनुसार कुनै फिल्म प्रमाणीकरणका लागि आवेदन दिँदा त्यसको शब्द र टाइम कोड पनि दिनुपर्ने हुन्छ ।
यद्यपि भारतमा आइटम नम्बरमा प्रतिबन्ध लागेको यो पहिलो पटक होइन । हालै गायक बादशाहको हरियाणवी गीत तातीरीलाई पनि सबै प्लेटफर्मबाट हटाइएको थियो । यसअघि फिल्म खलनायक (१९९३) र राजा बाबु (१९९४) का गीतहरूलाई अल इन्डिया रेडियो र दूरदर्शन जस्ता प्लेटफर्ममा प्रसारण गर्न रोक लगाइएको थियो।
बलिउड र आइटम नम्बर
बलिउडमा आइटम नम्बरको प्रयोग निकै पुरानो छ ।
पत्रकार तथा फिल्म समीक्षक सुपर्णा शर्माका अनुसार यस्ता गीतमा ४० को दशकतिर पुरुष कलाकारहरू नै महिलाको भेषमा नाच्ने गर्थे । त्यसपछि १९४० र ५० को दशकमा अभिनेत्री कुकूले आइटम नम्बरमा उदाइन् । उनले पतली कमर है (बरसात, १९४९) र बेचैन दिल खोई सी नजर (यहूदी, १९५८) जस्ता हिट गीतहरूमा प्रस्तुति दिएकी थिइन् ।
कूकू पछि हेलन बलिउडमा ‘डान्सिङ क्विन’का रूपमा उदाएकी थिइन् । उनको समयमा ये मेरा दिल प्यारका दिवाना (डन, १९६७) र पिया तू अब तो आजा (कारवा, १९७१) जस्ता धेरै हिट गीतहरू आएका थिए ।
इकोनोमिक एन्ड पोलिटिकल विक्लीमा प्रकाशित एउटा लेखका अनुसार बलिउडमा आइटम नम्बर शब्दको प्रचलन १९९० को दशकमा सुरु भएको हो । उक्त लेखका अनुसार ‘छैया-छैया’ गीत हिट भएपछि नै मलाइका अरोडा खानलाई पहिलो पटक आइटम गर्ल भन्न थालिएको थियो ।
समीक्षक सुपर्णा शर्माका अनुसार बलिउडमा आइटम गर्लहरूलाई प्राय: एउटा गीतमा डान्सका लागि मात्र राखिन्छ । फिल्ममा उनीहरूको कुनै ठूलो वा फरक भूमिका हुँदैन।
चेन्नईका फिल्म समीक्षक रमेश बालाका अनुसार अचेलका अभिनेत्रीहरू आइटम नम्बर जस्ता शब्दको प्रयोग गर्नुको सट्टा स्पेसल सङ शब्दलाई बढी जोड दिन्छन् । त्यस्तै उनले पहिले दक्षिण भारतीय सिनेमामा अभिनेत्रीहरूले यस्ता गीतमा भाग नलिने पनि बताए ।
यद्यपि यस प्रकारका गीत हुने तर त्यतिबेला गीतकारहरूमा शब्दहरूको खेलमा धेरै अर्थ लुकाउने गर्थे । अहिले भने शब्द र दृश्य दुवै निके प्रत्यक्ष र अश्लील भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4